भेदभावविरुद्ध उभिँदा

दुई वर्षअघि म विद्यालयमा पढ्थें । हाम्रो कक्षा नियमित सञ्चालन भैरहेको थियो । अचानक पि्रन्सिपल सरले सबैलाई विद्यालयको प्राङ्गणमा बोलाउनुभयो । त्यहाँ पुग्दा केही नौला अनुहार देख्न पाइयो । उनीहरूका हातमा क्यामेरा थिए । मैले ती पत्रकार हुन् कि भन्ने अनुमान लगाएँ । मेरो अनुमानविपरीत उनीहरू बाहिरबाट आएका पर्यटक थिए । पि्रन्सिपल सरले उनीहरूको परिचय दिनुभयो । उनीहरू अमेरिकाबाट एउटा परियोजनाका लागि आएका रहेछन् । परियोजनामा हामीजस्ता विद्यार्थीलाई सहभागी गराउन उनीहरू हाम्रो विद्यालय आएका थिए । यसका लागि मेरो विद्यालयबाट मेरा साथीहरूलगायत मलाई पनि यो परियोजनामा सहभागी गराउने उद्देश्यले छानियो ।

यो परियोजना संसारभरि धर्मका नाममा हुने हिंसा र झगडा अर्थात् धर्मका आधारमा गरिने भेदभावसँग सम्बन्धित थियो । हिन्दू भएकीले म आफ्नो धर्मको प्रतिनिधित्व गर्दै थिएँ । त्यसैगरी मेरा अरू साथीहरू पनि आ-आफ्ना धर्मको प्रतिनिधित्व गर्दै थिए । यो परियोजनाका लागि विभिन्न विद्यालयबाट भाग लिएका विद्यार्थीलाई धेरै धार्मिक स्थानमा लगियो । हामी मन्दिर, मस्जिद, गिर्जाघर, विहार, गुरुद्वाराजस्ता सबै धार्मिक स्थलमा गयौं । हामीले धर्मगुरुहरूसँग कुराकानी गर्‍यौं । हामी जहाँ जान्थ्यौं र कुरा सुन्थ्यौं त्यहाँ मनै सिरिङ्ग हुने गरी मानिसहरूले आफ्नो धर्मलाई ठूलो देखाउन अर्काको धर्मलाई होच्याउँथे । हामीलाई के लाग्थ्यो भने हामी त साना छौं, सही वा गलत छनोट गर्न सक्दैनौं । तर समाजमा कैयौं दशक बिताएका यी धर्मगुरुहरूले आफ्नो धर्मलाई माथि पार्न अरूको धर्मलाई होच्याएको देख्दा अचम्म लाग्थ्यो । यी जान्ने-बुझ्ने मानिसको यस्तो व्यवहार मलाई मन परेन ।

आफूले सोचेभन्दा भिन्न अनुभव बटुल्दै हाम्रो तीन महिनाको परियोजना सकिएको पत्तै भएन । यस क्रममा हामीले धेरै कुरा सिक्न पायौं । परियोजनाको अन्तिमतिर हामी समापन समारोहको तयारीमा व्यस्त भयौं । हामीले परियोजनाको समापनका दिन सबै धर्मगुरुलाई समारोहमा सहभागी हुन निम्तो दियौं ।

उक्त परियोजना सम्पन्न गर्ने क्रममा मैले एउटा मार्मिक सत्य अनुभव गरें । त्यो हो-साना-साना मानिसका ठूल्ठूला विचार र ठूलाहरूको अति सानो विचार । कति मानिस त पढेलेखेका भए पनि अज्ञानीझंै लाग्थे । उनीहरू हामी विभिन्न धर्मका साथीले एउटै थालमा खाएको देख्दा आश्चर्यले हेर्थे । उक्त भ्रमणका क्रममा मैले धेरै कुरा सिक्ने अवसर पाएँ । अहिलेसम्म मेरो मस्तिष्कमा परियोजनाको अन्तिम दिन ताजै छ । त्यस दिन धेरै अचम्मका कुरा भएका थिए । मेरो मुसलमान साथीबाट रामायणको श्लोक सुन्दा त्यहाँ भएका धर्मगुरु तीनछक्क परेका थिए । हिन्दू भएर इसाईको धर्मग्रन्थका बारेमा मैले आफ्ना विचार व्यक्त गर्दा सबैले मलाई क्रिस्चियन हो कि पनि भने । हाम्रो भावना वा हाम्रो सोच समग्र मानव जातिका लागि धर्म एउटै हुन्छ भनेर बुझाउनु थियो तर हामीलाई यसका लागि हामी साना छौं जस्तो लाग्थ्यो । हामी भर्खर समाज भनेको के हो भन्ने जान्दै थियौं । उहाँहरूले त्यही समाजमा धेरै समय बिताइसक्नुभएको थियो । तर हाम्रा क्रियाकलाप र विचार अथवा भावनाहरूले सायद उहाँहरूको मन पनि छोएको थियो । स-साना ओठबाट उठेका सच्चा आवाजलाई सायद उहाँहरूले बुझ्नुभएछ क्यार सबैले उठेर ताली पड्काउनुभयो ।

सबैलाई आ-आफ्नो धर्म प्यारो हुन्छ र हुनु पनि पर्छ तर धर्मका नाममा झगडा गर्नु मूर्खता हो । अल्लाह, शिव, बुद्ध आदि जतिसुकै नाम किन नहून् सबैले मानव जातिलाई सत्य, सेवा र शान्तिको बाटोमा चल्न सिकाएका छन् । नाम फरक भए पनि सबैका भगवान्ले एउटै कुरा मानव जातिको रक्षा गर्न सिकाउँछन् । सबैले हामीलाई एक-अर्कालाई सम्मान र आदर दिने पाठ सिकाउँछन् भने हामी आफू-आफूमा किन हिंसात्मक भैरहेका छौं ? त्यसैले ती पल मेरा लागि निकै अविस्मरणीय छन् । मनको कुनै कुनाबाट एउटा आवाज आयो-

'यो त नेपाल आमाको सेवा र विकासका लागि मेरो पहिलो कदम मात्र हो । मैले जीवनमा अझै यस्ता धेरै कदम उठाउनु छ । समाजमा जरा गाडी बसेका भेदभाव र विसंगतिहरूलाई जरैबाट मेटाउनु छ ।'

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन