बालबालिकालाई बचत गर्न
बालबालिकालाई पैसा बचत गर्न सिकाउनुपर्छ । बाल्यावस्थादेखि नै पैसा बचत गर्दै गए भविष्य सुखमय हुने कुरा उनीहरूलाई बताउनुपर्छ । बालबालिकाहरूलाई भित्रैदेखि धनप्रति संवेदनशील बनाउन भविष्यमा हुने लाभ, धन बचत गर्ने विधि आदि विविध कुरा सिकाउनुपर्छ । बालकालिकाहरूको उमेरअनुसार धनप्रतिको सोच तथा आवश्यकता फरक-फरक हुन्छ । बालबालिकाहरूको उमेरलाई ३ भागमा विभाजन गरी उनीहरूमा धन सञ्चित गर्ने कलाको विकास गराउन सकिन्छ ।
५ देखि १० वर्षका बालबालिका
यो उमेरका बालबालिकालाई धन सञ्चित गर्ने कला विकास गराउन विभिन्न खेलको सहयोग लिन सकिन्छ । खेलका माध्यमबाट धेरै पैसा कमाउने तथा कम खर्च गर्ने बानीको विकास गराउन सकिन्छ । बजारमा सामान खरिद गर्न जाँदा बालबालिकाहरूलाई हिसाब जोड्न लगाउने तथा पैसा गन्ने अवसर दिनुपर्छ । बालबालिकाहरूलाई घरका सानातिना हिसाब सिकाउनुपर्छ । पैसा खुत्रुकेमा राख्न उत्प्रेरित गर्नुपर्छ । बाल बचत तथा बीमा गरी उनीहरूको भविष्य सुरक्षित बनाइदिनुपर्छ । त्यसको जानकारी उनीहरूलाई पनि दिनुपर्छ । यसो गर्दा उनीहरूलाई त्यसको फाइदाका सम्बन्धमा जानकारी हुन्छ र उनीहरू बचत गर्न अझ बढी उत्सुक हुन्छन् ।
१० देखि १५ वर्षका बालबालिका
यो उमेरका बालबालिका पैसाको हिसाब राख्न सक्ने हुन्छन् । सम्भव भए उनीहरूलाई किनमेल गर्न साथमा लानुपर्छ । सामग्रीहरू खरिद गर्दा वस्तुमा अंकित मूल्य तथा पसलेले लिएको मूल्यका सम्बन्धमा जानकारी दिनुपर्छ । सबै ब्रान्डका सामानका मूल्यका सम्बन्धमा जानकारी दिनुपर्छ । यसबाट बालबालिकाहरूलाई रमाइलो हुन्छ र उनीहरूको उत्साह पनि वृद्धि हुन्छ । उनीहरूमा आत्मविश्वास बढ्नुका साथै धनको समुचित उपयोग गर्ने बानीको विकास हुन्छ । घरको आय-व्ययका बारेमा जानकारी हुन्छ । यसबाट उनीहरू ठूलो भएपछि आफ्नो आयलाई सही ठाउँमा खर्च गर्न सक्ने हुन्छन् । सकिन्छ भने बालबालिकाहरूका नाममा बचत गर्नुपर्छ । उनीहरूलाई सँगै लगेर र्फम भराउनुपर्छ । यसले उनीहरूमा बचतको बानी तथा बैंकसम्बन्धी धेरै कुराको जानकारी हुन्छ ।
१५ देखि २० वर्षका बालबालिका
घरको सम्पूर्ण धनको प्रबन्ध गर्ने जिम्मेवारी यो उमेरका बालबालिकाहरूलाई दिन सकिन्छ । यसले उनीहरूमा जिम्मेवारीको बोध हुन्छ भने धन प्रबन्ध गर्ने कला पनि वृद्धि हुन्छ । उनीहरूलाई अर्थ व्यवस्था, वाणिज्य र वित्तसम्बन्धी समाचार आदि पढ्न प्रोत्साहित गर्नुपर्छ । बालबालिकाहरूलाई किनमेल गराउँदा छुट तथा सेलका सम्बन्धमा जानकारी लिन सचेत गराउनुपर्छ । उनीहरूले गरेको बचत कुनै आकस्मिक समस्यामा प्रयोग हुँदैछ भन्ने कुरा बताउनुपर्छ । सामान खरिद गर्दा गुणस्तर वा ब्रान्ड कुन महत्वपूर्ण छ बताउनुपर्छ । धन प्रबन्ध गराउने जिम्मेवारी दिँदा उनीहरूको पढाइमा पनि ध्यान दिनुपर्छ । यसले बालबालिकाहरूको स्वाभाविक विकासमा निकै सघाउ पुर्याउँछ ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया