तीन महिनाका लागि सल्ले विमानस्थल बन्द
सहयोगी लिङ्कहरू
रुकुम, माघ २७ - जिल्लाको सल्ले विमानस्थलमा आगामी तीन महिनाका लागि हवाई उडान बन्द गरिएको छ ।
पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा सदरमुकाम खलङ्गामा रहेको सल्ले विमानस्थलको धावनमार्ग पक्की बनाउन सुरु गरिएपछि यहाँ हुने सम्पूर्ण उडान बन्द गरिएको रुकुम सल्ले नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहलबाट प्राप्त पत्रानुसार आगामी तीन महिनासम्मका लागि सदरमुकाममा कुनै पनि हवाई उडान नहुने विमानस्थल अधिकृत दीपककुमार केसीले जानकारी दिनुभयो । पर्यटन मन्त्रालयको करिब सात करोड रुपैयाँको लगानीमा सल्ले विमानस्थललाई पक्की बनाउन सुरु गरिएको हो ।
उड्डयन कार्यालयले तीन महिनाको लागि मात्रै हवाई उडान बन्द हुने भने पनि कामको तयारी हेर्दा अलि लामो समय उडान बन्द हुन सक्ने अनुमान स्थानीयवासीको छ । विमानस्थल निर्माणको जिम्मा लिएको कम्पनीले अन्य कुनै तयारी नै नगरी काम थालेपछि तीन महिनाको अवधिमा विमानस्थल पक्की गर्ने काम सम्पत्र गर्न गाह्रो हुने उनीहरूको भनाइ छ ।
सल्ले विमानस्थलमा काठमाडौँ र नेपालगन्जबाट सातामा पाँच उडान हुँदै आएको थियो । रासस
प्रकाशित मिति: २०६९ माघ २७ ११:१७









तपाईंको प्रतिकृया