महानगरका प्रहरी नै अवैधानिक !
काठमाडौ, माघ २८ - काठमाडौं महानगर पालिकाले अवैधानिक तरिकाले नगरप्रहरी गठन गरेको तथ्य फेला परेको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनअनुसार स्थानीय स्वायत्त शासन नियमविपरीत नगरप्रहरी गठन गरिएको हो । यसरी अवैधानिक तरिकाले गठन गरिएको नगरप्रहरीले राज्य सुरक्षा निकायले प्रयोग गर्दै आएको कम्ब्याट ड्रेस र दज्र्यानी चिह्न पनि दुरुपयोग गर्दै आएको छ ।
२०५२ सालमा 'नगर रक्षक'का रूपमा गठन गरिएको संगठन स्थानीय विकास मन्त्रालयले नगरप्रहरीका रूपमा विकास गरेको थियो । प्रहरी अथवा सुरक्षा निकायको गठन मन्त्रिपरिषद्बाट निर्णय गरेरमात्र गर्नुपर्ने प्रावधान
छ । सुरक्षा निकायका रूपमा विकास गर्दा संसद्बाट ऐन र मन्त्रिपरिषद्बाट नियमावली बनाएर गठन गर्ने प्रावधान भए पनि कुनै पनि प्रक्रिया नअपनाइकन महानगर ले नगरप्रहरी राखेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले दज्र्यानी र कम्ब्याट ड्रेस प्रयोग गरेको सम्बन्धमा रक्षा मन्त्रालय, गृह मन्त्रालयको समेत परामर्श मागेको थियो । ती मन्त्रालयले सुरक्षा निकायले प्रयोग गर्दै आएको दज्र्यानी चिह्न र कम्ब्याट प्रयोग अवैधानिक भएको जवाफ सतर्कतालाई दिए ।
सतर्कताका प्रवक्ता अर्जुनप्रसाद खनालले महानगर ले विनियमसमेत नबनाई नगरप्रहरी गठन गरेको बताए । 'स्थानीय स्वायत्त शासन नियमावलीमा नगरप्रहरी भन्ने शब्दमात्र बोलेको छ, त्यसको काम, कर्तव्य र अधिकारबारे खासै कहींकतै बोलेको छैन,' उनले भने ।
महानगर बोर्डले मात्र नगरप्रहरी गठन गरिएको तथ्य फेला परेको उनले बताए । रक्षा र गृह मन्त्रालयले उस्तै किसिमका दज्र्यानी चिह्न र कम्ब्याट डे्रस प्रयोग गर्दा आमजनतामा भ्रम सिर्जना हुने भएकाले त्यसका लागि सरकोकारवाला निकायसँग आवश्यक परामर्श गर्न सतर्कता केन्द्रलाई भनेका छन् । यसबारे प्रतिक्रिया लिन खोज्दा महानगर का कार्यकारी अधिकृत केदारबहादुर अधिकारीसँग सम्पर्क हुन सकेन ।
केही दिनअघि सुरक्षा निकाय, सतर्कता केन्द्र र महानगर का प्रतिनिधिबीच नगरप्रहरी गठनको कानुनी प्रक्रियाबारे पनि छलफल भएको थियो । छलफलमा महानगर ले संरचना संरक्षण, गैरकानुनी तरिकाले बनेका संरचना भत्काउने र महानगर को निर्णय कार्यान्वय गराउन नगरप्रहरी गठन गरिएको दाबी गरेको थियो ।
महानगर प्रहरीको संख्या १ सय ९० भन्दा बढी भए पनि फुटपाथका पसलसमेत हटाउने काम गरेको पाइँदैन । राष्ट्रिय सुरक्षा निकाय जस्तै प्रहरी, हवल्दार, असई, सई, निरीक्षक र डीएसपी पद सिर्जना गरिएको छ । नगरप्रहरीले न महानगर को संरचना संरक्षण गरेको छ, न गैरकानुनी तरिकाले बनेका संरचना भत्काउने ।
स्थानीय विकास मन्त्रालयका एक अधिकारीले नै नगरप्रहरी राजनीतिक दलको राजनीतिक उद्देश्य परिपूर्तिका लागि गठन भएको भन्दै यसले जनताको सेवा नगर्नेे दाबी गरे ।
'नेताको कार्यकर्ता भर्ती केन्द्र बनेको संगठनले जनताको सेवा गर्दैन, उल्टो शोषण गर्दै हिंडेको छ,' ती अधिकारीले भने । सतर्कता केन्द्रका सूचना अधिकृत शेरबहादुर ढुंगानाले कम्ब्याट डे्रस र दज्र्यानी चिह्नबारे सरोकारवाला निकायसँग परामर्श र छलफल भइसकेको बताए । 'केही दिनपछि त्यो निर्णय सार्वजनिक गर्छौं,' उनले भने । केही दिनअघि सरकारले राज्यका सुरक्षा निकायले प्रयोग गर्ने कम्ब्याट ड्रेस र दज्र्यानी चिह्न प्रयोग गर्न बन्देज लगाएको थियो ।
गृह मन्त्रालयले कम्ब्याट ड्रेस र दज्र्यानी चिह्न सर्वसाधारण र निजी सुरक्षाकर्मीले प्रयोग गर्दा विगतमा ठगी र लुटपाटका घटना भएको हुँदा भविष्यमा नघटोस् भन्ने उद्देश्यले बन्देज लगाएको थियो । साथै स्वदेश तथा विदेशका सुरक्षा निकायका बहालवाला वा सेनानिवृत्त भई निस्केकासमेतलाई सरकारी कर्तव्य पालनको सिलसिलामा बाहेक कम्ब्याट ड्रेस र दज्र्यानी चिह्न प्रयोग गर्न निषेधसमेत गरिएको छ ।
प्रकाशित मिति: २०६९ माघ २८ ०९:४४










तपाईंको प्रतिकृया