दाहालले पीडितमाझ भने-'बाँदरमुढे घटना युद्ध नियमविपरीत’
सहयोगी लिङ्कहरू
काठमाडौमाडी (चितवन), फाल्गुन १८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वकालमा पार्टीले गराएको बाँदरमुढे घटना युद्ध नियम विपरीत भएको बताएका छन् । निहत्था र निर्दोष जनता युद्धको मारमा पर्नु सही नभएको स्विकार्दै उनले दोषीलाई कारबाही गरिनुपर्ने बताए ।
'घटना लगत्तै वक्तव्य लेखेर दोषीलाई कारबाही गरिने उल्लेख गरेको थिएँ,' बिहीबार माडी महोत्सव उद्घाटन क्रममा उनले भने, 'घटना सुन्नेबित्तिकै गिरिजाप्रसाद कोइरालालाई फोन गरेर नीति विपरीत भएको बताएको थिएँ ।' त्यतिबेला आफू रोल्पाको पहाड झर्दै गरेको उनले बताए । 'सुन्नासाथ योजना विपरीत भयो भन्ने लाग्यो,' उनले भने, 'डाँडो ओर्लिनेबित्तिकै वक्तव्य लेखें ।'
युद्ध मान्यता विपरीतको घटनाले आफू र केन्द्रीय सदस्य पीडामा परेको दाहालले सुनाए । शान्ति प्रक्रिया सुरु भएपछि राप्तीपारि बोलाएर पीडितसित भेटघाट गरेको र राहत दिने आश्वासन दिएको उनले उल्लेख गरे । 'बाँदरमुढेमा पुगेर राहत दिने भनेको थिएँ, त्यो प्रयत्न भइरह्यो,' उनले भने ।
यसपालि माडी आउने तय भएपछि पीडितसित क्षमायाचना अवसर ठान्दै सरकारसित छलफल गरेर ६० लाखको प्याकेज निकासा गराएको घोषणा दाहालले गरे । 'बोलेको कुरा पूरा हुन्न भने माडी जान्न भनें,' उनले व्यक्त गरे, 'बिहीबार बिहान प्रधानमन्त्री, अर्थमन्त्री र शान्तिमन्त्रीसित सल्लाह गरेर प्याकेज घोषणा गर्न आएको हुँ ।' उक्त रकम पीडितले आवश्यकताअनुसार खर्च गर्न सक्ने उनले बताए । यसलाई दुर्घटना मानेर नयाँ नेपालका लागि जुट्न उनले स्थानीय बासिन्दासित आग्रह गरे । यसअघि पटक-पटक माडी आउने कार्यक्रम तय गरे पनि उनले पीडितले विरोध गर्ने कारण देखाउँदै स्थगित गर्दै आएका थिए ।
दाहाल हेलिकप्टरबाट बिहीबारै महोत्सवस्थल आएका हुन् । उनी आएका बेला पीडितले सय मिटर दूरीमा कालो ब्यानर र झन्डासहित प्रदर्शन गरिरहेका थिए । त्यसको अगुवाइ गरिरहेका घाइते तथा घटना पीडित समिति उपाध्यक्ष कृष्ण अधिकारीलाई प्रजिअको निर्देशनमा नियन्त्रणमा लिएर ४ घन्टापछि रिहा गरिएको थियो । एक दर्जन पीडितले अध्यक्ष दाहाल र माओवादी विरोधी नारा लगाएका थिए । उनीहरूलाई प्रहरीले छेकेका थिए । अधिकारीले ६० लाख राहतबारे आफूलाई एमाओवादीका २ कार्यकर्ताले बुधबार जानकारी गराएको बताए । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगले उक्त रकम शान्ति मन्त्रालय हुँदै जिल्ला प्रशासनमार्फत पीडितसम्म आउने जानकारी दिएको उनले उल्लेख गरे । तर दाहालले कार्यक्रममा रकम पीडितले बाँड्न सक्ने बताएका थिए । 'पीडित फुटाउने रणनीति हो,' उनले भने, 'झन् अप्ठ्यारो हुन्छ ।' रकम मृतकका परिवार र घाइतेलाई अवस्था हेरी प्रदान गरिने जानकारी पीडितले पाएका छन् ।
दोषीलाई कारबाहीको विषय उठान नगरेकोमा पीडित रुष्ट छन् । 'न्यायलाई पैसामा दाँज्ने काम भयो,' अधिकारीले भने, 'घटनाका अभियुक्तलाई कारबाहीको कुरा छल्ने नियत देखियो ।' पीडितले सरकार समक्ष विभिन्न ९ बुँदे माग राखेर संघर्ष गर्दै आएका छन् । उनीहरूको मागमा मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेलाई उपचार व्यवस्था, औषधि खर्च, पीडित परिवारलाई रोजगारी, घाइतेलाई सीपमूलक तालिम, बालबालिकालाई निःशुल्क अध्ययन र स्मारक निर्माणमा सहयोगलगायत छन् ।
दलद्वारा उद्घाटन बहिष्कार पहिलो पटक माडी चिनाउन आयोजित महोत्सव उद्घाटन सत्र एमाओवादी बाहेकका दलले बहिष्कार गरे । बुधबारसम्म उद्घाटनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र नेकपा -माओवादी) की अमृता थापामगर सहभागी हुने तय थियो । आयोजिकबीच सहभागी सबै नेताबाट महोत्सवको सामूहिक उद्घाटन गराउने सहमति थियो । 'प्रमुख अतिथि दाहाललाई बनाउने भएपछि कुरा मिलेन,' कांग्रेस जिल्ला सचिव जीतनारायण श्रेष्ठले भने, 'त्यसैले उद्घाटन सत्र बहिष्कार गरेका हौं ।' कार्यक्रममा एमाओवादीबाहेक दलका जिल्ला कार्यकर्ता समेत सहभागी भएनन् । कार्यक्रममा सहभागी एमाओवादी नेता अमिक शेरचनले ठूलै 'सामन्ती'को जालमा परेर अन्य दलले उद्घाटन बहिष्कार गरेको आरोप लगाए ।
करिब ८ वर्षअघि सशस्त्र युद्धरत माओवादीले माडीबाट सदरमुकाम भरतपुर आउँदै गरेको यात्रु बसमा बम विस्फोट गराउँदा ३८ सर्वसाधारणको ज्यान गएको थियो । ७० भन्दा बढी घाइते भएका थिए । केही घाइते अझै उपचाररत छन् । केहीको अवस्था दयनीय छ ।
प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०८:३४










तपाईंको प्रतिकृया