शिक्षक र स्वरको समस्या

  • करिब ७० प्रतिशत गुरुहरूलाई हुन्छ गलामा कैफियत

(2 Votes)
teacher

काठमाडौ, माघ २७ - नेपालमा शिक्षकहरू चैनमा छैनन् । एउटा अध्ययनले यस्तै देखाएको छ । हाम्रा करिब ७० प्रतिशत शिक्षकहरूमा बेलाबखत स्वरसम्बन्धी समस्या पाउने गरिएको छ । शिक्षकहरूले स्वरयन्त्रलाई त्यसको क्षमताभन्दा बढी र अवैज्ञानिक तरिकाले प्रयोग गर्ने गरेकाले यस्तो कैफियत देखिएको हो । स्वरको समस्या ठूलो कक्षामा पढाउने शिक्षकमा भन्दा सानो कक्षामा पढाउनेहरूमा बढी पाउने गरिएको छ । त्यसको कारण के हो भने, साना कक्षामा उनीहरूले बढी बोलिरहनुपर्ने हुन्छ । अर्कातिर कतिपय शिक्षकहरूमा त्यत्तिकै पनि सारो बोल्ने बानी हुन्छ । शिक्षकहरूमा स्वर बस्ने, घाँटी खसखसाउने र दुख्ने समस्या बढी देखिएको छ । अध्ययन अनुसार, साताको अन्ततिर अर्थात् शुक्रबार उनीहरूको स्वर भासिने गरेको छ । शनिबारको आरामपछि स्वर आफै ठीक हुने गरेको पनि छ । यस्तै, परीक्षा हुनुअघि कोर्स सक्ने बेला पनि उनीहरू स्वास्थ्य कठिनाइमा पर्ने गरेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाक, कान, घाँटी विभागद्वारा जारी अध्ययन प्रतिवेदनले उपर्युक्त तथ्य उजागर गरेको हो । प्रतिष्ठानले दुई वर्षसम्म यसबारे अध्ययन गरेको थियो । 'यो अध्ययनमा सुनसरी र मोरङ जिल्लाका शिक्षकलाई मात्र समावेश गरिए पनि हाम्रो आकलन अनुसार मुलुकभरिका शिक्षकहरूमा यस्तै परिणाम देखिनेछ,' विभाग प्रमुख डा. श्याम थापा भन्छन्, 'स्वरसम्बन्धी समस्या शिक्षकमा देखिनुको प्रमुख कारण लगातार जोडले बोल्नुपर्ने बाध्यता हो ।' अध्ययनकर्ता डा. विवेक अर्यालका अनुसार, दुई/तीन महिनामै यसको विस्तृत विश्लेषणसहितको निष्कर्ष सार्वजनिक हुनेछ । 'हाम्रो अध्ययनमा ६० देखि ७० प्रतिशत श्ािक्षकलाई स्वरसम्बन्धी कुनै न कुनै समस्या हुने गरेको छ,' उनी भन्छन्, 'हामीले विश्रामबिना निरन्तर सात घन्टासम्म पढाउनुपर्ने बाध्यतामा रहेका शिक्षकहरू पनि पायौं । प्राथमिक स्कुलका शिक्षकहरूमा स्वरसम्बन्धी समस्या बढी पायौं ।'  उनका अनुसार, मद्यपान गर्ने, गानोको समस्या भएका, पान, सुपारी, चुरोट, खैनी आदि खाने शिक्षकहरूलाई स्वरसम्बन्धी समस्या ती चिज नखानेको दाँजोमा बढी देखिएको छ । स्वरलाई तन्दुरुस्त राख्न शिक्षकहरूले लगातार बोल्नबाट जोगिनुपर्छ । कक्षा निरन्तर लिए पनि बीचबीचमा घाँटीलाई आराम दिने बानी बसाउनुपर्छ । 'शिक्षकहरूले पानी प्रशस्त खाने गर्नुपर्छ, घाँटी ख्यारख्यार गरेर सफा गर्ने बानी हटाउनुपर्छ, मुख सुक्खा हुने वस्तु उपयोग गर्नु हुँदैन,' डा. थापा सुझाउँछन्, 'ल्वाङ, सुकमेल, सुपारीजस्ता मुख सुक्खा बनाउने वस्तुको उपयोग पनि गर्नुहुन्न ।' शिक्षक मात्र नभई, बढी बोल्नुपर्ने व्यक्तिहरूको स्वरयन्त्रमा गिर्खाको समस्या बढी मात्रामा देखिने गरेको डा. अर्याल बताउँछन् । गलो तन्दुरुस्त राख्न डा. थापाका अनुसार, स्वर बस्ने समस्या दुई सातासम्म रहिरह्यो भने चिकित्सककहाँ गइहाल्नुपर्छ । गलोलाई रसिलो बनाइराख्न पानी खाइरहनुपर्छ । एलर्जी र एसीडीटीको नहोस् भनेर सचेत हुनुपर्छ । मुखको बढी प्रयोग वा दुरुपयोगबाट बच्नुसमेत आवश्यक हुन्छ । केही खानुअघि, मुख नाक आँखा छुनुअघि हात साबुनपानीले धुनुपर्छ । धूमपान गर्नु हुन्न । धूमपानले घाँटीलाई नराम्रो असर गर्छ । यो अम्मलका कारण स्वर भासिने मात्रै होइन यसले घाँटीको क्यान्सरसमेत निम्त्याउँछ । महिलाले भने महिनावारीप्रति जागरुक रहँदै यसले कसरी स्वरलाई प्रभावित गर्छ भन्नेबारे ध्यान दिनुपर्छ । धेरैजसो महिलामा महिनावारी चक्रको २१ औं दिन स्वरयन्त्र सुन्निने वा स्वरमा सामान्य परिवर्तन आउने हुन्छ । यस्तो हुनेहरूले महिनावारीको यो समयताका स्वरको बढी उपयोग गर्न नहुने डा. थापा बताउँछन् । यस्तै, कसरत गरेर शरीरलाई तताएजस्तै स्वरलाई समेत तताउनु (वार्म अप) गर्नुपर्छ ।  चिच्याएपछि केही समयका लागि भए पनि घाँटीलाई आराम दिने गर्नुपर्छ । पढाउँदाताका पाँच मिनेट नबोल्दा पनि घाँटीले राम्रो आराम पाउँछ ।

 

प्रकाशित मिति: २०६९ माघ २७ ०९:३४


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication