व्यापारी हत्यामा संलग्न पक्राउ
सहयोगी लिङ्कहरू
भक्तपुर, मंसिर २८ - फुटपाथ व्यापारीको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमीको लोकन्थली मनोहरा पुलनजिक रामेछाप सालु-६ का गोपाल पाण्डेको शुक्रबार हत्या भएको थियो । रत्नपार्कमा फुटपाथ व्यापार गर्ने पाण्डेलाई मादक पदार्थ सेवनपछि सामान्य विवादमा हत्या गरेको प्रहरीले जनाएको छ । उनकै गाउँलेले हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको आरोपमा प्रहरीले रामेछाप सालु-६ का १७ वर्षीय दिवस पाण्डे, २० वर्षीय सुशील खत्री, २२ वर्षीय दिनेश पाण्डेलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दा चलाइएको उनीहरूलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मृतक पाण्डे बेल्ट (पेटी) को व्यापार गर्थे । त्यस्तै दिनेश र दिवस कस्मेटिक सामान बिक्री गर्थे । भक्तपुरको दधिकोट-९ मा डेरा गरी बस्ने गोपालको शुक्रबार राति साढे एघार बजे हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न तीनैजना फुटपाथका व्यापारी हुन् । साथीहरूबीच आपसी विवादको क्रममा गोपालको हत्या गरेको पक्राउ परेकाले प्रहरीलाई बयान दिएका छन् ।
'ढुंगाले हानेर हत्या गरेको अभियुक्तले बयान दिएका छन्, 'महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डीएसपी विनोद खरेलले भने, 'हत्यापछि तीनैजना फरार थिए । राजधानीको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भयौं ।' उनीहरूको पहिचान भएपछि खोजी गर्न २० भन्दा बढी स्थानमा छापा मारेको उनले बताए । अनुसन्धानमा वृत्तका प्रहरी निरीक्षक भावेश रिमाल र यादव ढकालको नेतृत्वमा प्रहरी टोली खटिएका थिए । अनुसन्धानमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली पनि सहभागी थियो । प्रहरीले अनुसन्धान थाल्दा मृतकको नाम, थर र ठेगानासमेत खुलेको थिएन । प्रहरीले शून्यबाट अनुसन्धान थालेको थियो । हत्यामा संलग्नले दिएको बयानअनुसार चारैजना साँझ ७ बजे व्यापार सकाएर नरेफाँटमा खाना खान गएका थिए । 'खानासँगै उनीहरूले मदिरासमेत सेवन गरेछन्,' भक्तपुरका प्रहरी प्रमुख दिलीप चौधरीले भने, 'सामान्य भनाभनकै क्रममा उनीहरूको विवाद बढ्दै जाँदा कुटाकुट भयो । तीनजना मिलेर गोपालको हत्या गरेको देखिन्छ ।' फुटपाथ व्यापार सकेर चारैजना फरक ठाउँमा बस्ने गरे पनि त्यस दिन एकै ठाउँमा खाना खाएको प्रहरीले जनाएको छ । खानासँगै मादक पदार्थ सेवन पनि गरेको पक्राउ परेकाले बयान दिएको प्रहरीले जनाएको छ । मापसे सेवन गरेपछि विवाद भएपछि हत्या गरेको उनीहरूले स्वीकारेको प्रहरीले जनाएको छ । नरेफाँटमा भएको उनीहरूको विवाद मध्यपुर ठिमी १६ लोकन्थली मनहरा पुलसम्म पुगेर हत्या गरेको उनीहरूले बयान दिएका छन् ।
प्रकाशित मिति: २०६९ मंसिर २८ ०८:५२









तपाईंको प्रतिकृया