दुई माओवादी युनियनबीच विवाद
तोडफोडपछि १० दिनदेखि श्रम कार्यालय बन्द
सहयोगी लिङ्कहरू
काठमाडौ, माघ ५ - नेकपा-माओवादी निकटको युनियन दर्ता गर्ने विषयमा भएको विवाद भएपछि कार्यकर्ता तोडफोडमा उत्रँदा राजधानीको टेकुमा रहेको वाग्मती श्रम कार्यालय १० दिनदेखि बन्द भएको छ । नेकपा-माओवादी निकट कर्मचारी युनियन कर्मचारी तथा पार्टी कार्यकर्ताले कार्यालय तोडफोड गरेकाले कर्मचारी श्रम विभागमा हाजिर हुन थालेका छन् । असुरक्षित भएको भन्दै पुस २४ देखि कार्यालयका १६ कर्मचारी विभागमा हाजिर हुन थालेका हुन् । विवाद नटुंगिएकाले कार्यालय सञ्चालनमा आउने अझै निश्चित भएको छैन । सुरक्षाको वातावरण नभएसम्म सबै कर्मचारी विभागमा हाजिर भएर बस्ने कार्यालय प्रमुख मणिनाथ गोपले बताए । 'सुरक्षाको ग्यारेन्टी नगरेसम्म हामी विभागमै हाजिर हुन्छौं,' गोपले भने । उनका अनुसार गत पुस ९ गते नेकपा-माओवादी निकट कर्मचारीले कृषि विकास बैंक कर्मचारी युनियत दर्ता गराउन श्रम कार्यालयमा आवेदन दिएका थिए । केन्द्रीय कार्यालयका रूपमा रहने युनियन दर्ता गराउन उनीहरूले २५ प्रतिशत कर्मचारी पुगेको दाबी गरेका थिए । नामावली माथि कसैको दाबी विरोध हुन सक्ने भएकाले १५ दिने सूचना निकाल्ने व्यवस्थाअनुसार श्रम कार्यालयले सम्बन्धित बैंकको केन्द्रीय कार्यालयमा पत्र टाँस गरेको थियो । 'अन्तिम दिन पुस २३ गते एनेकपा माओवादी निकट युनियनका कर्मचारी फर्जी कागज बनाएर युनियन दर्ता गर्न लागेको भन्दै त्यसको विरुद्धमा दाबी विरोधपत्र दर्ता गराउन आए,' गोपले भने 'अर्को पक्षले छेकेर दर्ता गर्न नदिएपछि प्रमुख जिल्ला अधिकारीमार्फत दाबी विरोधको पत्र आयो । लगत्तै कार्यालत तोडफोड भयो । भागेर ज्यान बचायौं ।' प्रहरीले दाबी विरोधको पत्र दर्ता गराएलगत्तै करिब दुई सयको संख्यामा रहेका कर्मचारी तथा पार्टी कार्यकर्ताले कार्यालय तोडफोड गरेका हुन् । मोहन वैद्य अध्यक्ष रहेको नेकपा-माओवादी पार्टी निकटका कार्मचारीले अर्को पक्षले सुरक्षाकर्मीमार्फत दर्ता गराउन लागेको दाबी विरोधको कागजातसमेत खोसेर फ्याँकेको कार्यालय प्रमुख गोपले बताए । 'आधिकारिक रूपमा दाबी विरोधको कागज कार्यालयसँग नभएपछि वैद्य निकटका कर्मचारीले युनियन दर्ताको प्रमाणपत्र मागेका छन्,' कार्यालय प्रमुख गोपले भने, 'अर्को पक्षले हाम्रो दाबी विरोध परिसकेकाले प्रमाणपत्र दिए मान्य नहुने भनेका छन् । यसले गर्दा असुरक्षा महसुस गरेर विभागमा हाजिर भएका हौं ।' उनका अनुसार तोडफोडबाट कार्यालयको झ्याल, चार थान कम्प्युटर, टेबल, कुर्सीलगायत सामग्रीमा क्षति पुगेको छ । 'तोडफोडपछि कार्यालय नगएकाले कति परिमाणमा क्षति भयो भन्ने यकिन भएको छैन,' उनले भने, 'अहिले कार्यालय सहयोगीले रेखदेख गरिरहेका छन् ।' वैद्य निकट कर्मचारी युनियन र पार्टी कार्यकर्ताको आक्रमणबाट कर्मचारीहरू मिनिशा जोशी र शान्ति सुवेदी घाइते भएका हुन् । 'इँटाको आक्रमणले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ,' गोपले भने । कार्यालय बन्द भएपछि दैनिक सेवाग्राही मर्कामा परेका छन् । कार्यालयले श्रमिक तथा कर्मचारीहरूको जागिर, तलब, सेवा सुविधालगायत मुद्दा र युनियन दर्ताको काम गर्ने गरेको छ । एनेकपा माओवादी निकटको मजदुर संगठनले वैद्य पक्ष्ाका कर्मचारीले युनियन दर्ता गर्ने क्रममा आफ्ना सहकर्मीको नक्कली कागजात बनाएर पेस गरेको पाइएकाले दाबी विरोध दर्ता गराएको जनाएको छ । 'उनीहरूले पेस गरेका १२ सय कर्मचारीमध्ये हामी निकटका ८ सयजनाको फर्जी कागजात बनाएर पेस गरेका रहेछन्,' नेपाल राष्ट्रिय कर्मचारी महासंघका पूर्वमहासचिव ठाकुर देवकोटाले भने, 'नक्कली हस्ताक्षर गर्नेले आपत्ति जनाएपछि दाबी विरोध दर्ता गर्न लागेका हौं । उनीहरूले पेस गर्न दिएनन् ।' वैद्य निकट पार्टीको युनियनले भने कार्यालय तोडफोडमा आफूहरूको संलग्नता नभएको जनाएको छ । 'दाबी विरोधको पत्र परेकै छैन, हामीले कसरी च्यात्ने ?' नेकपा-माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछानेले भने, 'तोडफोडमा हाम्रो संलग्नता छैन । अरू कसैले गर्यो होला ।' दुवै पक्षले आआफ्नै दाबी गरेकाले मिलाउने प्रयास गर्ने श्रम विभागका महानिर्देशक केवल भण्डारीले बताए । 'विभागका कर्मचारीलाई तोडफोडपछि क्षति पुगेको ठाउँमा मर्मतसम्भार गरेर कार्यालयमै हाजिर हुनुस् भनेको छु,' उनले भने ।
प्रकाशित मिति: २०६९ माघ ५ ०९:३५









तपाईंको प्रतिकृया