सकारात्मक विचार अँगालौं

नेपाली समाजमा हिजोआज जतासुकै पनि नकारात्मक कुरा मात्र देख्न-सुन्न पाइन्छ । कहीँ-कतै समूहमा बसेर छलफल गरिरहेका मानिस हुन् वा दुईजनाबीचको कुराकानीमा होस्, संचार माध्यममा होस् वा अन्य क्षेत्रमा होस्, सबैतिर केवल नकारात्मक कुराकै चर्चा हुने गरेको छ । यस्तो भएन, त्यस्तो भएन भन्ने गुनासा, असन्तुष्टि एवं निराशाले वातावरणलाई दूषित तुल्याएको छ । यसरी वातावरण नै दूषित भएपछि मानिसको मनस्थितिमा समेत स्वाभाविक तवरले नकारात्मक असर पर्छ । नकारात्मक भावनाको विकास हुनुमा केही मात्रामा नेपालको संक्रमणकालीन राजनीतिक अवस्था जिम्मेवार भए पनि सम्पूर्ण दोष यसैमाथि थुपारेर पन्छिन मिल्दैन । जिम्मेवार नागरिकले अरूलाई दोष दिनुभन्दा आपmनो तर्फबाट के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसो भयो भने केही मात्रामै भए पनि सकारात्मक वातावरण सिर्जना हुन्छ । समाजमा विद्यमान सकारात्मक कुराको खोजी एवं पहिचान गरेर सकारात्मक विचार अपनाउनु नै आजको आवश्यकता हो ।

विनीता पौडेल, कास्की

छोरी पराईको घर जाने जात नै हो त ?

नेपाली समाजमा छोरीलाई पराईको घर जाने जात भनिन्छ । यसैअनुसार छोरीलाई जन्मिएदेखि नै विभिन्न कुरामा पुरुषभन्दा फरक बनाउने चेष्टा गरिन्छ । हुन त जैविक दृष्टिले छोराछोरी वा महिला-पुरुषमा विभेद त छ नै, तर यही कुरालाई आधार बनाएर संस्कृतिको निर्माण गरिएको त होइन होला । यदि हो भने र संस्कार एवं संस्कृतिले लैङ्गकि विभेद जन्माउँछ भने त्यसलाई किन संस्कार मान्ने ? किन संस्कृति बनाउने ? यो कुरालाई आज सबैले हृदयङ्गम गर्नुपर्छ । हिजोआज सहरी परिवेश तथा केही शिक्षित समाजमा यसप्रति केही जागरुकता देख्न सकिए पनि नेपाली समाजमा लैङ्गकि विभेद कायमै छ । लामो समयदेखि समाजमा जरा गाडेर बसेको संस्कारलाई एकैपटक निर्मूल पार्न सम्भव त हुँदैन तर पनि छोरीको निधारमा जुन पराईको घर जाने जात भन्ने टीका लगाइएको छ त्यसलाई हटाउन जरुरी छ । यो कुराले छोरी मानिसको हृदयमा निकै ठूलो चोट पुग्ने गरेको छ । अलिअलि बुभmन थाल्ने भएपछि नै छोरी आफू र दाजुभाइका बीच गरिने भेदभाव छुट्याउन थाल्छे जुन उत्तरोत्तर बढ्दै जाँदा उसमा एकप्रकारको हीनता ग्रन्थि विकसित हुन्छ र त्यसले उसको स्वाभाविक विकासलाई रोक्छ । त्यसैले यस्ता कुरालाई  विस्तारै हटाउँदै जानुपर्छ र छोरीलाई पनि छोरासरह नै व्यवहार गर्ने परम्पराको थालनी गर्नुपर्छ । छोरीमान्छे पोइल जान हुन्छ भने छोरोमान्छे जोइल जान किन हुँदैन ? के सधैंभरि छोरीलाई नै दबाइराख्नुपर्छ भन्ने छ ?

प्रगति मरहट्ठा, गोरखा



परिवर्तन आत्मसात् गर्दै नेपाली महिला

नेपाली समाजमा पहिलेदेखि नै पुरुषले महिलालाई दबाउँदै आएका छन् । नारीलाई केवल उपभोग्य वस्तु मानेर पुरुषलाई मनोरञ्जन गराउने विलासिताको वस्तु मानेको छ-समाजले । पुरुषप्रधान समाजले महिलाप्रति त्यसैअनुसार व्यवहार गर्नु अनौठो होइन तथापि महिलाहरू पनि चुपचाप बसेर पुरुषका यस्ता कृत्यलाई अनुमोदन गर्दै आएका छन् । हिजोआज समय परिवर्तन हुँदैछ । शिक्षाको प्रचार-प्रसारबाट महिलाको चेतना वृद्धि भएको छ । उनीहरू पनि आफ्नो हक-अधिकारको सुनिश्चितता खोज्न थालेका छन् । महिलाहरू आपmनो महत्त्व महसुस गर्न थालेका छन् जसबाट तिनका पतिदेवको स्वाभिमानमाथि दरो चोट पुगेको छ । घरायसी झगडा एवं सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् तर यसो हुनु यथार्थमा पुरुषको कमजोर मानसिकता हो । अन्यथा समानताको वातावरण कायम हुनु दुवैका लागि हितकर कुरा हो । अबका महिला पहिलेका जस्ता छैनन् । त्यसैले उनीहरूसित पहिलेभन्दा फरक ढंगले व्यवहार गर्नुपर्छ भन्ने कुरा पुरुषहरूले पनि बुभmनु जरुरी छ ।

पि्रयंका शर्मा, कपन



महँगीले ढाडै सेक्यो

 दैनिक उपभोग्य सामग्रीमा बढेको मूल्यले काठमाडौं उपत्यकाको बसाइ दिनप्रतिदिन कठिन हुँदैछ । अझ घर सम्हाल्ने जिम्मेवारी बहन गर्ने गृहिणीहरू यसबाट बढी पीडित भैरहेका छन् । कतिपयमा यसबाट उत्पन्न तनावकै कारण मानसिक समस्या देखा पर्न थालेको छ । ६ वर्षअघि ६ सय रुपैयाँमा पाइने ग्यासको मूल्य झन्डै १४ सय पुगेको छ अहिले, तरकारीको मूल्य त अझ यति बढेको छ कि मासिक २०-२५ हजार रुपैयाँ तलब लिने जागिरेहरूले घरखर्च चलाउन गार्‍हो परिरहेको छ । अझ त्यसभन्दा पनि कम आम्दानी हुनेहरूका लागि त काठमाडौंको बसाइ झन्डै नर्क भएको छ । यसमाथि चर्को घरभाडा तिर्नुपर्नेहरूले त पैसा बचत गर्न असम्भव नै छ । एक वर्षकै अवधिमा लगभग ४० प्रतिशत मूल्यवृद्धि खेपेका नेपालीले यसबाट त्राण पाउने उपाय फेला पार्ने सम्भावनासमेत छैन । बर्सेनि बढेको महँगीले आमउपभोक्तालाई जीविका चलाउन कठिन भएको छ । हरियो तरकारी एवं खाद्यान्नजस्ता कुरामा मात्र नभै लत्ताकपडा, पेट्रोलियम पदार्थ, निर्माण सामग्री आदिको मूल्य पनि बढेको बढ्यै छ । यति हुँदा पनि बजार नियन्त्रण गर्ने निकाय भने मूकदर्शक बनेको छ । बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य विभाग दसैं र तिहारताका सक्रिय भए पनि हाल आएर मौन बसेको छ ।

सुजिता खड्का, अनामनगर



खाद्यपदार्थमा मिसावट गम्भीर समस्या

केही समययता पत्रपत्रिकाहरूमा खाद्यपदार्थमा मिसावटसम्बन्धी समाचार प्रकाशित हुँदै आएका छन् । नाम चलेका केही मिठाइर्ं पसलको कर्तुत उदाङ्गो भएपछि त अझ सर्वसाधारणमा एक प्रकारको भय उत्पन्न भएको छ । नाम चलेकाहरूले त त्यसो गर्छन् भने सामान्य पसलहरूको हविगत के होला भन्ने शंका सबैमा व्याप्त छ । गुँदपाक, लड्डु, पेडा, रसबरीलगायतका मिठाईंका नाम सुन्दा मुख मिठ्याउने नेपालीहरू त्यस्ता खाद्यपदार्थको नाम सुनेरै हिच्किचाउन थालेका छन् । दुग्धजन्य पदार्थ मात्र नभै अन्य मरमसला तथा खाद्य सामग्रीको पनि त्यस्तै अवस्था छ । खाद्यपदार्थमा मिसावटले जनस्वास्थ्यमाथि गम्भीर असर पर्ने कुरामा दुईमत हुन सक्दैन । त्यसैले बजार अनुगमन एवं गुणस्तर मापन संयन्त्रलाई प्रभावकारी तुल्याएर सबल कानुनी कारबाही गर्नु नै यसलाई नियन्त्रण गर्ने एक मात्र उपाय हुनसक्छ ।

झरना सापकोटा, हेटौंडा



विभेदको अन्त्य आवश्यक

भर्खरै महिला हिंसाविरुद्धको १६ दिने अभियान सकिएको छ । विश्वभरका महिलाले नोभेम्बर २५ का दिन मनाउने महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस अन्य दिवसभन्दा अलिकति फरक छ जुन १६ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइन्छ । यो अभियानमा राजधानीलगायत सबैजसो जिल्लाका सुगम ठाउँमा महिला अधिकारका आवाज उठे । तर के यसबाट विभेद पीडित नारीहरूले राहत पाए त ? अहँ, अझै हिंसाका घटना कम भएका छैनन् बरु दिनानुदिन बढ्दैछन् । हत्या, अपहरण, बलात्कार, यौनजन्य दुव्र्यवहार, घरेलु हिंसाजस्ता घटना पनि बढिरहेका छन् । सामाजिक एवं सांस्कृतिक कुरीति, राज्यको राजनीतिक अस्थिरताका कारण आपराधिक घटना बढ्नु, पीडितले न्याय नपाउनु, दोषीलाई सजाय नहुनुजस्ता घटनाले महिलाहरू हिंसा सहन बाध्य भएका छन् । हिंसाविरुद्धको ऐन बने पनि त्यसको कार्यान्वयन हुन नसक्दा पनि हिंसा नियन्त्रण हुन सकेको छैन । हुन पनि राज्य संयन्त्र बलियो नभैकन महिलाको मानव अधिकारको प्रत्याभूति एवं उनीहरूमाथि हुने सबै प्रकारका भेदभाव अन्त्य हुन सक्दैन । त्यस्तो अवस्थामा यस्ता कार्यक्रम सचेतनाका दृष्टिले पनि सकारात्मक हुन सक्छन् । त्यसैले महिलामैत्री कानुन बनाएर मात्र पुग्दैन त्यसको कार्यान्वयन पक्ष पनि उत्तिकै प्रभावकारी  हुनुपर्छ र यसका लागि जिम्मेवार निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

सानुमाया लामा, ललितपुर



नारी समानता व्यवहारमा पनि हुनुपर्छ

हिजोआज जतासुकै नारी समानताका कुरा उठाइने गरिएको छ । समाज विकासको सन्दर्भमा यो स्वाभाविक कुरा पनि हो तथापि त्यसैअनुसारका ऐननियमको अभाव एवं भएका ऐननियमको पनि कार्यान्वयन पक्ष राम्रो नहुँदा नारी समानताका लागि उठाइने आवाज उसै दबिने गरेका छन् । समाजमा जतासुकै विभिन्न बहानामा नारीमाथि अत्याचार भैरहेको छ । चरित्रका नाममा, दाइजोका नाममा, व्यवहारका नाममा, सहयोगका नाममा, प्रेमका नाममा नारीमाथि हुने हिंसाका घटना बढिरहेका छन् । जबसम्म यस्ता घटनाहरू कम गर्न सकिँदैन तबसम्म नारी समानताका कुरा गर्नु व्यर्थ हुनेछ । नारी समानतालाई सशक्त रूपले व्यवहारमा लागू गराउन पहिलो कुरा त नारीहरूलाई आर्थिक रूपले आत्मनिर्भर हुने वातावरण सिर्जना गर्नुपर्छ । आर्थिक सबलीकरण हुनेबित्तिकै धेरैजसो समस्या आफैं कम हुँदै जानेछन् । यसबाहेक उनीहरूलाई स्वनिर्णयको अधिकार एवं सामाजिक भूमिकामा बढी सक्रिय गराउनुपर्छ जसका लागि पुरुषको साथ अपरिहार्य हुन्छ । पुरुषको साथ नपाई नारीको उन्नति सम्भव छैन । तसर्थ पुरुषहरूले व्यवहारमै नारीलाई समान दृष्टिले हेर्नुपर्छ अर्थात् पुरुषप्रधान समाजको मानसिकताको चस्माले हेर्नु हुँदैन ।

सुन्दरी थापा, चितवन 

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
घर  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन