मस्त सौराहा सुन्दर सौराहा

'वाउ क्या मस्त सौराहा π' राप्तीको किनारबाट सूर्य अस्ताएको दृश्य बियरको चुस्कीसित नियाल्ने क्रममा चिनियाँ पर्यटक ज्याङ् झीको मुखबाट निस्कियोे । हुन पनि घाम अस्ताउनै लाग्दाको राप्ती किनारको दृश्य कम मस्तीको हुँदैन । सबैका हात हातका लेन्सवाला डिजिटल क्यामेरा, क्यामेरा नभए मोबाइल सूर्यतर्फ फर्किएका हुन्छन् । कोही आफ्नै त कोही साथीको तस्बिर खिच्न व्यस्त भेटिन्छन् भने कोही राप्तीमा परेको अस्ताउनै लागेको सूर्यको छाया कैद गर्न व्यस्त हुन्छन् । 'अस्ताएको सूर्य हेर्न निकै मज्जा आउँदो रहेछ ।' झीको अनुभव थियो । दोस्रो पटक नेपाल आए पनि सौराहाको सयर भने झीका लागि पहिलो अनुभव थियो । उनी भन्दै थिइन्-'यो क्षण जीवनभर सम्झन लायक छ ।'

सूर्यास्तको दृश्यलाई कैद गर्ने मात्र नभएर राप्ती किनारमा प्रेमालाप गर्दै कुम जोडेर अस्ताउँदो सूर्यलाई साक्षी राख्ने जोडीहरूको पनि कमी हुँदैन । त्यससँगै जोडी बनेर डुंगामा सयर गर्नुको छुट्टै मज्जा भएको बताए इजरायली जोडी एडम्स र मुन्नीले । उनीहरूले भने-'टाढाबाट आएर खुल्ला प्रेम साट्न पाउनु अहोभाग्य हो ।' एडम्स भन्छन्-'हामी रोमान्स र एक-अर्कालाई नजिकबाट चिन्नका लागि पनि यहाँ आएका हौं ।' एक वर्षपछि जिन्दगीभरका लागि जोडी बाँधिने सोच बनाएको यो परदेशी जोडीले सौराहामा एक हप्ता बितायो । एक निजी बैंकका कर्मचारी एडम्स र इन्जिनियरिङ दोस्रो सेमेस्टरकी विद्यार्थी मुन्नी डेटिङ सुरु भएको छ महिनापछि सौराहाको सयरमा आएका हुन् । यहाँको सौन्दर्यले मोहित उनीहरूलाई गर्मीको पीडाले पनि छुन सकेन ।

गर्मीका कारण दिनभर सुनसान रहने सौराहामा दिन ढल्दै जाँदा चहलपहल बढ्छ । दिनभर निकुञ्जको हात्ती यात्राले गर्दा बजार भन्दा जंगल बढी खचाखच हुन्छ । विदेशीहरूको बढी चहलपहल हुने सौराहाका आकर्षण भनेका राप्ती नदी, सूर्यास्त, हात्ती सयर, जंगल सफरी, वन्यजन्तुको अवलोकन, डुंगा यात्रा र स्थानीय थारू संस्कृति प्रमुख हुन् । काठमाडौं र पोखरापछि विदेशीहरूको रोजाइ बन्न सफल सौराहाले सिजनमा दैनिक करिब २ देखि ३ हजार तथा अफ सिजनमा ५ सय पर्यटक भित्र्याउँछ । सौराहामा पर्यटकलाई मोहनी लगाउने कुरा पनि धेरै छन् ।

थारू सांस्कृतिक नृत्य ः सौराहाको थारू संस्कृति निकै बलियो छ । त्यहाँका प्रमुख पाहुना विदेशी पर्यटकहरूको बाहुल्य रहे पनि त्यहाँका होटलहरूमा न त डान्स रेस्टुरेन्ट छन्, न त दोहोरी घर नै । त्यहाँका होटलहरूमा प्रत्येक दिन थारू संस्कृतिको लाठी नाच, मयूर नाच, मारुनी नाच, बडिया नाच आदि प्रदर्शन गरिन्छ । यस क्षेत्रमा रहेका बच्छौली ठेकरा समूह, दोरंगी समूह, मैना नाचले पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्छन् । एक स्थानमा एकदेखि डेढ घन्टासम्म देखाइने थारू नाचले पर्यटकहरूलाई मनोरञ्जन मात्र दिएको छैन बरु थारू समुदायका युवाहरूलाई पढाइ एवं घर खर्च धान्नसमेत सहयोग गरेको छ ।

हात्ती सयर ः सौराहाको नाम लिनेबित्तिकै हामी सबैले सम्झने कुरा हो हात्तीमाथि चढेर निकुञ्ज घुम्ने । हुन पनि सौराहा पुग्ने जो कसैको पहिलो रोजाइमा हात्ती नै पर्छ । प्रत्येक होटल तथा पसलहरूमा हात्ती बुकिङ सेन्टर छन् । कतिपय ठूला होटलका त आफ्नै निजी हात्ती पनि छन् । सौराहा आउने शतप्रतिशत बाह्य पर्यटक हात्तीको सवारी गर्छन् भने स्वदेशी ९५ प्रतिशतले हात्ती चढ्ने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । डेढदेखि दुई घन्टासम्म हात्ती चढेर जंगल घुम्न सरकारी हात्तीमा २ सय ५० रुपैयाँ तथा निजीमा ५ सय ५० रुपैयाँ तिर्नुपर्छ । निजी हात्ती चढ्दा निकुञ्जभित्र जान पाइँदैन भने सरकारी हात्तीमा निकुञ्जभित्र पनि जान सकिन्छ ।

वन्यजन्तु अवलोकन ः वन्यजन्तु अवलोकनको प्रमुख आकर्षण यहाँ पाइने गैंडा हो । विश्वबाट लोप हुँदै गएको गैंडाको खाग निकै महँगो हुन्छ । यहाँ करिब सयभन्दा बढी गैंडा रहेको निकुञ्ज स्रोतको दाबी छ । प्रायः निकुञ्ज जंगलभित्र पाइने गैंडा पानी खान आएका बेला नदी किनारमा पनि देखिन्छ । धेरै जनावर हेर्न निकुञ्जभित्र छिर्न निकै अफ्ठ्यारो भए पनि राप्ती किनारमा साँझको समयमा पानी पिउन आउने जनावरहरूको मनमोहक दृश्य हेर्न भने सजिलो छ । बेलुकीपख दिनभरिको चरन र थकाइ मार्ने गैंडा, जंगली हात्ती, मयूर आदि जनावर हेरेर छुट्टै मज्जा लिन सकिन्छ । यहाँ विश्वबाट लोप हुँदै गएका एक सिंगे गैंडा, बाघ, चितुवा आदि जनावर हेर्न विदेशी पर्यटकहरू आउँछन् ।

ठमेल चोक ः साँझ राप्ती किनारमा रहेको चोक पुग्ने हो भने कसैलेपनि यो सौराहा हो भनेर पत्याउँदैनन् । राजमार्गबाट गाउँको बाटो हुँदै टाँगा चढेर एक घन्टाको यात्रापछि एकैपटक राप्ती किनारमा पुग्दा काठमाडौंको ठमेलकै झझल्को मिल्छ । गाउँको बीचमा रहेको यो बजार अत्यन्त सफा र राम्रो पनि छ । साँझपछिको यहाँको दृश्यले विदेशी बजारको सम्झना गराउँछ । बेच्ने सामान र बजार हेर्दा ठमेलकै झझल्को पाइने हुनाले त्यो बजारलाई ठमेल चोक भनिएको स्थानीय बासिन्दाहरू बताउँछन् । चोकमै सौराहाको चिनारी स्वरूप एक सिंगे गैंडाको मूर्ति बनाइएको छ । पुराना हस्तकला, वास्तुकला, थारू कला र संस्कृति झल्कने वेशभूषा, बाजागाजा आदि नेपालीपन झल्कने सामग्रीहरूको बजार ठमेल चोकमा छ जहाँ नेपाली र विदेशीलाई छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको हुन्छ । सौराहामा साना-ठूला गरी करिब १ सय होटल छन् ।

डुंगा सयर ः राप्ती नदी र त्यससँग मिसिएका साना नदीहरूमा स्थानीय सामुदायिक वन र सरकारले पर्यटकहरूको मनोरञ्जनका लागि डुंगा संचालन गर्दै आएका छन् । जलजन्तुहरूको अध्ययनका लागि डुंगा सयर उपलब्धिमूलक हुन्छ । डुंगामा तैरिँदै घडियाल गोही, मकर गोही, पानी सर्प तथा विभिन्न प्रजातिका माछाहरू अवलोकन गर्न सकिन्छ भने खोला छेउमा रमाइरहेका चराचुरुङ्गीहरूको लोभलाग्दो दृश्य पनि हेर्न सकिन्छ ।

यसका अतिरिक्त पर्यटकहरूलाई लोभ्याउने कुरा सौराहाका स्थानीय बासिन्दा तथा होटल व्यवसायीहरूको न्यानो आतिथ्यता, यहाँको परम्परागत संस्कृति, भारतबाट ल्याइएका उ“mटको सयर तथा चितवन राष्ट्रिय निकुञ्ज नै हुन् । प्राकृतिक सौन्दर्यको अनुपम नमुनालाई हृदयको कुनामा कैद गर्न पनि एकपटक सौराहा पुग्नैपर्ने हुन्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन