कांग्रेसका संस्थापक नेता पुस्तकमा
काठमाडौ, फाल्गुन १८ - साहित्यकार कृष्ण धरावासीले कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको जीवनी पुस्तकमा उतारेका छन् । 'सुवर्ण शमशेर : निष्ठाको राजनीतिक यात्रा' कांग्रेस सभापति सुशील कोइरालाले बिहीबार सुवर्णको १०३ औं जन्मजयन्ती अवसरमा सार्वजनिक गरे ।
उक्त पुस्तकमा सुवर्णको जीवनी र राजनीतिक व्यक्तित्व समेटिएको छ । कांग्रेसका तीन खम्बामध्येका एक मानिने उनलाई निधनपछि भने खासै सम्झने गरिएको छैन । सभापति कोइरालाले सुवर्णको राजनीतिको चर्चा गर्दै अहिले कांग्रेसलाई कमजोर पार्ने षड्यन्त्र भएको बताए । कांग्रेसले निर्वाचनलाई महत्त्व दिएकै कारण प्रधानन्यायाधीशको नेतृत्व मानिएको उल्लेख गर्दै उनले शक्ति पृथकीकरणको मान्यतालाई कसरी बचाउने भन्ने विषयमा स्वयं प्रधान न्यायाधीशले विचार गर्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य र गगन थापाले धरावासीले उक्त पुस्तक लेखेर कांग्रेस र सुवर्णशमशेरबारे बुभmन चाहनेलाई ठूलो गुन लगाएको टिप्पणी गरे ।
धरावासीले नेपालको प्रजातान्त्रिक इतिहासको मन्दिरमा जगको इँटाका रूपमा रहेका सुवर्णशमशेरबारे आफूले उत्खनन गरेको बताए । 'यसले नेपाली राजनीतिमा रुचि राख्ने युवालाई प्रेरणा दिन सक्छ,' उनले भने । उक्त पुस्तक सुवर्णशमशेर अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको हो ।
प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०९:१३










तपाईंको प्रतिकृया