रकमजति सञ्चालकले झिके
बैंक खातामा १६ सय मात्र
सहयोगी लिङ्कहरू
काठमाडौ, पुस ३० - सस्तोमा आकर्षक र सुविधा सम्पन्न फ्ल्याट । त्यो पनि दुई वर्ष अगाडि हाउजिङ व्यवसाय आकर्षणको उत्कर्षमा रहेका बेला । यस्तोमा पैसा हुने कसले लगानी नगर्ला ?
यतिबेला त्यसरी लगानी गर्ने एक हूल सर्वसाधारण हनुमानढोकाको चक्कर काटिरहेका छन् । उनीहरू भिओपी समुहले सञ्चालन गरेको हाउजिङबाट आकर्षक पmल्याट सस्तोमा पाउने प्रलोभनमा परेर दुई वर्ष अघि करोडौं रकम बुझाउने सर्वसाधारण हुन् । प्रहरीसमक्ष उनीहरूको माग छ- ठगी गर्नेमाथि कारबाही होस् र लगानी फिर्ता होस् ।
तर मुख्य अभियुक्त सन्तोष तामाङ (सन्तोष साइमन तामाङ) र सुमन श्रेष्ठ फरार रहेको, रोबियस इन्टरनेसनलका सञ्चालक समेत रहेका भिओपी समूहले चलाएको रोबियस जी स्टार बिल्डर्स एन्ड डेभलपर्स प्रालि नामक कम्पनीको सम्पत्ति बैंकमा धितो रहेको र उक्त कम्पनीको खातामा १ हजार ६ सय रुपैयाँ मात्र रहेको देखिन्छ । यसले लगानी फिर्ता हुने आशामा हनुमानढोकाको चक्कर काटिरहेकालाई हतास बनाएको छ ।
कान्तिपुरलाई प्राप्त एभरेस्ट बैंकको 'स्टेटमेन्ट अफ अकाउन्ट' अनुसार हालसम्म कम्पनीले ४ करोड ५८ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । तर सञ्चालक र विभिन्न व्यक्तिले करिब २ साताअघि पटकपटक गरी सम्पूर्ण रकम निकालिसकेको देखिन्छ ।
स्टेटमेन्ट अफ अकाउन्टमा उल्लेख भएअनुसार रोबियस जी स्टारका अध्यक्ष सन्तोषले दुई पटक ७३ लाख ५४ हजार ४ सय रुपैयाँ, सुमन, उनकी श्रीमती मिलना जोशी र ड्राइभर रामकाजी प्रजापतिले पटक/पटक ८५ लाख ८ हजार ५ सय ५० रुपैयाँ निकालेको देखिन्छ । त्यसैगरी हाल प्रहरी हिरासतमा रहेका अर्का सञ्चालक कुमार तामाङले एकमुष्ट ४७ लाख ३२ हजार ८ सय झिकेका छन् ।
स्टेटमेन्ट अनुसार नेपाल डंगोल नामका व्यक्तिले ६४ लाख ५० हजार रुपैयाँ र निर्मल केडिया नामका व्यक्तिले ३२ लाख रुपैयाँ निकालेको देखिन्छ । बाँकी रकम रोबियस जी स्टार र अन्य व्यक्तिले निकालेका छन् ।
भिओपी समूहले रोबियस जी स्टार बिल्डर्स एन्ड डेभलपर्स नामक कम्पनी खडा गरी ललितपुरको छम्पीमा रहेको ११ रोपनी १ आना ३ पैसा जग्गामा ३ सय २४ वटा फ्ल्याट बनाएर बिक्री गर्न विज्ञापन गरेको थियो । ती फ्ल्याट बनाउन २०६७ साउनमा भौतिक योजना मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका नगर विकास योजना ललितपुरबाट स्वीकृति लिएर उनीहरूले सर्वसाधारणबाट ३० करोड रुपैयाँभन्दा बढी असुलेको अनुमान छ ।
काठमाडौं उपत्यकामा रहेका ६० पीडितले आफूहरूबाट ६ करोड रुपैयाँ असुलिएको भन्दै फिर्ता गराइदिन प्रहरी समक्ष उजुरी गरेका छन् । ९ दिनअघि ८ जनाले मात्र उजुरी गरेको भए पनि उजुरीकर्ताको संख्या बढ्दै गइरहेको छ । तर प्रहरीले हालसम्म मुख्य अभियुक्त कहाँ छन् भन्ने सुराकीसम्म पाउन सकेको छैन । सुमनका बाबुसँग बुधबार बयान लिएपछि काठमाडौं प्रहरीले भिओपी समूहको सिद्धार्थ, सनराइज र किस्ट बैंकमा रहको खाताबाट रकम निकाली दामासाहीले बाँडिदिने आश्वासन दिएको छ । एक पीडितका अनुसार प्रहरीले मुद्दा नचर्काउन समेत आग्रह गरेको छ ।
हाल आनाको करिब ३ लाख रुपैयाँ पर्ने छम्पीको ११ रोपनी १ आना ३ पैसामध्ये ८ रोपनी जग्गा, भक्तपुरको विभिन्न स्थानमा रहेका ४ रोपनी ८ आना जग्गा कमलादीस्थित एच एन्ड बी डेभलपमेन्ट
बैंकमा ४ करोड रुपैयाँमा धितो राखिएको छ । बैंक स्रोत अनुसार रोबियस जी स्टारका सञ्चालक करिब ७ महिनायता किस्ता तिर्न गएका छैनन् ।
सन्तोषले महाराजगन्जको चक्रपथमा करिब १६ करोड रुपैयाँको सम्पत्ति रहेको र त्यो पनि करिब ५५ लाख रुपैयाँमा बैंकमा धितो राखिएको बताएका छन् । उनले सुमन र उनकी आमाको नाममा रहेको करोडौंको सम्पत्ति र आफ्नो नाममा रहेको जग्गा समेत बेचेर रकम फिर्ता गर्न सक्ने दाबी गरेका छन् । उनीहरूले ४ वर्षमा दोब्बर पैसा दिन्छु भन्दै सञ्चालन गरेको हिरो बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थासँग ३ करोड ७० लाख रुपैयाँ मात्र बाँकी भएको सन्तोषको दाबी छ ।
प्रकाशित मिति: २०६८ पुस ३० १०:०५









तपाईंको प्रतिकृया