७२ वषीर्य चन्द्रबहादुर बने विश्वकै होचा
उनी भन्छन्, 'संविधान छिटो बनोस, देश र जनतालाई राम्रो होस्'
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन १५ - दाङ पुरन्धाराका ७२ वषीर्य चन्द्रबहादुर डाँगी विश्वकै होचा व्यक्ति बनेका छन् । उनको तौल १४.५ किलो छ ।
नेपालबाट गिनिजबुकमा विश्वकै होचो व्यक्तिको रेकर्ड राख्ने डाँगी दोस्रा हुन् । यसअघि बाग्लुङका १८ वषीर्य खगेन्द्र थापा मगरले पनि त्यही किर्तिमानी पाएका थिए ।
बेलायतबाट आएको 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड' का चार सदस्यीय टोलीले डाँगीको उचाई २१.५ इन्च (५४.६ सेमि) भएको प्रमाणित गरेपछि उनी विश्वकै होचो व्यक्ति बन्न सफल भएका हुन् ।
यसअघि 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड'ले डाँगीभन्दा दुई इन्च अग्ला फिलिपिन्सका जुनरी बाल्विङ -२३.५ इन्च -५९.९ सेमी) लाई होचो व्यक्तिको प्रमाणपत्र दिएको थियो । बाल्विङ अघि उनीभन्दा तीन इन्च अग्ला खगेन्द्र थापा मगर विश्वकै होचो व्यक्ति बनेका थिए । गत जुनमा बाल्विङले मगरको किर्तिमान खोस्दै होचा व्यक्ति बन्न सफल भएका थिए । टोलीले लैनचौरस्थित 'सिविक क्लिनिक ट्राभल मेडिसिन सेन्टर'मा २४ घण्टामा तीन पटक उनको नाप लिएको थियो ।
नापजाँचपछि 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड'ले आइतबार नै डाँगीलाई विश्वकै होचो व्यक्तिको 'सर्टिफिकेट' दिएको छ । ढाकाटोपी, सेतो दौरा र स्टकोटमा सजिएका डाँगीले विश्वकै होचो व्यक्तिको प्रमाणपत्र पाएपछि सञ्चारकर्मीमाझ मुसुक्क मुस्कुराउँदै प्रसन्नता व्यक्त गरे ।
'देश, गाउँ, ठाउँको नाम राख्न पाएँ, यो मेरो गाउँ र देशकालागि ठूलो कुरा हो' पर्यटनबोर्डमा पमाणपत्र पाएपछि गिनिजबुककै अधिकारीसमक्ष उनले भने, 'अब देश, विदेश घुम्न र संसारका मान्छेहरुसंग भेट्न चाहन्छु ।' तामझामका साथ प्रमाणपत्र पाएपछि हौसिएका उनले पुराना गित 'पानको पात....' र 'छमछम नाचिदेउ निहुरेर....' बोलको गीत पनि सुनाए । त्यसो त मादल बजाउन पनि उनी खप्पिस छन् । उनको आवाज भने धेरै स्पष्ट छैन । प्रमाणपत्र दिएपछि 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड'का प्रधान सम्पादक क्रेग ग्लेन्डीले गिनिज बुकको ५७ वर्षे इतिहासमा चन्द्र नै सबैभन्दा होचो व्यक्ति भएको बताए । '७२ वर्षे बुढ्यौली उमेरमा होचोको रेकर्ड राख्ने पनि उहाँ नै हो' उनले भने ।
अहिलेसम्म होचा मानिएका भारतको नयाँदिल्लीका गुल मोहम्मदको सन् १९९७ मा निधन भईसकेको छ । मोहम्मदको उचाईँ २२.५ इन्च थियो ।
डाँगीको नापका लागि 'गिनिज बुक अफ दी रेकर्ड'का प्रधान सम्पादक क्रेग ग्लिन्डेसहित चार जनाको टोली शनिवार बेलायतबाट काठमाडौं आएको थियो । डाँगीलाई विश्वकै होचो व्यक्तिका रुपमा गिनिजबुकमा नाम लेखाउन दाङ पुरन्धाराका रामबहादुर विक र उनकै भतिजा दोलखबहादुर र यम पुन लागिपरेका थिए ।
उनको प्रवर्द्धनका लागि केही महिना अघि 'चन्द्रबहादुर डाँगी प्रतिष्ठान' स्थापना गरिएको थियो । गिनिजबुक रेकर्डको टोली काठमाडौं आउने भएपछि डाँगीलाई बुधवार दाङबाट काठमाडौं ल्याईएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रामबहादुर विकका अनुसार डाँगीको जन्म १९९६ साल मंसीर १५ मा सल्यानको कालिमाटी गाउँमा भएको हो । बेलबहादुर डाँगीका पाँचौं छोरा (राइँला) हुन् । उनका चार दाजु र एक भाइको उचाईँ भने औसत छ । उनका दुई दिदीको उँचाई पनि औशत नै छ ।
उमेरले सात दशक पार गरेपनि उनी अझैं स्वस्थ्य (निरोगी) छन् । उनले एक पटक सिटामोलबाहेक मेडिकलको -अंग्रेजी) औषधी खाएका छैनन् र खान पनि मान्दैनन् ।
पुरन्धारा-८ रिमखोलीगाउँमा उनी काइँला दाईसंग धेरै समय बसे । काइँला दाइको निधन भएपछि उनी काँइला भाइकै छोरा -भतिजा)संग बस्छन् । केही वर्ष अघिसम्म भतिजाहरुका बालबच्चाको रेखदेख गर्ने, घरेलु काममा सहयोग गर्नेबाहेक उनको अरु काम थिएन ।
२०६३ सालदेखि भने उनलाई देशका विभिन्न स्थानमा हुने महोत्सव र कार्यक्रमहरुमा सहभागी गराउन थालियो । अहिले प्रतिष्ठान अध्यक्ष रहेका विकले नै उनलाई विभिन्न कार्यक्रममा सहभागी गराए । पहिलो पटक २०६३ सालमा तुलसिपुरमा उद्योग वाणिज्य संघले गरेको राप्ती महोत्सवमा उनलाई सार्वजनिक गरिएको विक सम्झन्छन् ।
२०६३ पछि वुटवल, प्युठान, रुकुम, बाँके, बर्दिया, टिकापुरलगायतका स्थानमा भएका मेला र महोत्वसमासमेत डाँगीलाई प्रदर्शनीमा राखिएको थियो । 'उहाँलाई हेर्न धेरै मान्छे आकषिर्त हुन्थे' अध्यक्ष विकले कान्तिपुरसित भने, 'उहाँले रेकर्ड तोड्नुभयो, हामी सफलताको शिखरमा पुग्न सफल भयौं, खुसी लागेको छ ।'
उनले पुरानो शिक्षाको ५ कक्षासम्मको अध्ययन गरेको विक बताउँछन् । 'लेखपढ गर्न सक्नुहुन्छ' उनले भने, 'आफ्नो हिसाब किताब आफैं राख्नुहुन्छ ।'
उचाईँ कम भएकै कारण विहे नभएको उनले बताउने गरेका छन् । अब भने उनलाई घरजम गर्ने रहर छैन । 'बुढो भइयो अब के विहे गर्नु !' उनी भन्छन् । पत्रपत्रिका नपढेपनि अहिले देशमा संविधान बनिरहेको उनलाई जानकारी छ । संविधानसभाको चुनावमा उनले पुरन्धारामै भोट दिन गएका थिए । संविधान बनाउन थालेको धेरै समय भईसकेपनि पूरा नभएको चिन्ता उनलाई पनि रहेछ । त्यही भएर उनको कामना छ, 'देशमा संविधान बनोस्, देश र जनतालाई राम्रो होस् ।'
एक/दुई दिनमा उनी पाँच जना सहयोगीसहित गिनिजबुकले दिएको प्रमाणपत्र बोकेर गाउँ फर्किनेछन् । दाङबाट काठमाडौं ल्याउने र फर्काउने जिम्मा गिनिज बुकले एएफपीका फोटो पत्रकार प्रकाश माथेमालाई दिएको थियो । उनी र टोलीलाई गिनिज बुकले राजधानीको एक होटलमा बसाएको छ ।
प्रकाशित मिति: २०६८ फाल्गुन १५ १२:००










तपाईंको प्रतिकृया