आमाको महत्त्व

संस्कृतमा आमा बुझाउने माता शब्द अत्यन्त पि्रय छ। मात्रा भवतु संमनाः -अथर्ववेद ३/३०/२) भन्ने ऋचाले 'उदर -गर्भ) मा शरीरको धारण गर्ने माताको महत्तालाई बुझाउँछ।' यस्तै 'आपदि मातैव शरणम्' अर्थात् आपत्का बखत माताको सम्झना गरिन्छ। कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ। अप्ठ्यारो परिस्थितिमा मुखबाट आमा शब्द नै  निस्कन्छ। 'मात्रा सम नास्ति शरीर पोषणम्।' अर्थात् प्राणीका लागि माताले जस्तो हेरचाह र पोषण प्रदान गर्ने कोही हुँदैनन्। मानिसमा मात्र नभै अन्य प्राणीमा पनि आमाको भूमिका प्रशंसनीय छ। चराले किन टाढा-टाढासम्म पुगेर आफूले नखाएर पनि चुच्चोमा आहार च्यापेर ल्याउँछ ? भर्खरै जन्मिएको बाछाको नजिक जाँदा गाईले किन हान्न खोज्छ ? बाँदरको बच्चालाई चलाउन खोज्दा किन बाँदरहरू उठेर आउँछन् ? यी सबैको उत्तर एउटै छ-प्राणीलाई आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैनन्। 

आमाको ममताको प्रसंगमा एउटा कथा प्रचलित छ। पौराणिक कालको देवपत्तन नगरमा सगुरी र निगुरी नामका दुई नारी बस्थे। अचानक एउटीको छोरो हरायो, अर्कीले भेट्टाई। सगुरी र निगुरी नामका ती दुई नारी एउटा छोराको बीचमा आए। उक्त छोरालाई दुवैले आफ्नै सन्तान भएको दाबी गरे। अब न्यायका लागि न्यायाधीशकहाँ जानुपर्ने भयो। उक्त मुद्दा फैसलाका लागि आफूकहाँ आउँदा न्यायाधीश स्वयंलाई पनि फसाद पर्‍यो। के गर्ने ? कसरी गर्ने भन्ने अलमलपछि न्यायाधीशले एउटा निष्कर्षमा पुग्दै दुवैसँग प्रश्न गरे- अब यो बालकलाई आराले बीचबाट चिरेर दुई भाग लगाई एक-एक भाग बाँडिदिन्छु।' न्यायाधीशको यस्तो बचन सुन्नेबित्तिकै सगुरीको ममता उर्लिएर आयो। उनले भनिन्-बरू मलाई मेरो छोरा चाहिँदैन, उसलाई नकाट्नू। तर निगुरी बालकको आधा शरीर भए पनि स्वीकार गर्न तयार भइन्। यसबाट न्यायाधीशले उक्त सन्तान सगुरीको नै भएको थाहा पाए। यो कथनले आमाको ममता, स्नेह, त्याग गर्न सक्ने शक्ति तथा अगाध प्रेमलाई स्पष्ट पार्छ।

आमाको कुरा गर्दा एउटा प्रख्यात हिन्दी भनाइ छुटाउन मिल्दैन- नारी निंदा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर खुमान। अर्थात् नारी जातिको निन्दा कहिल्यै नगर्नू, उनीहरूको अवहेलना नगर्नू किनभने नारी भनेका पुरुषका स्रोत हुन्। तुलसीदास, सुरदासजस्ता विद्वान्हरू पनि नारीकै कोखबाट जन्मिएका हुन्। नारी अर्थात् आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्चस्थानमा राखेर व्याख्या गरिएको छ। माताको प्रेम मनुष्य जातिमा मात्र सीमित नरही चराचर जगत्का प्रत्येक प्राणीमा उत्तिकै देखिन्छ। जन्मदाता एवं पालनकर्ता भएका कारण पूज्यहरूमा पनि अति पूज्य जनक तथा पिता कहलाउँछन्। जन्मदाताभन्दा अन्नदाता पिता श्रेष्ठ मानिन्छन्। त्यसभन्दा सय गुणा श्रेष्ठ एवं वन्दनीय माता हुन्छिन् किनभने उनी सन्तानलाई गर्भधारण तथा पोषण प्रदान गर्छिन् भन्ने कुरा ब्रह्मवैवर्त पुराणमा उल्लेख छ। 

पौराणिक कालमा आमाको उपदेशबाट सन्तानले सफलता प्राप्त गरेका कथा थुप्रै छन्। पौराणिक कालमा विदुला नामकी महारानी थिइन्। उनको सञ्जय नाम गरेको पुत्र त्यही देशको राजा थियो। एकदिन छिमेकी सिन्धुराज्ाले उक्त राज्यमा आक्रमण गर्‍यो। युद्धबाट विदुलापुत्र सञ्जय भाग्न बाध्य भयो। जब विदुलाले आफ्नो पुत्र कायर भै युद्ध छोडेर आएको देखिन् तब उनले क्रोधित मुद्रामा पुत्रलाई भनिन्-थुक्क लाछी, कायर, डरपोक, तँ त बरू मरेको भए हुन्थ्यो। तैंले मेरो दूध खाएको रैनछस्। यदि तैंले मेरो दूध खाएको भए यसरी युद्धलाई अधूरै छाडी आउँदैनथिस्। तँ यसरी जिउँदै आउनुको साटो बरू तेरो लास आएको भए मेरो चित्त बुझ्थ्यो। तैंले आपना पुर्खाको गौरवलाई माटोमा मिलाइस्। धिक्कार छ मलाई तँजस्ताकी आमा भएकोमा।' आमाको यस्तो बचन सुनेर सञ्जय पुनः युद्धमा फर्कियो र सिन्धुराजमाथि विजय प्राप्त गरेर आमाका सामु उपस्थित भयो। त्यसबेला विदुलाले बहादुर छोराकी आमा भएकोमा गर्वले छाती फुलाउँंदै भनिन्-स्यावास् छोरा, तँ मेरो रगत होस्।

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता, नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः। अर्थात् जुन देवी सबै प्राणीमा माताको रूप लिएर रहन्छिन् उनलाई नमस्कार, नमस्कार, बारम्बार नमस्कार भनेर दुर्गाशप्तशतीले आमाप्रति श्रद्धा अर्पण गरेको छ। आमाको सम्मान, प्रतिष्ठा र स्नेह अतुलनीय छ। उनीप्रतिको कर्तव्य जति निर्वाह गरे पनि पूर्ण हुँदैन। सन्तानका लागि माताको स्थान पिताको भन्दा बढी छ किनभने उनले सन्तानलाई गर्भधारण गरेकी छिन्  र उनैद्वारा तिनको पालनपोषण भएको छ। 'कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति।' भनिएकाले तीनै लोकमा आमासमान दोस्रो गुरु कोही छैन। नारी मातृदेवता हुन्। शास्त्रमा आमाको गौरव गुरुभन्दा दस लाख, आचार्यभन्दा लाख तथा पिताभन्दा हजार गुणा बढी हुने बताइएको छ।

नारीको अस्तित्व मातृत्वमै समाहित हुन्छ। प्राचीन शिक्षा प्रणालीमा ब्रह्मचारीलाई 'मातृवत् परदारेषु अर्थात् सबै नारी जाति आमा हुन्' भन्ने शिक्षा दिएर सबै नारीमा आमाको रूप देख्न सम्झाइन्थ्यो। यसबाट माताको मातृत्व केवल आफ्नै सन्तानमा मात्र सीमित हुँदैन भन्ने पुष्टि हुन्छ। शास्त्रीय दृष्टिमा मातृत्व दयामयी महामाया वा जगन्माताको प्रसाद पनि हो। वेदमा सोह्र प्रकारका आमाको उल्लेख छ-दूध पिलाउने, गर्भधारण गर्ने, भोजन दिने, गुरुपत्नी, इष्ट देवताकी पत्नी, पिताकी पत्नी -सौतेनी आमा), पितृकन्या -सौतेनी बहिनी), सहोदर बहिनी, छोरा-बुहारी, सासू, आमाकी माता, पिताकी माता, भाइबुहारी, सानीमा, फुपू र माइजू। यी सबै नारी पूजनीय छन्। यिनको आफ्नै धर्म र महत्त्व छ। पुरुषले यिनलाई आमाका रूपमा हेर्नुपर्ने ज्ञान वेदले दिएको छ।

यद्यपि समयसँगै हरेक कुरामा आएको परिवर्तनका कारण आज आमाछोरा वा आमाछोरीबीचको सम्बन्ध मानसिक रूपमा भलै टाढा नहोला तर शारीरिक रूपमा भने टाढिँदै गएको पाइन्छ। आजको व्यस्त युगमा सबैसँग सँगै बसिरहने समय हुँदैन। करियर बनाउने दौडमा आमादेखि छुट्टएिर बसेका कतिपय सन्तान मदर्स डे मा इन्टरनेटमार्फत न्याउरो अनुहार लगाएर बल्लतल्ल केही क्षण कुरा गर्ने फुर्सद निकाल्छन् त कतिपयले त्यसो गर्न पनि नभ्याएर तिथिअघि नै वा केही दिनपछि भए पनि अनलाइन गिफ्ट पठाएर चित्त बुझाउँछन्। समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् तर आमाप्रतिको श्रद्धा र महत्त्व उही उचाइमा छ। युगकवि सिद्धिचरण श्रेष्ठले 'आमा' कवितामा लेखेका छन् ः



आमा तिमी जन्म दिने मलाई

आमा तिमी प्राण दिने मलाई

आमा तिमी बोट, म फूल त्यसको

हो दान तिम्रै जति जे छ मेरो।





महत्त्व मातृऔंसीको

वैशाख कृष्ण अमावस्या हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा परिचित छ। यो दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थऔंसी आदि पनि भनिन्छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आपनो शक्तिअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान् छिन्। आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी-नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन्। जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन्। आमाको गुणगान शब्दमा व्यक्त हुन सक्दैन। यसका लागि भावनात्मक एवं आत्मिक भाषाको आवश्यकता हुन्छ किनभने आमा जगद्धात्री जगज्जननीकी  साकार स्वरूप हुन्। यस्ती आमाको त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ। आमाविना सृष्टि सम्भव छैन। अतः सन्तानले आमाप्रति सधैं उदार हुनुपर्छ। आमाको उपकाररूपी ऋण कसैगरे पनि तिर्न सकिँदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भए पनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ।

आमा धरती हुन् किनभने  उनले धर्तीझैं सहनशील भएर बालबालिकाको पालनपोषण एवं सुरक्षा गरेकी हुन्छिन्। आमाले जसरी सन्तानप्रति कुनै कारणबिना नै स्नेह प्रदान गर्ने  व्यक्ति अरू कोही हुँदैनन्। त्यसैले आमाप्रति सम्मान प्रदान गर्नु सन्तानको पहिलो कर्तव्य हो। यही कर्तव्य पूरा गर्न नेपाली समाजमा हरेक वर्ष मातृऔंसीका दिन आमाको मुख हेर्ने चलन छ। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन्। कुण्डमा स्नान गरेपछि आपनी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो। एक प्रसंगअनुसार भगवान् विष्णुका सातौं अवतार मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै मातातीर्थमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो। त्यहीबेला सीता मातालाई प्यास लाग्यो। पानी खोज्दा कतै नभेटिएकाले श्रीरामले गंगामाताको स्तुति गर्नुभयो। 'माता गंगासमो तीर्थ पिता पुष्करमेवचः।' भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन गर्दा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो। त्यतिबेला त्यहाँ घना जंगल थियो। एकपटक गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाँदै थिए। संयोगवश एउटा गोठालो मुखमा रोटी नपर्दै  कुण्ड भएतिर मात्र के गएको थियो उसले कुण्डभित्र आपनी आमाको दर्शन पायो। घर र्फकने बेलामा गोठालाले एक्लै र्फकन नमानेको र आमासँगै जाने इच्छा गर्दा आमाले छोरालाई अहिले तिमी हामीसित जान मिल्दैन। बरु मेरो दर्शन गर्न प्रत्येक वैशाख औंसीको दिन आउनू भनिछन्। उक्त दिन हरेक आमा गुमाएका सन्तानले यही कुण्डमा आपनी आमाको आकृति देख्न सक्छन् भन्ने जानकारी दिएर आमाले गोठालो छोरालाई फकाई-फुल्याई बिदा दिइछन्। त्यति बेलैदेखि हरेक वर्ष त्यहाँ मेला लाग्न थालेको हो।

आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो। त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आपना आमालाई मुक्त गराउन सक्छन्। स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।

आमालाई प्रसन्न पार्न सके अन्य कुनै धर्मकर्मको आवश्यकता नपर्ने कुरा शास्त्रमा उल्लेख छ। रामायणमा एउटा प्रसंग छ- लंकामाथि विजय प्राप्त भैसकेपछि लक्ष्मणले रामसित त्यहीँ राज्य गरेर बस्न अनुरोध गरेका थिए तर रामले भाइलाई सम्झाउँदै त्यो कुरा अस्वीकार गरे। श्रीरामले भनेका छन्-'अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।।' यही वाणीले हामीलाई सधै आमाप्रतिको कर्तव्य सम्झना दिलाउँछ। आमाको छायाँ वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो। लोकोक्ति पनि छ -'अरूको लाख, आमाको काख' अर्थात् सन्तानका लागि आमाजत्तिको माया प्रदान गर्ने अरू कोही हुँदैनन्। हामी कुनै दुःख-कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं। आपनै अङ्गको कुनै भागमा चोट लाग्यो वा ठेस मात्र लाग्यो भने पनि 'ऐया आमा' भनिहाल्छौं किनभने हाम्रो अचेतन मनमा पनि आमाले दर्‍हो डेरा जमाएकी छिन्। यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता एवं संरक्षण पाइरहेका छौं। त्यसैले शास्त्रले 'मातृदेवो भवः।' भनेर पिता, आचार्य एवं अतिथिभन्दा पहिले आमाको सम्मान गर्न सिकाएको छ। त्यसैले आमालाई कुनै पनि हालतमा श्रद्धा एवं सम्मान गर्न चुक्नुहुँदैन। आमाको अपमान गर्दा वा अपशब्द बोल्दा घोर पाप लाग्छ। बरू सन्तान खराब हुन सक्छन् तर माता कहिल्यै खराब हुँदैनन् भनेर शास्त्रमा 'कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति।' भनिएको छ।

 

 

 

 

सेलिब्रेटी  छोरीको  नजरमा आमा

ज्योत्स्ना सिंह आमा

उपासना सिंह गीतकार


मेरी मम्मी मेरो प्रेरणाकी स्रोत हुनुहुन्छ साथै उहाँ मेरा सबै सुख-दुःख बाँड्ने साथी पनि हुनुहुन्छ। म उहाँबाट सल्लाह, सुझावका साथै प्रतिक्रिया पनि पाउँछु। केही कुरामा उहाँ पुरानो सोच त्याग्न सक्नुहुन्न। उहाँलाई अरूले यसो भन्ला, फलानो के सोच्ला भन्ने चिन्ता लाग्छ। कामको कुरामा हामी दुवै दृढ छौं। किनमेल, घर डेकोरेसन, रंग छनोट आदि कुरामा हामी बीच समानता छ। मेरो एल्बम सिर्जनाको श्रेय पनि उहाँलाई जान्छ। उहाँमा सकारात्मक सोच र कन्भिन्सिङ क्षमता छ। उहाँ सधंै चिटिक्क एवं सफा रहन रुचाउनुहुन्छ। उहाँको ड्रेसिङ सेन्स असाध्यै आकर्षक छ। आर्ट कलेक्टरका नाताले उहाँले संकलन गरेका प्राचीन वस्तुहरू उत्कृष्ट छन्। उहाँलाई हेरेर नै घर सिंगारौं, चिटिक्क पारेर साडी लगाऊँ जस्तो लाग्छ। उहाँले २५ जना अपाङ्गको शिक्षा र स्वास्थ्यका लागि सहयोग गरिरहनुभएको छ। उहाँको यो समाजसेवाले मलाई आकषिर्त गरेको छ। उहाँ गर्छु भनेको काम पूरा नगरी छाड्नुहुन्न। यसअर्थमा उहाँ अलि हठी पनि हुनुहुन्छ। 

म सानै छँदा आमा मलाई स्कुल लिन आउने, आफैं पुर्‍याउन जाने गर्नुहुन्थ्यो। समयमा टिफिनदेखि खाना सबै तयार गरिदिनुहुन्थ्यो। आमा भनेको जन्मदाता, कुशल गाइड, संहाल्ने, धैर्यकी प्रतिमूर्ति हुन्। उहाँबाट मैले धेरै कुरा सिक्न बाँकी छ। म भन्न चाहन्छु-'मम्मी, हजुरको सहयोग सधैं यसैगरी पाइरहूँ। यतिका वर्षपछि म सांगीतिक क्षेत्रमा फेरि आउन सक्नु हजुरकै देन हो। मेरा लागि हजुरले कति गर्नुभएको छ तर मैले हजुरका लागि केही गर्न सकेकी छैन ।'



चाँदनी जोशी आमा

सृष्टि जोशी

डिजाइनर तथा प्रोपराइटर मोनिज क्रियसन


मेरी मामु अमूल्य होइबक्सिन्छ। मलाई पहिलो शब्द र वाक्यसँगै अहिलेसम्म सुझाव र सल्लाह दिने साथीसमेत उहाँ नै होइबक्सन्छ। हामी सोलमेट हौं। उहाँले भन्न खोजेको र मैले भन्न खोजेका कुरा हामी दुवैजना सहजै बुझ्छौं। हामीलाई समान वातावरणमा हुर्काउने उहाँको महत्व र प्राथमिकता सधैं रह्यो। उहाँले सबै कुरा आफूले चाहेर गनुपर्छ भन्ने बोध हामीमा गराइबक्स्यो। अहिले आएर मैले उहाँका बारेमा लेख्दैछु। यस क्रममा कति विषय, प्रसंगहरू पूर्णरूपमा थाहा पाउने अवसर पाएकी छु। उहाँ सकारात्मक सोचले भरिपूर्ण होइबक्सन्छ यहाँसम्म कि हामीले हरेस खाएको कुरामा पनि आशाको किरण पाइबक्सन्छ। उहाँमा माफ गर्न सक्ने शक्ति प्रशस्त छ। झूटो बोलेको मामुलाई पटक्कै मन पर्दैन। उहाँको नराम्रो पक्ष भनेको बिरामी नै भए पनि फोनबाट म ठीकै छु भनिबक्सन्छ, अरूको पीडा, ठूला र महत्वपूर्ण समस्या हेर्दाहेर्दै आफूलाई बिर्सिने बानी छ।

हाम्रो परिवारमा १९९२ मा जुन घटना घट्यो त्यसले हामीलाई अझ नजिक र बलियो बनायो।  परिवारका लागि त्यति ठूलो विपत्ति आइपर्दा पनि म र मेरो भाइले केही गुमायौं भन्ने महसुस गर्न दिइबक्सेन। मेरो जेठो छोरा पाउने बेलामा उहाँ अत्यन्तै व्यस्त, त्यति नै बेला उहाँको थुप्रै कार्यक्रम थियो, मिटिङमा नेपाल आएर र्फकने क्रममा छुट्टनिे बेलामा म तिम्रो शिशु भएपछि भेट्छु भनेर जान खोज्दा म एकदमै रोएँ। त्यो देखेर उहाँ सबै काम छाडेर मेरो डेलिभरीसम्म बसिबक्स्यो। सुनामी प्रभावितका लागि उहाँको नाममा हाउजिङ बन्यो। ग्रामीण क्षेत्र र निणर्ायक तहलाई एउटै स्थानमा ल्याएर उहाँले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको क्षण सम्झनायोग्य छ। नेपालीले मात्र होइन, सार्क राष्ट्रका सबैले चाँदनी जोशी हाम्रै हो भन्छन्, जसले भेट्यो उसैले आफ्नै हो भनेजस्तो गर्छन्। उहाँ असाध्यै पारदर्शी, मोह नभएको, निःस्वार्थ भावना तथा लगनशील भएकाले अहिले यो स्थानमा होइबक्सन्छ।

मेरी मामुले फोन गरेर बाबा मेरो बैंककमा मिटिङ छ भनिबक्स्यो तर भोलिपल्ट बाबा मेरो अप्रेसन छ भनिबक्यो। त्यसबेला म अमेरिकामा थिएँ। दौडेर बैंकक आएँ। त्यसबेला मलाई पहिल्यै नभनेकोमा साह्रै चित्त दुखेको थियो। मलाई मेरी मामुले दिएको सबैभन्दा ठूलो उपहार भनेको मेरो सुन्दर जीवन, जहाँ र जतिबेला पनि सँगै भएको महसुस गराउने भावना अनि मेरो विवाहमा दिएको भिडियो क्यामेरा हो, जसमा उहाँले देखाएको मेरो प्रगतिका हरेक क्षण कैद गर्ने गरेकी छु।  म मामुका लागि आपना  शब्द यसरी दिन चाहन्छु-ँमेरी मामु, हजुर मेरो प्रेरणा, मेरो साहस, मेरा साथी, मेरो आदर्श, मेरो गुरु, मेरो ज्यान हजुरमा समर्पण छ।’



जानकी अधिकारी आमा

मोना अधिकारी

संस्थापक पि्रन्सिपल, मिल्स बेरी


मेरा लागि मम्मी नै सबै थोक हुनुहुन्छ। हरेक खुसी, दुःख, सजिलो, अप्ठ्यारो बाँड्ने साथी हुनुहुन्छ। मैले मेरी मम्मीसँग बिताएका प्रत्येक पल सुन्दर छन्। अप्ठ्यारो परिस्थितिमा पनि उहाँले मलाई ढाडस दिनुहुन्थ्यो। आफ्नो कर्तव्य पहिले पूरा गर भनेर सिकाउनुभयो। उहाँ समयअनुसार चल्न सक्ने भएर पनि संस्कार र संस्कृति छोड्नु हुँदैन भन्ने धारणा राख्नुहुन्छ। हामी साना छँदा अक्षर राम्रा भएनन् भने यसरी राम्रो बनाउनुपर्छ भन्नुहुन्थ्यो। उहाँले छोराछोरीमा कुनै भेदभाव गर्नुभएन। मेरो पढाइलगायत काममा प्रेरणा दिने, करियरमा झक्झक्याउने सबै काम मम्मीले नै गर्नुभएको हो। म युवावस्थामा कुन केटाले चिठी पठायो, कसले प्रस्ताव राख्यो भन्नेजस्ता सबै कुरा मम्मीसँग सेयर गर्थें। त्यसमा उहाँले सही निर्णय दिनुहुन्थ्यो। हाम्रो घरमा बत्ती बल्नुअघि नै पुगिसक्नुपथ्र्यो। हामीलाई स्याभी, कस्मो, पोजेटिभ थिङकिङ बुकहरू मम्मी आफैं पढ्न दिनुहुन्थ्यो। जिम्मेवारी, धैर्य तथा कर्तव्य निर्वाह गर्न सक्ने, कहिल्यै नरिसाउने बानी उहाँका विशेषता हुन्। स-साना कुरामा पनि असाध्यै केयर गर्ने, यद्यपि म व्रत बस्दा दिउँसो फोन गरेर आज के तरकारी खाने भनेर सोध्नुहुन्छ। त्यो केयरिङ नेचर उहाँमा प्रशस्त छ। उहाँलाई देख्नेबित्तिकै र उहाँसँग समस्या सेयर गर्नेबित्तिकै समाधान हुन्छ भन्ने अनुभूति हुन्छ मलाई। कतिपय अवस्थामा दादा -बुवा) र मम्मीको मनमुटाव पर्दा दादाको गल्ती छ भने पनि मम्मी मेरै गल्ती हो भनेर बस्नुहुन्छ। त्यो उहाँको चित्त नबुझ्ने पक्ष हो। अहिले उहाँहरू मानसिक, शारीरिक एवं सबै रूपमा सम्पन्न हुनुहुन्छ तर पनि सधैं उहाँको नजिक रहन पाए हुन्थ्यो भन्ने मनभित्र भैरहन्छ। श्रीमान्सँग सेयर नगरेका कतिपय कुरा म मम्मीलाई भनिरहेकी हुन्छु।

मम्मीले मलाई तिमीले यो राम्रो गर्‍यौ भनेर धेरै भन्नुहुन्न तर यो काममा यसरी सुधार गर भनिरहनुहुन्छ। व्यावहारिक पक्षमा मलाई उहाँ धेरै कुरा सिकाउनुहुन्छ। मेरो करियरको सुरुवात पनि उहाँकै करले भएको हो। अहिले त म पनि आमा भएकी छु, अब त अझ उहाँका लागि के गरौं, कसो गरौं भन्ने हुन्छ। अहिले म मेरा दुई शिशुकी मात्र नभएर करिब चार सय शिशुकी आमा हुँ। स्कुलका सबै बालबालिका मेरा आफ्नै सन्तानसरह छन्। उनीहरूको हरेक ग्र्याजुयसन म हेर्नै सक्दिन। सकेसम्म म टाढै बस्न रुचाउँछु। मेरो स्कुलकी प्रथम शिशु स्नेहा, ऊ अहिले रुपिजमा पढ्छे उसलाई भेट्न म सधैं आतुर हुन्छु। भेटेपछि छुट्टहिाल्नुपर्छ भनेर बोल्नै सक्दिन। मेरो विचारमा एउटी आमा आफैंमा पाठशाला हुन्, यसमा भौतिकभन्दा पनि भावनात्मक अर्थ लुकेको छ। म आफ्नी आमालाई भन्न चाहन्छु-'मेरी मम्मी, म तपाईंलाई धेरै माया गर्छु।'



कस्तूरी सिंह आमा

बन्दाना राणा अध्यक्ष, साथी तथा अधिकारीकर्मी


मेरी हजुरमुमा मेरी मुमा जन्मिएको दुई घन्टामै स्वर्गे हुनुभएको रे। उहाँले आफ्नी आमाबाट पाउने माया कस्तो हुन्छ भन्ने महसुस गर्ने पाउनुभएन र पनि मेरी आमाको हामीप्रतिको माया र दायित्व अन्य आमाहरूको भन्दा कम भएन। आफू उच्च शिक्षित नभए पनि घरमा पत्रपत्रिका आउनेबित्तिकै सबैभन्दा पहिले पत्रिका पढ्ने उहाँ नै हो। उहाँले आपना सन्तानको पढाइमा कुनै सम्झौता गर्नुभएन। त्यसबेलाको समाज, जुन समयमा पढाइको महत्व कम थियो। त्यस्तो समयमा पनि मुमाकै पहलमा मैले सेन्ट मेरिज जस्तो प्रतिष्ठित शैक्षिक संस्थामा पढ्ने अवसर पाएँ। पाठ्यक्रमबाहेक म उपन्यास धेरै पढ्थें। त्यतिबेला पनि मेरी मुमाले मलाई आवश्यक पाठ्यक्रम पढिरहेकी छ भन्ने सोचेर समय-समयमा मीठा परिकार पकाएर ल्याइदिनुहुन्थ्यो। मलाई अहिले ती क्षणहरू सम्झदा नराम्रो लाग्छ, गिल्टी फिल हुन्छ। उहाँको शिक्षाप्रतिको जुन महत्व र रुचि थियो आज म जे छु त्यसकै परिणाम हो। एक त आमाबुवाको माया-ममता नपाएको र अर्को तीनजना दिदीबहिनीबीच संघर्ष गरेर हुर्किएकाले उहाँका हरेक काम सशक्त थिए। हाम्रो घरायसी वातावरण पनि लैंगिकमैत्री थियो। दुई जना भाइ र हामी दुई छोरीमा कहिल्यै कुनै फरक भएन। मेरी मुमाले जति माया-ममता मलाई गर्नुभयो सोहीअनुरूप मैले उहाँलाई गर्न सकेकी छैन। यद्यपि जन्मदिनका बेला केही ल्याउन पर्दैन भनी फोन गर्नुहुन्छ। बिरामी परे वा केही आपत् परे आफैं गरौं भन्ने लाग्छ उहाँलाई। यसअर्थमा उहाँ एकदमै स्वावलम्वी र आत्मनिर्भर महिला हुनुहुन्छ। म भन्न चाहन्छु-'मुमा, हजुरकै योगदानका कारण आज म यो ठाउँमा पुग्न सफल भएकी हुँ।'



रिन्छेन योञ्जन आमा

सिर्जना सिंह योञ्जन

क्रियटिभ कन्सलट्यान्ट तथा संस्थापक/

निर्देशक क्रियटिभ स्टेटमेन्ट्स


मेरो मम्मी तुलनात्मक रूपमा परम्परागत आमा हुनुहुन्न। उहाँ समयभन्दा धेरै अघि जन्मिएजस्तो लाग्छ। सफल कलाकारकी श्रीमती भएर पनि उहाँले कहिल्यै आफूलाई आफ्ना श्रीमान्को छायामा रमाएर वा घमण्ड गरेर बस्नुभएन। अहिले आएर मात्र महिला सशक्तीकरणमा लागेकाहरू महिलाको स्व-अस्तित्वको यही विषयमा चर्चा गर्छन्। स्व-अस्तित्व भन्ने कुरा सायद मैले सानैदेखि देखेर, भोगेर आएकीले होला मलाई जहिले पनि आफ्नै अस्तित्वमा विश्वास छ जुन मलाई मेरी मम्मीबाट प्राप्त भयो।

नेपाली महिलाको चित्रण सहनशील, विनम्र, आफ्नो भावना दबाएर पनि अरूका अगाडि आदर्श छवि प्रस्तुत गर्नेका रूपमा भएको पाइन्छ। यस प्रकारको जुन बोझ नेपाली नारीमा छ त्यसले गर्दा मैले धेरै महिलालाई अगाडि एउटा पछाडि अर्को रूपमा पाएकी छु तर मेरी मम्मी स्पष्टवक्ता हुनुहुन्छ। आमाबाट मैले आफूसँग भएका ज्ञानगुनका कुराको पूर्ण प्रयोग गर्नुपर्छ, मैदानमा उत्रदा आफूभित्र भएको खुबीको प्रयोग गर्नुपर्छ। आफ्नो कार्यक्षेत्रमा उत्रदा मन, बचन र कर्मले आफूप्रति इमान्दार हुनुपर्छ भन्ने कुरा सिकें।

मेरो विवाहअघि उहाँले मलाई कतिपय कुरामा नियन्त्रण गर्न खोजेजस्तो लाग्थ्यो तर म आफैं आमा भैसकेपछि ती कुरालाई मनन गर्दा उहाँले त्यो नसिकाएको भए म आज यत्तिको सक्षम हुँदैनथें भन्ने लाग्छ। मेरो बुवाले जसरी स्वतन्त्र भएर संगीत सिर्जना गर्न पाउनुभयो त्यो मेरी मम्मीकै कारणले हो। मम्मीले बुवालाई आर्थिक बोझबाट मुक्त राख्नुभएको थियो। अहिलेका कलाकारले परिवारको आर्थिक बोझले गर्दा पनि पृथक् सिर्जना गर्न नसकेका हुन् कि ? भन्ने लाग्छ। महिला सशक्तीकरणमा लागेका महिलाहरूका लागि मेरी आमा उदाहरणीय हुनुहुन्छ। उहाँले अहिले विभिन्न काममा हात हालिरहनुभएको छ। उहाँ आफ्ना हरेक काममा मरेर लागिरहनुभएको छ म नै उहाँलाई कति भन्छु अब अलि कम गर्नू, तर उहाँ आफ्नो काममा दृढ हुनुहुन्छ। मेरी आमा मेरा लागि आमा, गाइड, वर्किङ पार्टनर, मेरा छोरीहरूका लागि एक भिन्नै किसिमकी हजुरआमा हुनुहुन्छ। म भन्न चाहन्छु-'मेरी आमा, म आज जे छु हजुरकै कारणले छु।'



रिना गौतम आमा

दीपा गौतम थापा फेसन डिजाइनर


संसारमा आमाभन्दा महान् र दयालु कोही हुँदैनन्। आमाबिना यो संसारमा आउने कल्पनासम्म गर्न सकिँदैन। बाल्यकालमा म मम्मीसँग बस्न पाइन, उहाँले मलाई मामाघरमा राखिदिनुभयो। मलाई माया नगरेर होइन कि उहाँलाई मेरो बढी माया लागेर। म ३ वर्षकी हुँदा मेरो भाइ जन्मियो। मेरो रेखदेख र हेरचाहमा कुनै कमी आउला भनेर उहाँले मलाई मामाघर पुर्‍याउनुभएको थियो। मामाघरमा बितेको थोरै समय पनि मेरो जीवनको सुन्दर पल बन्यो। भाइ र ममा कहिल्यै भेदभाव भएन। बरु भाइको भन्दा मेरो माग पहिले पूरा हुन्थ्यो। त्यो मेरी मम्मीका कारणले भएको हो। हाम्रो समाजमा बढेका छोरीलाई धेरै समय घरमा राख्न हुँदैन भन्ने चलन थियो तर मेरी मम्मीले मेरो विवाहका लागि कहिल्यै हतार गर्नुभएन। उहाँ मेरा प्रत्येक रोजाइसँग सहमत हुनुभयो। मेरो खुसीमा उहाँलाई असाध्यै खुसी र गर्व लाथ्यो। ड्याडी विदेश हुँदा पनि मम्मीले हामी दिदी-भाइको हेरचाह, शिक्षा-दीक्षा, लवाइखवाइलगायत सबै कुरामा कमी हुन दिनुभएन। जब म एउटी श्रीमती, आमा तथा गृहिणी भएँ तब मैले पनि विदेश पढ्न जाने अठोट गरें। त्यस्तो अवस्थामा मेरो प्रगति र खुसीका लागि मेरी मम्मीले आफ्नो घर-व्यवहारलाई एकातिर पन्छाएर मेरो घर-व्यवहार र मेरी छोरी जिम्मा लिएर बस्न राजी हुनुभयो। उहाँकै पहलमा हामी श्रीमान्-श्रीमती पढ्न विदेश गयौं। उहाँको यति ठूलो त्याग, बलिदान मैले जीवनमै भुल्न नसक्ने कुरा हो।

विदेशबाट अध्ययन पूरा गरी फर्किएपछि म आफ्नै व्यवसायमा केन्दि्रत छु। अहिलेसम्म पनि मेरो व्यवसाय र करियरमा कुनै रोकावट नआओस् भनेर मम्मीले नै मेरो घर-व्यवहार र मेरी छोरीको हेरचाह एवं रेखदेख गरिरहनुभएको छ। उहाँबिना म अपूर्ण हुन्छु। आज म जे छु उहाँकै त्याग र संघर्षका कारणले छु। भाइ विदेश भएका कारणले म पनि मम्मीप्रतिको जिम्मेवारी पूरा गर्ने प्रयासमा छु तर उहाँले मेरा लागि गरेको त्यागका अगाडि मेलै जति गरे पनि कम हुन्छ। उहाँ हिजो पनि मेरा हरेक क्षणमा साथै हुनुहुन्थ्यो र आज पनि हुनुहुन्छ। अबको मेरो इच्छा भनेको भोलिका दिनमा पनि मेरी मम्मी मसँगै रहनुहोस् भन्ने हो। आमाको त्याग, बलिदान, माया एवं ममतामा कुनै स्वार्थ हुँदोरहेनछ भन्ने कुरा मैले मेरी मम्मीलाई देखेर भन्न सक्छु। हरेक आमा आफ्ना सन्तानको खुसी सिवाय अरू केही चाहँदैनन् भन्ने कुरा पनि मैले उहाँबाट सिकेकी छु। म भन्न चाहन्छु-'मम्मी, हजुर मेरो सुख-दुःखलाई नजिकबाट हेर्न सक्ने एक मात्र असल साथी हुनुहुन्छ।'



लक्ष्मी अधिकारी आमा

केकी अधिकारी नायिका


मेरी आमा मेरी अभिभावक एवं नजिककी साथी हुनुहुन्छ। म हरेक काम उहाँसँग सेयर गर्छु। आजको दिन यसरी बित्यो भन्ने कुरा बेलुका उहाँसँग सेयर नगरी बस्न सक्दिन। आज म जे छु वा भविष्यमा जे हुनेछु त्यसको कारक मेरी आमा नै हुनुहुन्छ। आमा र ममा धेरै कुराको समानता पनि छ, उहाँ जुन लवजमा बोल्नुहुन्छ म त्यही लवजमा बोलिरहेकी हुन्छु। हामीबीच कुनै पनि वस्तुप्रतिको दृष्टिकोणमा पनि समानता छ। कुनै स्पेशल कार्यक्रममा जानुछ भने लगाउने पहिरनदेखि जुत्ता र ब्यागसम्ममा आमाले निर्णय गरिदिनुहुन्छ त्यसपछि म विश्वस्त हुनसक्छु कि यो कार्यक्रमका लागि यी वस्तु उपयुक्त छन्। मेरो व्यक्तिगत तहमा कुनै समस्या आयो भने अरूले साथी वा अरू कसैलाई भन्लान् तर म आमालाई नै भन्छु। आमाले समाधानको जुन बाटो देखाउनुहुन्छ म त्यही अपनाउँछु। यो क्षेत्रमा पनि मैले पहिलो सहयोग पाएको आमाबाटै हो। केही नभने पनि मेरी आमाले मेरो भावना बुझ्नुहुन्छ। कुनै कारणले ममा तनाव भएको छ भने मैले नभन्दै उहाँलाई आफै थाहा हुन्छ र तनावमुक्त हुने वातावरण सिर्जना गरिदिनुहुन्छ। मैले कुनै व्यक्ति वा वस्तुप्रति नकारात्मक भावना राखिहाले पनि उहाँले त्यसलाई सकारात्मक बाटो देखाइदिनुहुन्छ। उहाँको हाँसो लाग्छ कुनै जादू हो, घरमा कुनै समस्या उत्पन्न भए त्यसलाई पनि हाँसेरै समाधान गर्नुहुन्छ, जसले सकारात्मक ऊर्जा दिन्छ। हरेक कुरामा मैले धेरै माया पाइरहेको अनुभव गराउनुहुन्छ उहाँ। मेरो सुटिङको बेलामा ३-४ बजे भए पनि उठेर खाजा बनाई ख्वाएर मात्र पठाउनुहुन्छ जसले मेरो स्वास्थ्य फिट छ। उहाँको अर्को महत्वपूर्ण पक्ष भनेको हरेक वस्तुलाई सन्तुलित बनाएर लान सक्नु हो जुन कुरा मैले अझै सिक्न बाँकी छ। मेरो पढाइको मामिलामा पनि उहाँ गम्भीर हुनुहुन्छ। पढाइमा म हरेक वर्ष डिस्टिङसन होल्डर हुँ र मिडियामा पनि राम्रै गरिरहेकी छु। म यसरी अघि बढ्न सक्नु पनि उहाँकै देन छ। उहाँ मीठो पकाउनुहुन्छ, परिवारलाई सधै खुसी राख्न सक्नुहुन्छ त्यो पनि उहाँको खुबी हो। उहाँको सरलता मलाई राम्रो लाग्छ। सादा जीवन उच्च विचारमा रमाउने मान्छे-हो उहाँ। भविष्यमा जतिसुकै प्रगति गरे पनि असल व्यक्ति बनोस् भन्ने मप्रतिको उहाँको आशालाई मैले बुझेकी छु। म उहाँप्रतिका आपना भावना यसरी व्यक्त गर्न चाहन्छु-'आमा, म अहिलेसम्म जे छु तपाईंकै कारणले छु, भविष्यमा मेरो कुनै पनि कामले गर्व महसुस गराउँछ र तपाईंले अरूसँग यो  मेरी छोरी हो भन्न सक्ने स्थिति बन्न सक्यो भने त्यो नै मेरा लागि सबैभन्दा ठूलो सफलता ठहरिनेछ।' 



राधा प्रधान आमा

सपना प्रधान मल्ल

वरिष्ठ अधिवक्ता तथा सभासद्


आमा मेरी प्रेरणाकी स्रोत हुनुहुन्छ। उहाँले पहिले मलाई कानुन पढ्छु भन्दा साइन्स पढ्नुपर्छ भन्नुभयो। पछि मलाई कानुन पढ्न र मेरो इच्छा परिपूर्ति गर्न सहयोग पुर्‍याउने पनि उहाँ नै हुनुभयो। मेरी आमा एक्ली, पुल्पुलिएकी, काठमाडौंकी छोरी भए पनि तराईमा घुलमिल भएर, परिवारका लागि सबै कुरा त्याग गर्नुभयो। त्यसबेला पनि उहाँ स्वरोजगार, आर्थिक रूपमा सम्पन्न तथा आत्मनिर्भर हुनुहुन्थ्यो। आमाको आर्थिक निर्भरताले गर्दा सबै सन्तानलाई काठमाडौंमा राखेर पढाउने हिम्मत गर्नुभयो। फलस्वरूप हामी पनि एउटा पेसामा दक्ष भएर अघि बढ्न सक्यौं। मभन्दा माथि दुई दिदी, मेरा अभिभावकलाई छोरा हुन्छ भन्ने रहेछ, म जन्मिसकेपछि मेरो बुवाले मरे पनि हुन्छ, भन्नु भयो रे। त्यस्तो परिस्थितिमा पनि आमाले धैर्य गरेर मलाई यो ठाउँमा पुर्‍याउन दरिलो खम्बा बनेर साथ दिनुभयो। श्रीमान्को छोरा पाउने आशा कुण्ठित हुँदा पनि आमाले मलाई हुर्काउने, बढाउने, योग्य बनाउने कुरामा कुनै सम्झौता गर्नुभएन।

पीडितहरूलाई हेर्ने र सुखदुःख बाँड्ने स्वभाव हाम्रो परिवारमा कि आमामा छ कि ममा छ। ८० वर्षकी मेरी आमामा अहिले सम्म पनि उत्तिकै जाँगर, जोस, आँट एवं जागरण छ। ताजियाको मेलामा बन्डी र कट्टु मात्र लगाएर गएकी भनेर गाली खाएको क्षण म कहिल्यै भुल्न सक्दिन। मेरी आमा हामीभन्दा धनी, आर्थिक रूपमा सशक्त विगतका दिनमा हामीले उहाँका लागि केही गर्नैपर्दैनथ्यो तर अहिले अवस्था फरक छ। मेरो एउटै चाहना छ-आमा एकै ठाउँमा स्थिर भएर बसिदिए हुन्थ्यो। उहाँ कहिले परासी, कहिले काठमाडौं कहिले कता-कहिले कता हिँडिरहनुहुन्छ। हुन त आमाको काम नै त्यस्तै छ। नवलपरासीमा रेडक्रस स्थापना भएदेखि महिलालाई आर्थिक रूपमा सशक्त बनाउने विविध सामाजिक काममा उहाँको सक्रियता अझ घटेको छैन। आमाले अब आराम गरे हुन्थ्यो भन्ने लाग्छ। उहाँ मेरो समाजसेवा एवं राजनीतिक प्रेरणा हुनुहुन्छ। आमा २००७ सालमा गणेशमानको व्यक्तिगत सचिव भएर काम गरेकी एवं प्रजातान्त्रिक आन्दोलनमा हिँडेकी हुनाले मलाई राजनीतिमा सक्रिय हुन सहयोग मिल्यो। मेरी आमा अलिकति जिद्दी हुनुहुन्छ। आफूले भनेको कुरा गर्नैपर्ने स्वभाव छ। म आमालाई केही आग्रह गर्न चाहन्छु-'आमा, तपाईं कहिले समाजका लागि बाँच्नुभयो, कहिले परिवारका लागि बाँच्नुभयो, अब आफ्ना लागि पनि केही समय बाँचिदिनुहोस्, आफ्नो खुसी पनि हेरिदिनुहोस्।'



रेनु थापा आमा

विमला थापा

प्रहरी नायब महानिरीक्षक, प्रहरी प्रधान कार्यालय


मेरी मुमा अत्यन्तै आदर्श र बोल्ड हुनुहुन्छ। आमा नभएको भए आज म यो दर्जामा हुँदिनथें। उहाँले कुनै औपचारिक शिक्षा लिनुभएको छैन र पनि स्वस्थानी, भागवत, कृष्णचरित्रजस्ता ग्रन्थ पढ्नुहुन्थ्यो। मलाई उहाँले गैंडा चुरोटको झिलझिले कागजमा गोलले क-ख लेखेर पढाउनुभएको थियो। त्यतिबेला पनि बुवा, हजुरबुवाहरूसँंग आफ्नो अधिकारका लागि बोल्नुहुन्थ्यो। मेरा मामा ४-५ कक्षा पढेको व्यक्ति म उहाँका पुस्तक चोरी-चोरी पढ्थें रे। उहाँले मलाई धार्मिक पुस्तक पढ्न पनि सिकाउनुभयो। म पुस्तकहरू पढ्नमा रुचि राख्थें। छोरीलाई पढाउनुपर्छ भनेर मुमाले नै हजुरबुवालाई भर्ना गर्न पठाउनुभएको थियो। मलाई हजुरबुवाले १ कक्षामा भर्ना गरिदिनुभयो। त्यसपछि ४-५ कक्षाका पुस्तक राम्रोसँग पढ्न सक्ने मेरी छोरीलाई १ कक्षामा भर्ना गरिदिने भनेर मेरी मुमा रिसाउनुभयो। हाम्रो परिवारमा कहिल्यै छोरा र छोरीबीच भेदभाव भएन। मेरी मुमाको निडरपन मलाई विशेष लाग्छ। स्कुल जाँदा म लुगासँगै खोलामा हाम फाल्थें अनि घर आएर उहाँको गाली खान्थें। उहाँ मलाई हरबखत सही कुरामा झुक्नु हुँदैन भनेर सिकाइरहनुहुन्थ्यो। पढाइ, करियर वा अन्य कुनै ठूलो निर्णयमा मुमा सधैं  मेरो सहयोगी हुनुहुन्थ्यो। म धेरै बोल्छु, मेरी मुमा पनि धेरै बोल्नुहुन्छ। उहाँले त्यो बानी अलि कम गरे हुन्थ्यो जस्तो लाग्छ। मैले सधंै उहाँलाई प्राथमिकतामा राखेकी छु। जहाँ भए पनि प्रत्येक दिन म मुमालाई फोन गरिरहेकै हुन्छु। मेरो भित्री इच्छा उहाँ मसँगै बसिदिए हुन्थ्यो भन्नेछ तर उहाँ छोरीकहाँ बस्नुहुँदैन भन्नुहुन्छ। सकेसम्म उहाँका हरेक इच्छा र आवश्यकता पूर्ति गर्ने प्रयास गरिरहेकी छु। मेरो विचारमा आमा भनेका भगवान्कै रूप हुन्। यसलाई परिभाषित गर्न गाह्रो छ। उहाँ बिना मेरो अस्तित्व नै हुँदैनथ्यो। मैले गरेको काममा मुमा सधैं खुसी हुनुहुन्छ। मप्रतिको ममताका कारण मेरो जागिर र मेहनत देखेर उहाँ अब आराम गर भन्नुहुन्छ। उहाँको त्यो भावना म बुझ्छु तर मेरो काममा उहाँलाई उत्तिकै गर्व पनि छ। आमाको मुख हेर्ने दिन म उहाँलाई भन्न चाहन्छु-'मुमा, मेरा लागि हजुर भगवान् हो। मदर्स डे मात्र होइन हजुरको सधैं पूजा गर्न पाऊँ र सधैं सँगै रहन पाऊँ। म आज जे छु त्यो हजुरकै देन हो।'

 

 

छोराको नजरमा आमा

विन्देश्वरी शाह, आमा

अनिल शाह

कार्यकारी प्रमुख, मेगा बैंक


आज म ४४ वर्षको भएँ। मुमा मेरो विगत, वर्तमान र भविष्यका लागि शक्ति र सिद्धान्तको खम्बा होइबक्सिन्छ। जब म सानै थिएँ बुवा-मुमा दुवै काममा व्यस्त, म यही कालीमाटीको घरमा मेरी हजुरमुमासँग बस्थें तर म जब ७ वर्षको भएँ मुमालाई सरकारले बंगलादेशका लागि नेपाल राजदूतावासको इन्चार्ज बनाएर पठायो। त्यतिबेला म मुमासँगै बंगलादेश गएँ। मलाई सबै महिला मेरी मुमाजस्तै सशक्त, कर्मठ र धैर्यवान हुन्छन् भन्ने लाग्थ्यो। मेरी हजुरमुमालेे त्यो बेलामा पनि मेरा बुवा र मुमालाई अन्तरजातीय विवाह गर्ने अनुमति दिइबक्स्यो तर सबै अभिभावकले त्यसो गर्न नदिएको मैले देखेको छु। मेरो वर्तमानको रंग विगतले निर्देश गरेको छ। ममा भित्रैदेखि महिलाप्रति सम्मान र श्रद्धा छ जुन मलाई मेरी मुमाले नै सिकाइबक्सेको हो। मुमाले जहिले पनि धन-दौलत, सुन-चाँदी, सम्पत्ति मैले दिने होइन, शिक्षा दिने हो भनिबक्सन्थ्यो। त्यसको फलस्वरूप आज अनिल शाह अनिल शाह भएको हो। मेरो परिभाषामा आमा भनेको माया हो, माया भनेको खुसीको स्रोत हो। पूरै संसार मेरो विपरीत गयो भने पनि आमाको माया पाइरहने दृढ विश्वास ममा छ। मलाई जहिले पनि उहाँलाई पर्याप्त समय दिन नसकेको कुरा खड्किरहन्छ। उहाँ आर्थिक रूपले सशक्त होइबक्सिन्छ, आफैं टिकट किनेर अहिल्यै अमेरिका जान सक्ने हैसियत छ उहाँमा तर उहाँसँग बसेर गफ गरिदिने, उहाँको भावना सुनेर बुझिदिने मान्छेको अभाव छ। यस्तो अवस्थामा पनि मैले उहाँलाई चाहेजति समय दिन सकेको छैन। मेरी मुमा कामको कदर गर्ने, चुनौतीको सामना गर्न सक्ने र स्वावलम्वी व्यक्ति होइबक्सिन्छ। उहाँलाई हेरेर म पनि हरेक समस्याको सामना गर्न सक्छु भन्ने प्रेरणा मिल्छ। उहाँका लागि म यत्ति भन्न चाहन्छु-'मुमा, म आज जे छु, जहाँ छु हजुरकै आशीर्वादले छु र भोलि म जहाँ पुग्छु हजुरले नै दिएको ज्ञान र उपदेशका आधारमा पुग्छु। मेरो जिन्दगीमा हजुरको मायाभन्दा महत्वपूर्ण वस्तु अरू केही छैन।'



विमला शाह आमा

महेशविक्रम शाह एसएसपी

आमा मानव जीवनकी स्रष्टा हुन्। आमा धर्ती हुन् जसले बीजलाई आफ्नो गर्भमा राखेर जीवन अंकुराउँछिन्। मेरी आमा पनि मेरा लागि कथाकाररूपी स्रष्टा हुन् जसले एउटा कथाका रूपमा मेरो सिर्जना गरेकी छिन्। जब मैले आमालाई अनुभूति गर्न पाएँ, मेरा लागि सधैं स्नेहशील, ममतामयी र मेरा हरेक सुख-दुःखमा साथ दिने साथीका रूपमा भेट्टाएँ। जेठोबाठो छोरा भएकाले पनि होला मेरी आमा मप्रति विशेष संवेदनशील हुनुहुन्छ। बाल्यकालदेखि अहिलेसम्म म प्रतिको मेरी आमाको व्यवहारमा कुनै परिवर्तन छैन। म अहिले पनि आमाका लागि काखमा लुटुक्क निदाउने बालक हुँ। त्यसैले मलाई सधैं आमाको सान्निध्यमा रहने प्रेरणा प्राप्त हुन्छ।  मेरी आमाको जीवन संघर्षमय छ। मलाई मेरी आमा मैक्सिम गोर्कीको 'आमा' उपन्यासकी आमा पात्र निलोभ्नाझैं लाग्छिन् जो हरक्षण आफ्नो छोरालाई जीवनका हरेक समस्यासँग संघर्ष गर्ने प्रेरणा दिइरहन्छिन्।                         

अछाम जिल्लाको विकट गाउँमा आमाले म लगायत भाइ-बहिनीहरूको पालनपोषण गर्नुभएको थियो। मेरो कथा संग्रह सिपाहिकी स्वास्नीका दुईवटा कथा 'किमधाराको खर्क' र 'खोरभित्रको घर' ले मेरी आमाको संघर्षमय गाथालाई समेटेको छ। अछामको कठिन जीवन यात्रालाई कैलाली जिल्लासम्म निरन्तरता दिँदै हामीलाई राम्रो शिक्षा दिने वातावरण तयार पार्न सफल उहाँको त्यो संघर्षशील व्यक्तित्वबाट प्रेरित भएर होला मैले आपनो जीवन पनि संघर्षमय भएको अनुभव गरेको छु।

मेरी आमा धेरै भावुक हुनुहुन्छ। दया, करुणा र वात्सल्य उहाँका स्वभावगत गहना हुन्। सानो मीठो कुरा छ भने पनि बाँडेर खानु, गरिबहरूको दुःख देख्न नसक्नु र तिनीहरूको पीडामा सधैं मल्हमपट्टी लगाउन तत्पर हुनु मेरी आमाका विशेषता हुन्। आमा भन्नुहुन्छ-'नारीले परिआएका बखत मालिक र चाकरका दुवै भूमिका निर्वाह गर्न सक्नुपर्छ।' उहाँको यही विशेषताले हाम्रो परिवार सुखी र सम्पन्न हुन सकेको छ।

मलाई जहाँसम्म ज्ञान छ मैले आमाको चित्त दुख्ने त्यस्तो कुनै गल्ती गरेको छैन। स्कुलमा पढ्दा एकपटक आमाको ब्यागबाट २० रुपैयाँको नोट चोरेर मेला गएको थिएँ। त्यो घटनाबाट आमा धेरै दुःखी हुनुभएको थियो। त्यसपछि मैले आमाको चित्त दुख्ने काम कहिल्यै गरिन। मेरी आमा कान्छी छोरी भावना शाहको २० वर्षको कलिलो उमेरमै देहावसान हुँदा लागेको चोटबाट मुक्त हुन सक्नुभएको छैन। उहाँ अहिले कैलाली जिल्लामा ९० वषर्ीया सासूको स्याहार-सुसार गर्दै दिन बिताइरहनुभएको छ। आफ्नो परिश्रमले जोडेको गाउँको जमिन र घरबारलाई उहाँ आफूभन्दा बढी माया गर्नुहुन्छ। घर वरिपरि लगाएका रुख-बिरुवाहरू, फलफूलको बगैंचा, करेसाबारी, खेतका कान्लाहरूका साथै आफूले रोपेका वर-पीपल र धुलाम्मे गोरेटाहरूभित्रको परिवेश नै मेरी आमाको वास्तविक संसार हो  जहाँ उहाँ आत्मादेखि नै रमाउनुहुन्छ र आफूलाई सन्तुष्ट पाउनुहुन्छ। आमाको मुख हेर्ने दिन म भन्न चाहन्छु-'आमा, म हजारौं जन्ममा पनि हजुरकै कोखबाट जन्मिन पाऊँ।'  



नीर कमल ताम्राकार आमा

प्रशान्त ताम्राकार

कोरियोग्राफर तथा 

प्रबन्ध निर्देशक, वीज इन्टठरनेसनल

मेरा लागि मेरी आमा सबैभन्दा बढी नजिककी साथी हुनुहुन्छ। मेरो मुखबाट दिनभरिमा सबैभन्दा बढी उच्चारण हुने शब्द नै आमा हो। मेरो कमजोरी भनेको नै आमाको अनुहारमा निराशा देख्नु हो। उहाँ सधै प्रसन्न देखिनुहुन्छ। कहिलेकाहीँ काममा निस्कनुअघि बिहान उहाँलाई उदास देख्नुपर्‍यो भने दिनभरि मेरो मुडअफ हुन्छ। उहाँका हरेक कुरा मलाई मन पर्छन्। उहाँको हाँसो एवं खुसी देख्दा नै मलाई रमाइलो हुन्छ। उहाँलाई बोलिरहनुपर्छ। उहाँको बोलीमा लभिङ, गिभिङ, केयरिङ सबै स्वभाव छ। आमालाई घरमा नदेख्दा नरमाइलो लाग्छ, घर उजाड र सुनसान लाग्छ। आमा नहुँदा घरमा केही अधूरो-अपूरो भएझैं लाग्छ। बाल्यकालदेखि अहिलेसम्म उहाँकै कथा सुनेर हुर्कियौं। बीसौं पटक सुने पनि त्यही कुरा सुन्न रमाइलो लाग्छ। उहाँको टिनएजमै विवाह भयो। त्यो एज इन्जोय गर्न पाउनुभएन। त्यो अहिले हामीले फुलफिल गर्दैछौं।

मेरो सबैभन्दा ठूलो फ्यान भनेकै मेरी आमा हुनुहुन्छ। आमाले गरेको निर्णयमा मलाई सन्तुष्टि मिल्छ। पत्रपत्रिकामा मेरो तस्बिर प्रकाशित हुँदा सबैभन्दा खुसी आमा नै हुनुहुन्छ। सानैमा विवाह भएकाले उहाँले एसएलसीपछि अध्ययनलाई निरन्तरता दिन सक्नुभएन तर उहाँले हामीलाई पढाउने कुरामा कहिल्यै सम्झौता गर्नुभएन। आमाको महत्व त छँदैछ, आमाले बोलेपछि मलाई पुग्थ्यो, कुनै पनि हालतमा उहाँको आदेश पूरा गर्ने प्रयास गर्थें। आमा शब्दको परिभाषा दिन गाह्रो छ तर मेरी आमाको स्तर भगवान्सँग तुलना गर्छु। उहाँ अत्यन्तै सकारात्मक हुनुहुन्छ। कुनै अप्ठ्यारो पर्दा पनि सधै काँध थाप्नुहुन्छ। सधैं मेरो पक्षमा हुनुहुन्छ। अरूलाई राम्रो गरे आफूलाई पनि राम्रो हुन्छ भन्ने कुरा मैले उहाँबाट सिकेकी हुँ। सहनशील र हरेक परिस्थितिमा धैर्य गर्न सक्ने उहाँको क्षमता अवर्णनीय छ। म आमालाई भन्न चाहन्छु-'आमा, शब्दमा व्याख्या गर्न गाह्रो छ तर यति भन्न चाहन्छु- म आपना हरेक पलमा तपाइर्ं महसुस गर्छु।'



चण्डिका गौतम आमा

अमीर गौतम नायक तथा मोडल


मम्मी मेरी प्रेरणा हुनुहुन्छ। उहाँको संगीत र कलाप्रतिको रुचिकै कारण मैले यो क्षेत्रमा सफलता पाएँ। व्यापारी बुवालाई यो क्षेत्र त्यति मन पर्दैन्ाथ्यो तर मम्मीको पहलले म आज सफल छु। म एक्लो छोरो भएकाले होला मेरी आमा मलाई सधै आफ्नो आँखा अगाडि देख्न चाहनुहुन्छ। उहाँ विगतदेखि नै समाजसेवामा सक्रिय हुनुहुन्छ र लेखिका पनि हुनुहुन्छ। मलाई राम्रो मार्गमा डोर्‍याउने मम्मी नै हुनुहुन्छ। मलाई धेरै सहयोग गर्ने भएकाले बाहिर बस्दा म प्रायः होमसिक हुन्छु। उहाँ सकारात्मक सोचले भरिपूर्ण हुनुहुन्छ। मेरी मम्मीका विशेषता अरूको कुरालाई पनि सही देख्ने, अरूलाई सहयोग गर्ने, निश्चल, निःस्वार्थी, अर्काको खराब कुरा सुन्न नरुचाउने आदि हुन्। मलाई मम्मी रिसाएको, उहाँले गाली गरेको एकदम मन पर्छ। उहाँ धैर्य र सहनशीलताकी प्रतिमूर्ति हुनुहुन्छ। मेरी मम्मी धर्मकर्ममा पनि विश्वास गर्नुहुन्छ।

आमाबिनाको जीवन म कल्पना पनि गर्न सक्दिन। आमाबिना बाँचेकाहरूलाई देख्दा मेरो मन पोल्छ । मलाई उनीहरूको जीवन अत्यन्त कठोर हुन्छ जस्तो लाग्छ। मेरो पढाइका लागि उहाँ असाध्यै गम्भीर हुनुहुन्थ्यो। कहिलेकाहीँ म पढ्न जाने भनेर स्वीमिङ, भलिबल खेल्न जान्थें घर फर्किएर स्कुल गएर आएको भन्थें, आमा काखमा राखेर टाउको मालिस गरिदिँदै मलाई निदाउने बनाउनुहुन्थ्यो। त्यसरी आमासँग झूटो बोलेको सम्झदा अहिले पश्चाताप हुन्छ। आमाको कोखमा नौ महिना बसेर यो धर्तीमा जन्म लिनु मात्र ठूलो कुरा होइन, आमा पाएर पनि महत्व नबुझेकाहरू यो संसारमा धेरै छन्। आमाप्रतिको दायित्व, जिम्मेवारी र कर्तव्य निर्वाह गर्न सक्नु नै आमाको महत्व बुझ्नु हो। मेरी आमाका लागि म शब्दसुमन यसरी टक्र्याउन चाहन्छु-'मम्मी, म जीवनका हरेक पाइलामा, हरेक क्षणमा तपाईंको साथ चाहन्छु। आज म जे छु त्यो मात्र तपाईंको कारणले भएको हो। मेरो सबैभन्दा ठूलो उपलब्धि तपाईंलाई पाउनु हो। यदि तपाईं गर्वका साथ छाती फुलाएर संसारलाई यो मेरो छोरा हो भन्न सक्ने  हुनु भयो भने त्यो नै मेरो जन्मको सार्थकता हुनेछ।'



कलावती विष्ट आमा

दीपक विष्ट ओलम्पियन, तेक्वान्दो खेलाडी


मेरी आमा गृहिणी हुनुहुन्छ। सानैमा विवाह भएकी टिपिकल गाउँले आमातर अहिले आएर हाम्रो पुस्ताको चाहना, भावना, इच्छा सबै बुझ्न सक्ने क्षमता छ उहाँमा। मेरा लागि मेरी आमा मायाकी प्रतिमूर्ति हुनुहुन्छ। उहाँ सधैं मेरो दुःखमा दुःखी र मेरो खुसीमा रमाउने आमा हो। कसैको चित्त नदुखाउने, सबैसँग राम्रो व्यवहार गर्ने, मेरा साथीभाइहरूप्रति पनि छोराकै व्यवहार गर्ने, गुरुहरूलाई गुरुकै व्यवहार गर्ने उहाँका विशेषता हुन्। त्यसबाहेक उहाँ जस्तोसुकै परिस्थितिमा पनि खुसी रहनुहुन्छ। आजसम्म कसैले मेरी आमालाई नराम्रो भनेको सुन्नुपरेको छैन। मैले खेलकुदको सिलसिलामा आमासँग धेरै झूटो बोलेको छु। स्कुलबाट आएपछि पढ्नुपर्ने, काम गर्नुपर्ने तर म ढाँटेर खेल्न जान्थें। मलाई आजसम्म उहाँले चित्त दुखाएको सम्झना छैन। उहाँले मलाई खेलकुदमा भन्दा पनि पढ्नमा कर गर्नुहुन्थ्यो। मेरो भने खेल्नमै रुचि थियो। एकपटक दिनभरि हलो जोतेर बेलुका घर फर्किएपछि जामुन टिप्न रुखमा चढ्न थालेको के थिएँ। आमा नचढ भनेर कराउँदै आउनुभयो। म जिद्दी गरेर रुखमा चढें तर रुखबाट लडेर हात भाँच्चियो। पछि आमाको कुरा नमानेकोमा पश्चाताप भयो। सबै सन्तानलाई समान व्यवहार गर्ने, सबैलाई पढ्नमा जोड दिने, कामलाई ठूलो मान्ने उहाँको पुरानो बानी हो। मेरी आमाले सबैको आँखाको नानी भएर रहनुपर्छ भन्नुहुन्थ्यो। मलाई यति बलियो बनाउन उहाँको ठूलो हात छ। शिक्षामा बुवाको ठूलो हात भए पनि मेरो करियरमा मलाई सहयोग गरी बलियो बनाउने आमा नै हो। आमाको परिभाषा अपरम्पार छ । आमा नभए यो संसार र हाम्रो जीवन नै छैन। आमालाई चारधाम लाने, देश-विदेश घुमाउने रहर छ। मैले देखेका प्रत्येक ठाउँं आमालाई पनि देखाउन पाए हुन्थ्यो भन्ने लाग्छ। मेरो सबैभन्दा ठूलो चाहना भनेको आमालाई जीवनभर खुसी राख्ने हो। मेरी आमा मेरा हरेक कुरामा विश्वास गर्नुहुन्छ। मेरी आमा भावुक र अत्तालिने हुँदा सुखका कुरा बढी सेयर गर्छु। मेरो जीवनको पहिलो प्राथमिकता भनेकै आमा हो। म मेरी आमाको सुख, स्वास्थ्य एवं दीर्घायुको कामना गर्दै अर्को जन्ममा पनि उहाँकै कोखबाट यही धर्तीमा जन्मिन चाहन्छु।



अमृतदेवी ताम्राकार आमा

डा शरदमान ताम्राकार

मनोचिकिस्त्सक, नर्भिक अस्पताल


मम्मीबाट मैले मेहनत गर्ने, सही बाटोमा हिँड्ने, कसैको कुभलो नचिताउने र राम्रो मान्छे बन्नुपर्छ भन्ने प्रेरणा पाएको छु। मेरी मम्मी परम्परागत आमा हुनुहुन्छ र पनि उहाँ सधै नयाँ कुरा सिक्न खोज्नुहुन्छ। उहाँ सबैसँग घुलमिल हुन सक्नुहुन्छ। लगनशील भएर कुशलतापूर्वक परिवारको जिम्मेवारी निर्वाह गर्नुहुन्छ। उहाँमा व्यवस्थापकीय क्षमता छ। सबैका प्रति समान दृष्टि राख्नेे, सबैको भलो चाहने गुण उहाँमा छ। जे काम गरे पनि मलाई प्रेरणा दिने, मेरो काममा नाइनास्ती नगर्ने उहाँको पहिलेदेखिकै बानी हो त्यो अहिलेसम्म पनि कायमै छ। उहाँको मप्रतिको विश्वासकै कारण म अहिले सफल डाक्टर भएको छु। उहाँ स्वास्थ्यप्रति सजग हुनुका साथै योग प्रशिक्षक पनि हुनुहुन्छ। कहिल्यै नाइँ नभन्ने, जे कुरामा पनि एस वुमन उहाँको ट्याग हो। उहाँको सोझो स्वभावले गर्दा झूटो बोल्नुपर्ने अवस्था कहिल्यै आएन। कहिलेकाहीँ यसो बाहिर गइहालौं, केही सिकिहालौं, आफ्ना लागि पनि समय निकालौं भन्ने छैन, त्यो उहाँको कमजोरी हो। नयाँपुस्ताको रुचिअनुसार काम गर्न दिनुपर्छ भन्ने उहाँको सोचले हाम्रो परिवार सफल भएको छ। आमाबिना मेरो कुनै औचित्य छैन। आमा सृष्टिका सर्जक हुन् । मेरा लागि भगवान् भनेकै मेरी मम्मी हुनुहुन्छ। म डाक्टर भए पनि उहाँ मैले दिएको औषधि खानुहुन्न। उहाँका डाक्टर अर्कै हुनुहुन्छ, म त छोरा मात्र हुँु। मम्मीका लागि शब्दोपहार यसरी अर्पण गर्न चाहन्छु-'मम्मी, तपाईं मेरा लागि सबै कुरा हुनुहुन्थ्यो, हुनुहुन्छ र रहिरहनुहुनेछ। मेरो परिश्रम र दुःखले आर्जिएको मेरो कामलाई नै उपहारका रूपमा ग्रहण गरिदिनुहोला।'



स्व तुलसादेवी दाहाल आमा

सुशील दाहाल

प्रवन्ध निर्देशक, ओरियन्ट कलेज


म मेरी आमाको वर्णन एकै शब्दमा गर्न सक्दिन। म आज जे छु त्यसको प्रेरणा र सफलताको स्रोत मेरी आमा नै हुनुहुन्थ्यो। आमाबिना म आफूमा जे कुराको कमीको महसुस गर्छु त्यो अपूरणीय छ। एकपटकको घटना हो, आफ्नो काम सुरु गरेको करिब एक दशकपछि एउटा सानो घटनामा मैले तनाव महसुस गर्दा आमाको काखमा टाउको राखेर एकछिन आराम गरेपछि ती सारा समस्या समाधान भए। यस्ता थुपै्र घटना छन् जसले अहिले पनि आमाले कहीँ-कतैबाट हेरेर अघि बढ्न प्रोत्साहित गरिरहेजस्तो लाग्छ। परिवारलाई संस्कार सिकाएर अनुशासित बनाउन उहाँको ठूलो योगदान रह्यो। मेरी आमाको हामी छोरालाई मात्र होइन, छोरीहरूलाई पनि शिक्षित र सबल बनाउन समान भूमिका रह्यो। आमा कतै जान लाग्नुभयो र उहाँसँग जान पाइन भने मलाई नरमाइलो लाग्थ्यो र झोक्राएर बस्थें। मलाई आमाले घरका स-साना कुरामा पनि सहभागी गराउनुहुन्थ्यो। त्यसैले अहिले मलाई आमाको बढी नै अभाव महसुस हुन्छ। मेरी आमा मेरो आदर्श हुनुहुन्छ। १६ वर्षको उमेरपछि म आमासँग बस्न पाइन। मेरो सबैभन्दा ठूलो रहर भनेको आफू सेटल भएपछि आमालाई आफैंसँग राख्ने थियो तर त्यो इच्छा अधूरै रह्यो। आमाका लागि कुनै काम गरिदिएँ भन्नु आफैंमा तुच्छ हुनुजस्तो लाग्छ। मेरी आमा बाहिरबाट गरम, भित्रबाट नरम, सबैलाई समेट्न सक्ने हुनुहुन्थ्यो। ठूलो परिवारमा सामान्य खटपट हुनु स्वाभाविक हो। त्यस्तो अवस्थामा पनि न्यायमूर्ति बनेर सबैप्रति समान व्यवहार गरी परिवारलाई एकढिक्का बनाउन सक्ने क्षमता उहाँमा थियो। आमाको माया शब्दमा वर्णन गर्न सकिने कुरा होइन, महसुस मात्र गर्न सकिन्छ। अहिले म पूर्णरूपमा सेटल भैसकेको छु, यदि उहाँ अहिले मसँग भए बेलुका घर पुगेपछि आमासँग बसेर खाना खान्थें, बिहान आमा म काममा गएँ भनेर मात्र हिँड्थें। उहाँको सम्मानका लागि मैले उहाँ जन्मिएको जिल्ला सिन्धुलीबाट उत्कृष्ट नम्बर ल्याउने केही गरिब विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिएको छु। आमाप्रति म आपना भावना यसरी अर्पण गर्न चाहन्छु, 'आमा, तपाईं जहाँ भए पनि म आफूलाई तपाईं सँगै भएको महसुस गर्छु।'



स्व राजेश्वरीदेवी चन्द आमा

चाँदनी जोशी


मलाई मेरी मुमाले जुन शिक्षा प्रदान गरिबक्स्यो त्यो सबैभन्दा ठूलो कुरा हो। उहाँले म छ वर्षकी हुँदा लखनउ पढ्न पठाइबक्स्यो, त्यसैले उहाँलाई सबैले मन नभएकी, निष्ठुरी, निर्दयी आमा भन्थे रे। ती सबै कुरा सहेर पनि उहाँले मलाई जुन शिक्षा बक्स्यो, आज म त्यसैमा खुसी छु। उहाँ मलाई पुर्‍याउन आउँदा सधैं कालो चस्मा लगाउनुहुन्थ्यो, रोएको अरूले नदेखून् भनेर। २ सय जनाको संयुक्त परिवारमा पनि मुमाको यो सही, यो गलत भन्न सक्ने क्षमता थियो। आफ्नो र अर्कोमा भेदभाव नगर्ने उहाँको स्वभाव कहिल्यै बदलिएन, मृत्युपर्यन्त कायमै रह्यो। त्यो समयमा छोरीले पढे बिग्रन्छन्, लभ लेटर लेख्छन् भन्ने थियो। हामी चारजना दाजुभाइ दिदीबहिनीमा उहाँले छोराछोरी भनेर कहिल्यै छुट्याइबक्सेन। सबैलाई समान शिक्षा र अवसर प्रदान गरिबक्स्यो। ठूलो दिल भएकी मेरी मुमाको तन, मन र विचार सबै सुन्दर थिए। आत्मविश्वासी र धर्मकर्ममा विश्वास गर्ने उहाँ बुवाको श्राद्धकै दिनमा गफ गर्दागर्दै संसारबाट बिदा भैबक्स्यो। मुमासँगको बिछोडपछि शून्यता महसुस भैरहेको छ। उहाँ फिल्ड मार्सलकी छोरी तर म यस्तो भनेर घमण्ड कहिल्यै नगर्ने। हामीलाई स्वावलम्बी बन्न सिकाइबक्स्यो। म पद्मकन्या पढाउन जाने कुरा पनि उहाँकै पहलबाट सम्भव भएको थियो। म जहाँ यात्रा गर्न लागे पनि उहाँ अत्यन्तै खुसी होइबक्सन्थ्यो। निर्णयमा अडिग वा भनेपछि गर्नैपर्ने उहाँको स्वभावको बलियो पक्ष थियो। मुमाले हाम्रो जीवनको क्षितिज ठूलो बनाइदिइबक्स्यो। बहादुर भवन -चारबुर्जा दरबार) मा जन्मिएर हुर्किएको व्यक्ति त्यो बेलामा पाल्पाजस्तो विकट ठाउँमा गएर एडजस्ट गर्न सक्नु, कहिल्यै कुनै कुरामा गुनासो नगर्नु उहाँको महान् पक्ष हो। उहाँ धेरै केयरिङ मदर होइबक्सिन्थ्यो। पछिसम्म पनि मलाई सन्चो नभए नजिक आएर मिचेर, फुकेर, यसलाई आराम होस् भनिबक्सन्थ्यो। उहाँमा नेतृत्व क्षमता पनि बढी नै थियो। मेरा जिजुबुवाकी सबैभन्दा प्यारी छोरी-उहाँ। मुमाप्रति म केही शब्दसुमन अर्पण गर्न चाहन्छु, 'मुमा, हजुर महान् व्यक्तित्व होइबक्सन्छ। जीवनका सुख-दुःख हजुरले सहजै सहिबक्स्यो। म प्रत्येक पल हजुरलाई सम्भिरहेकी छु। हजुर मसँगै होइबक्सिन्छ।'

 

 

सुपर मम

बदलिँदो विचारधारा एवं जीवनशैलीका कारण आमा शब्दमा परिवर्तन आएको छ। अब आमा मम्मी एवं मम भएकी छन्। आजभोलि आमाले घरमै बसेर आफ्ना बालबालिकालाई सम्हाल्ने कार्य मात्र गर्दैनन्, घरबाहिर रहेर पनि आमा हुनुको सम्पूर्ण दायित्व निर्वाह गर्छन्। त्यसैले आमालाई हिजोआज एक्टिभ मदर भन्नु उपयुक्त हुन्छ। बालबालिकाको पहिलो सहायक, पहिलो अध्यापक, पहिलो ट्रेनर, पहिलो साथी एवं पहिलो मार्गनिर्देशक पनि आमा नै हुन्छिन्। विगत र आजको स्थितिमा आमाले बालबालिकाका आवश्यकताहरूलाई पूरा गर्ने तरिका पनि बदलिएको छ। तिनलाई आरामसित सिकाउने तरिका, तिनलाई सुविधा उपलब्ध गराउने तरिका फरक भएको छ। आजका आमाले आफ्ना बालबालिकाको आरामको ख्याल फरक ढंगबाट राख्छन्। बालबालिकाका सुविधाका सम्बन्धमा चिन्ता गर्ने उनको शैली पनि अलग भएको छ।

कुशल प्रबन्धक

अहिलेको प्रतिस्पर्धात्मक युगमा आमाहरू आ-आफ्ना सन्तान पढाइ-लेखाइ एवं खेलकुद आदि सबै क्षेत्रमा उत्कृट भएको हेर्न चाहन्छन्। यसका लागि आमाले आफ्नो कार्यक्षेत्र एवं घरमा तालमेल मिलाउँछन्। उनीहरूको ध्यान बालबालिकामै केन्दि्रत हुन्छ। आजका आमाहरू आफ्नो कार्यक्षेत्रमा भए पनि बालबालिकाको पूरा ध्यान राख्छन्। उनीहरू बिहान चाँडै उठेर लन्च तयार गर्छन्, अफिसको काम भ्याउँछन् र साँझ फेरि घर सम्हाल्न आइपुग्छन्। बालबालिकासित बसेर गृहकार्यमा सहयोग गर्छन्। उनीहरू आफ्नो करियरको कुरा होस् वा बालबालिकाको करियर कुशल व्यवस्थापक बनेर अघि बढ्छन्।

बालबालिकाको करियरमा केन्दि्रत

२१ औं शताब्दीका आमा आत्मविश्वासी एवं दृढनिश्चयी हुन्छन्। उनीहरूलाई आफ्ना बालबालिकाको भविष्य सुरक्षित राख्नुपर्ने कुराको राम्रो जानकारी छ। त्यसैले उनीहरू आफ्नो ममतालाई त्यागेर आफ्नो मनको टुक्रालाई आफूबाट टाढा अध्ययनका लागि पठाउन पनि हिचकिचाउँदैनन्। कामकाजी भएर पनि बालबालिकाको रुचिलाई ध्यानमा राखी उनीहरूको करियरमा सहयोग गर्छन्।

व्यस्त हुँदाहुँदै पनि समय दिने काम

कामकाजी भएकाले आजका आमाहरू आफ्ना बालबालिकालाई पूरा समय दिन सक्दैनन्। तैपनि अफिसबाट बारम्बार फोन गरेर आफ्ना नानीको हरेक क्षणको जानकारी राख्छन्। अफिसबाट फर्किएपछि वा छुट्टीका दिन उनीहरू आफ्ना बालबालिकासित धेरै समय बिताउँछन्। तिनलाई घुमाउन वा किनमेल गराउन लान्छन्। उनीहरूका साथमा बसेर उनीहरूलाई मनमर्ने खेल खेल्छन्।

आत्मीय साथी

आजका आमाले बालबालिकाले गल्ती गरे पनि गाली गर्नुको साटो प्रेमपूर्वक सम्झाउँछन्। अर्को पटक गल्ती भए तुरुन्त स्वीकार गर्न र त्यसलाई सच्याउन अनुरोध गर्छन्। त्यसैले बालबालिकाहरू आमासँग धेरै नजिक हुन्छन् र आमासित सबै कुरा सेयर गर्छन्। आजका आमालाई छोरी कसलाई मन पराउँछिन्, कस्ता साथीसित घुम्छिन् भन्ने जानकारी हुन्छ। उनीहरू छोरीलाई स्वतन्त्रता दिन्छन् तर अनुशासित रहन र आफ्नो सीम्ाारेखा बुझ्न पनि बारम्बार सचेत गराउँछन्।

संस्कार प्रदान गर्ने काम 

आधुनिक आमाहरू आफ्ना बालबालिकालाई आधुनिक परिवेशमा हरेक प्रविधि र परिवर्तनप्रति सचेत गराउँछन् साथै आफ्ना छोराछोरीलाई संस्कारी बनाउने कुरामा पनि उत्तिकै सचेत रहन्छन्। बालबालिकालाई आधुनिक बनाउनुका साथै आफूभन्दा सानालाई माया र ठूलालाई आदर-सम्मान गर्न सिकाउन पछि पर्दैनन्।

बालबालिकाको कोठा सजाउने काम 

बालबालिकाको कोठाको इन्टेरियर कस्तो हुनुपर्छ, आमाहरू आफ्ना बालबालिकासँग राय लिएर मात्र काम गर्छन्। बालबालिकाको पढाइ-लेखाइदेखि लिएर खेल्ने कुरालाई विचार गरी कोठा तयार गर्छन् अनि बालबालिकाको रुचिसित मेल खाने हिसाबले कोठा रंगाउँछन्।

स्मार्ट कुक हुन् आमा 

बालबालिकाको खानपान बदलिएको छ। उनीहरूलाई खानामा सब्जी, पराठा, दाल, भात एवं तरकारी त्यति रुच्दैन। बालबालिकाहरू जंकफुडको चाहना राख्छन् जसलाई दैनिक सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुँदैन। त्यसैले आमाहरू सादा खानालाई पनि यति स्वादिष्ट बनाउँछन् कि बालबालिकाहरू त्यसमा रुचि देखाउन बाध्य हुन्छन्।

प्लिेन रोटीको साटो रोटी र्‍याप गरेर ख्वाउँछन्। रोटीको बीचमा मिक्स भेजिटेबल भरेर तन्दुरमा

सेकेर पस्किन्छन्।

प्लिेन पुलाउको साटो अंकुरित पुलाउ बनाउँछन्।

अिंकुरित चाट प|ुट प्लेटर, फलफूलको टुक्राका साथमा कस्टर्ड, ब्राउन ब्रेड भेजिटेबल केक, पनीर स्यान्डबीच  नयाँ विधिबाट बनाउँछन्।

प्रविधिमैत्री

सुपर ममहरू आफ्ना बालबालिकालाई कम्प्युटर प|ेन्ड्ली पनि बनाउँछन्। बालबालिकाले प्रोजेक्ट कम्प्युटरबाटै पूरा गर्छन्। आमाहरू बालबालिकाहरूका साथमा भिडियो गेम पनि खेल्छन्, अनलाइन क्लासेज गराउँछन्। बालबालिकालाई छुट्टीका दिन ब्लगमा लेख्न प्रेरित गर्छन्। पेन्टिङ तथा सोसल नेटवर्किङका बारेमा सिकाउँछन्। माइन्ड एजुकेसन गेम्सबाट पनि साक्ष्ाात्कार गराउँछन्।

ग्ल्यामरस

आजका आमा फिटनेस र करियरका सम्बन्धमा पनि उत्तिकै सजग हुन्छन्। यो उनीहरूको व्यक्तित्वको सकारात्मक पक्ष हो। त्यसैले कतिपय अभिनेतृ, मिडिया पर्सन, मोडलहरू आमा बनेपछि पनि करियरमा निरन्तर अघि बढेको पाइन्छ। पार्लर गएर आरोमा, स्पाको आनन्द लिएर सौन्दर्य वृद्धि गर्न, आफ्नो ड्रेस सेन्स सुधार्न, ग्रुमिङ क्लासेज लिन पनि आजका आमा पछि छैनन्। त्यसैले बालबालिकालाई पनि तिनका आमा युवा, सुन्दर, ग्ल्यामरस एवं फेसनेबल छन् भन्ने कुरामा गर्व छ। आफ्नी आमालाई फिट देखेर बालबालिका पनि फिटनेसका सम्बन्धमा कम उमेरमै सजग हुन थाल्छन्।

आजका आमालाई हेर्ने हो भने यही भन्न सकिन्छ-हिजो पनि आमा नै थिए र आज पनि आमा नै हुन् तर हिजो र आजका आमाबीच फरक छ। त्यसैले आज उनीहरू बन्न पुगेका छन् सुपर मम।

रोजिन शाक्य

 

परिवर्तित आमाहरू

कपाल ढाकेर, निधारमा ठूलो टीका तथा सिउँदोमा मोटो सिन्दूर लगाएर बस्ने आमा आधुनिक संसारबाट करिब-करिब अदृश्य भैसकेकी छिन्। उनको स्थान चुस्त, दुरुस्त, स्मार्ट, र्‍याम्पमा हिँड्ने, एंकरिङ गर्ने, अफिसमा आफ्नो टिमलाई लिड गर्ने आमाले लिएकी छिन्। यसको अर्थ उनीहरू सन्तानलाई बेवास्ता गरेर वा भनौं आपनो जिम्मेवारी बिर्सेर केवल काममा केन्दि्रत छन् भन्ने चाहिँ होइन। अहिले उनीहरू अझ चुनौतीपूर्ण भूमिकामा प्रस्तुत भएका छन्।

आमालाई भगवान्कै दोस्रो रूप मानिन्छ। शिशुलाई जन्म दिएर पालनपोषण गर्ने आमा बालकका लागि प्रथम गुरु पनि हुन्। भनिन्छ, भगवान्ले सबै प्राणीको पर्याप्त हेरचाह गर्न नभ्याउने भएकाले आमाको सृष्टि गरेका हुन्। त्यसैले आमाले सन्तानको हेरचाह गर्छिन्। आपनो भन्दा बढी सन्तानको सुख-दुःखको ख्याल राख्छिन्। हरेक नयाँ कुरा सिकाउँछिन्। आपत्तिबाट रक्षा गर्छिन्। त्यसैले आमा साथी एवं मार्गदर्शक पनि हुन् ।

हिजोआज आमाहरू सुपर मम हुँदैछन्। यसको अर्थ आमाभन्दा पनि सुपर  छ। सुपर म्यानजस्तै नआत्तिई हरेक काम फटाफट गर्न सक्ने आमा नै सुपर मम हुन्। परिवारमा आएको समस्यालाई कम्प्युटरले झंै एक मिनेटमा पूरा गर्ने, जिम्मेवारी वहन गर्न कुशल, बलियो मनोबल, चातुर्य तथा हिम्मतद्वारा काम सम्पन्न गर्ने, ममता, आत्मविश्वास आदि गुणले भरिपूर्ण सुपर ममहरूले आजको युगका हरेक चुनौती पार गरिरहेका छन्।

बिहान अँध्यारोमा उठेर चुल्होमा दाउरा कोच्दै, धूवाँ सहँदै, आँसु पुछ्दै, आफू आधा दिनसम्म भोकै रहेर बालबालिकाहरूलाई माया गरी भात ख्वाएर पालनपोषण गर्ने, कुवा वा धाराबाट पानी ल्याउने, घाँस-दाउरा, मेलापात भ्याउने, घरमा सबैजना सुतेको समय पारेर कपडा धोई जीवन चलाउने पहिलेका आमाहरूको जिम्मेवारीमा अहिले ठूलै परिवर्तन आइसकेको छ ।  राति अबेरसम्म श्रीमान् र सासूका गोडा मिच्ोपछि शिशुलाई च्यापेर एकातिर सुत्ने उनीहरूका लागि परिवार र शिशु नै सबै कुरा थिए। न उनीहरूलाई आफ्नो होस थियो न आफ्नो पहिरनको नै। सुकेको अनुहार, नमिलेको केश अनि आँखामा आँसु भएकी ममताकी प्रतिमूर्ति थिइन् उनी तर आज त्यो स्थिति छैन। समय बदलिएको छ। आमाको बाह्य स्वरूपमा परिवर्तन आएको छ यद्यपि उनीभित्रको ममता जस्ताको तस्तै छ। आज आमाको दिनचर्या,  मानसिकता एवं दृष्टिकोणमा परिवर्तन आएको छ। आजका आमा घरको चौघेरा पार गरेर निस्किसकेका छन्। उनीहरू जागिर खान्छन्, घरको आर्थिक व्यवस्थापनमा ठूलो योगदान दिन्छन्। उनीहरू बालबालिकालाई हुर्काउँछन्। उनीहरू आफ्ना सन्ततिलाई उचित हेरचाह, शिक्षा-दीक्षाका साथै माया अर्थात् सबै कुरा दिन्छन्। उनीहरू बिहान उठेपछि जगिङ गर्छन्। फिटनेसका लागि योग तथा व्यायाम गर्छन् । बिहान प|ट जुस पिउँछन्। बालबालिकाहरूलाई नुहाइदिने, कपडा प्रेस गर्ने, बालबालिकाहरूको ब्याग तयार गर्ने, आफ्नो अफिस ब्याग तयार गर्ने, श्रीमान्का कपडा, तौलिया, खाना, नास्ता आदि तयार गर्ने काम आमाकै हुन्छ। 

घर मिलाउनु, आफ्ना छरिएका लुगाहरू यथास्थानमा राख्नु, आफ्नो जिम्मेवारी पूरा गरी घरबाट निस्कनुलाई उनीहरू झन्झट मान्दैनन्। कार तथा ट्याक्सीमा पनि सुपर मम अफिसको फाइल पल्टाउन, मोबाइलका जरुरी फोन लिन तथा सल्लाह दिनमा व्यस्त हुन्छन्। खास गरेर बालबालिकाको चिन्ता गर्नु, उनीहरूको भविष्यको योजना बनाउनु, कमजोर विषयमा शिक्षक चयन गर्नु आदि हरेक काममा सुपर मम लागिपर्छन्।

अफिसका सबै खाले काम सिध्याउनु, जरुरी कामको योजना बनाउनु, साँझ अफिसबाट र्फकदा छोराछोरीलाई स्कुलबाट ल्याउनु, स्कुल जाने बालबालिकाहरूसँग उनीहरूको दिनचर्या एवं रुचि सोध्नु, खान निर्देशन दिनु, आफै पनि चिया, स्न्याक्स  खानु, श्रीमान् आउँदासम्म नास्ता र

खाना तयार गर्नु,  श्रीमान्को स्वागत गर्नु, बालबालिहरूलाई होमवर्क गराउनु, बालबालिकाहरूको डायरी परीक्षण गर्नु, टिचरका लागि पेरेन्टिङ बुक तयार गर्नु, श्रीमान्लाई अफिसको काममा सल्लाह दिनु, सुत्ने बेला बालबालिकाहरूको भविष्यको विषयमा योजना बनाउनु सुपर ममको दिनचर्या हो। सुपर मम आफ्नो बिजुलीको बिल  तिर्न जान्छन्, आफ्नी सासूका साथ चिया बनाउँछन् । पूजाघरमा पूजा गर्छन्। ससुरालाई औषधि दिन्छन् । आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुलाई कर्तव्य मान्छन्। आवश्यक किनमेल, बैंक, मिटिङ आदिमा पनि उनीहरूको उलेख्य सहभागिता हुन्छ। सबै काम  उनीहरू  योजनाबद्ध तरिकाले गर्छन्। बालबालिकाहरूको भविष्यका लागि उनीहरू बचत योजना बनाउँछन्। आफ्नो बचतमा ध्यान दिन्छन्। आफ्ना बालबालिकाहरूको सहुलियतका लागि कुनै कमी बाँकी राख्दैनन्। यसका लागि उनीहरू खर्चमा कटौती गर्दैनन् बरू आम्दानी बढाउँछन्। सन्तानलाई राम्रो स्कुलमा भर्ना गराएर राम्रो शिक्षा दिन चाहन्छन् । उनीहरूको दिमागमा आउने समयका लागि नयाँ योजना हुन्छ। उनीहरूको समय घडीको सुईझैं अघि बढ्छ। यति धेरै काम गर्ने आमा आफ्ना बारेमा पनि सोच्छन् । उनीहरू सौन्दर्यप्रति पनि सजग हुन्छन् । नियमित रूपमा ब्युटिपार्लर ज्ाानु, जिम जानु, योग, फिटनेस प्रोग्राम, नयाँ तथा राम्रा पहिरन चयनका साथै आफूलाई सधैं फिट राख्नु उनीहरूको जीवनशैलीको भाग बन्छ । प्रश्न उठ्छ-उनीहरू यी सबै काम कसरी गर्छन् ? उत्तर एउटै छ-किनभने उनी आमा हुन्।

झरना नहर्की

 

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by लक्ष्मी भण्डारी थापा
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन