ऊनीका कपडाको हेरचाह
चिसो मौसमको आफ्नै विशेषता छ । आगोको छेउमा बसेर कफीको चुस्कीका साथमा परिवार तथा साथीभाइमाझ जाडोको लेटेस्ट फेसनका सम्बन्धमा कुरा गर्न पनि कम्ती रमाइलो हुँदैन । स्टाइलिस चौबन्दी चोलो, स्वेटर, ज्याकेट, कोट, मफलर, टोपी, पन्जा तथा मोजाका साथमा यो मौसमको मज्जा लिन सकिन्छ । त्यसमा पनि ऊनीका कपडाले दिने न्यानो अरू कपडाबाट प्राप्त गर्न सकिँदैन । यद्यपि यसका लागि ऊनीका कपडालाई सुरक्षित राख्नु पनि आवश्यक छ । यसको चमक तथा सुन्दरता कायम राख्न आवश्यक उपाय अपनाउनुपर्छ । अत्यधिक जाडोमा ऊनीका कपडा २-३ महिनाभन्दा बढी प्रयोग गरिँदैन । त्यसपछिको समयमा यसलाई एक ठाउँमा स्टोर गरिन्छ । यस्ता कपडा स्टोर गर्नुपूर्व केही कुराको जानकारी आवश्यक छ । ऊनीका कपडालाई स्टोर गर्नुभन्दा पहिले गुणस्तरीय डिटर्जेन्टले धुने र राम्रोसँग सुकाउने ।
कपडा राख्दा चिसो छ-छैन राम्रोसँग चेक गर्ने । चिसो कपडामा छिट्टै ढुसी पर्छ ।
भरसक ऊनीका कपडालाई बेतको बाकसमा राम्रोसँग बन्द गरेर राख्ने ।
ऊनीका कपडालाई प्लास्टिकको झोलामा राख्नु हुँदैन । प्लास्टिकमा राख्दा कपडा बाफिन्छ र नोक्सान पुर्याउने कीरा उत्पन्न हुनसक्छ ।
लामो समय कपडा नचलाई राख्दा ढुसी लाग्ने, साङ्ला-कीराको फोहोर तथा मुसाले बिगार्ने डर हुन्छ । फरको कोट र लेदरका ज्याकेट निकै कोमल हुन्छन् । त्यसैले यस्ता पहिरनलाई मलमलको कपडामा राम्रोसँग बेरेर राख्नुपर्छ ।
कपडालाई ह्याङ्गरमा नझुन्डाउने । त्यसो गर्दा कपडा लुज हुन्छ । त्यसैले पट्याएर सुरक्षित रूपमा राख्ने ।
स्वेटरमा प्वाल परेको वा बटन टुटेको छ भने त्यसलाई ठीक गरेर राख्ने । स्वेटरमा भुवा आएको छ भने त्यसलाई दाह्री काट्ने रेजरले निकाल्न सकिन्छ ।
बजारमा ऊनीका कपडाका लागि विभिन्न खालका स्प्रे उपलब्ध छन् । बेलाबेलामा कपडामा स्प्रे गर्न सकिन्छ ।
स्वेटर राख्दा रंगमा पनि ध्यान दिनुपर्छ । डार्क रंगका कपडाका साथमा लाइट रंगका कपडा राख्नु हुँदैन । कपडा राख्दा सेतोका साथमा क्रिम रंग, आकाशे नीलो रंगका साथमा पर्पल, गुलाबीसँग रातो, कलेजी तथा हरियोका साथमा पहेंलो रंगका कपडा राख्न सकिन्छ ।
स्टोर गरिएका पहिरन सीधै सूर्यको प्रकाश पर्ने स्थानभन्दा टाढा राख्ने । किनभने धेरै प्रकाश पर्दा रंग उड्न सक्छ ।
स्वेटर र ज्याकेटका साथमा टोपी, मफलर र मोजा नराख्ने ।
घरेलु टिप्स
ऊनीका कपडालाई कीरा तथा चिसोबाट सुरक्षा प्रदान गर्न यसलाई स्टोरेज गर्दा बीच-बीचमा फिटकिरी राख्न सकिन्छ ।
कपडाको बीचमा कपूर राख्ने । यसले गर्दा कपडामा कीरा लाग्न पाउँदैन ।
चन्दनको धूलो राख्दा कपडा सुरक्षित रहन्छ र कपडा पनि वासनायुक्त हुन्छ ।
निमको पात अथवा अखबारमा तम्बाकुको पात राख्दा पनि कपडामा कीरा लाग्दैन ।
रिठ्ठाको पानीमा धुँदा ऊनीका कपडाको चमक यथावत् रहन्छ ।
चिसोमा ध्यान दिनुपर्ने कुरा
ऊनीको कपडा प्रयोग गर्नुभन्दा पहिले नरम ब्रसले सफा गर्दा त्यसमा जम्मा भएको धूलो, केश तथा ढुसी सफा हुन्छ ।
एउटै कपडा ५-६ पटक प्रयोगमा ल्याएपछि सफासँग धुने ।
लामो समय स्टोर गरेका पहिरन लगाउनुभन्दा पहिले राम्रोसँग धुने वा घाममा सुकाउने ।
ऊनीका पहिरनलाई वासिङ मेसिनमा धुनु हुँदैन ।
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया