नेपालको आन्दोलनले भारतलाई फाइदा : वैद्य
भाषणले बाबुराम सरकार हट्दैन
बुटवल, माघ २८ - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले अहिलेसम्म नेपाली राजनीतिक दलहरुले गरेको आन्दोलनको फाइदा देशवासीले भन्दा भारतले लिएको बताएका छन् ।
२ दिने मध्यपश्चिमाञ्चल क्षेत्रका नेता तथा कार्यकर्ता प्रशिक्षण पछि आइतबार बुटलमा आयोजित पत्रकार सम्मेलनमा उनले जस्तासकै आन्दोलनको सहमतिको निर्णय पनि भारतले गराउने भएकाले त्यसको फाइदा पनि भारतले नै लिएको दावी गरे । विक्रम संवत २००७ सालको आन्दोलनदेखि लिएर माओवादी आन्दोलनको १२ बुँदे सहमतिसमेत भारतमै भारतीय शाशकको रोहवरमा हुनुले क्रान्तिको फाइदा उनीहरुले लिएको बैद्यको तर्क छ ।
माओवादी अध्यक्ष वैद्यले वर्तमान राजनीतिक तरलताको अन्त्य गर्नु एकमा विकल्प राजनीतिक गोलमेच सम्मेलन भएको बताए । गोलमेच सम्मेलनबाट सरकार हटाउने र त्यपछिका संविधान र संघीयताका मुद्दामा सहमति गरेर चुनावमा जानुपर्ने उनको धारणा थियो । अध्यक्ष वैद्यले राजनीतिक सहमतिलाई अहिलेको सरकार हटाउने विकल्प राम्रो भएपनि एमाले र कांग्रेसले अहिले गरेको आन्दोलनले बाबुरामलाई सरकारबाट हटाउन नसकिने बताए ।
सरकार हटाउने तर, त्यसपछि के गर्ने विकल्प नबनाउने, राष्ट्रपतिले केही गरे हुन्थ्यो भन्दै कृपावादी र एजेण्डावीहिन आन्दोलन गरेकाले जनतालाई जुटाएर भाषण गर्दैमा बाबुरामलाई सरकारबाट हटाउन नसकिने भएकाले एजेण्डासहित कडा आन्दोलनमा जान उनले आग्रह गरे । एमाओवादी अध्यक्ष प्रचण्डले ल्याएको प्रधानन्यायाधिशलाई अध्यक्ष बनाएर संवैधानीक सरकार बनाउने प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बैद्यको दावी थियो ।
प्रकाशित मिति: २०६९ माघ २८ ०१:१८










तपाईंको प्रतिकृया