राजनीतिक दलले लगाएका ताल्चा कर्मचारीले खोलेर काम गरे
सहयोगी लिङ्कहरू
बर्दिवास, फाल्गुन १८ - महोत्तरी जिल्लाका स्थानीय विकास अधिकारीको कक्षमा राजनीतिक दलले लगाएको ताल्चा कर्मचारी सङ्गठनले फुटाएर कामकाज सुरु गरेका छन् ।
जिविस महोत्तरीमा स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईले पक्षपातपूर्ण योजना वितरण गरेको भन्दै उनले कै कार्यकक्षमा राजनीतिक दलले गत मङ्गलबार लगाएको ताल्चा तीनवटा कर्मचारी सङ्गठनले हिजो साँझ फुटाएर आजबाट कार्यालयको काम चालु गरेका छन् ।
राजनीतिक दलले ताल्चा लगाएर संवाद र सम्पर्कमै नआएपछि जनसरोकारका काममा बाधा परेकाले ताल्चा फुटाएर काम चालु गराइएको स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल, गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल र गाविस कर्मचारी सङ्घ नेपालको जिल्ला कार्य समितिले स्वीकार गरेका छन् ।
जिल्लाको विकास निर्माणका कामको मुख्य नेतृत्वकर्ता निकाय लामो समयसम्म बन्द रहँदा महत्वपूर्ण कामहरु प्रभावित हुने भएपछि ताल्चा खोलेर काम गरिएको तीनवटै सङ्गठनमध्येको स्थानीय निकाय कर्मचारी सङ्घ नेपालका जिल्ला अध्यक्ष श्यामकिशोर मण्डलले बताउनुभयो ।
दलहरुले लगाएको ताल्चा कर्मचारीले फुटाएपछि दल र कर्मचारीबीच दूरी बढ्ने देखिएको जिविस कार्यालयका तल्लोतहका कर्मचारीको धारणा छ । तीन दिनपछि आज कार्यालय खुलेकाले बिहान १० बजेदेखि नै सेवाग्राहीको चाप बढेको योजना शाखाका नीलाम्बर मिश्रले बताए ।
यसअघि गत मङ्गलबार एकीकृत नेकपा (माओवादी)बाहेकका दलले स्थानीय विकास अधिकारीले राजनीतिक दललाई काखापाखा गरेर योजना वितरण गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीय विकास अधिकारी भट्टराईले भने कार्यालयबाट कुनै राजनीतिक दललाई काखी च्यापेर योजना वितरण गरिएको भन्ने कुरा निराधार रहेको बताए । रासस
प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०२:२८









तपाईंको प्रतिकृया