अदृश्य पीडा

निष्कपट हुनुको पीडाले आज उसलाई निकै सताइरहेछ । मनभरि आदर्श र स्वच्छ भावना बोक्नु पनि उसका लागि जीवनको पीडामय गीत बनेको छ ।

उसले सोची, 'मैले कहाँ गल्ती गरें ? कसरी सुरु भयो पीडामय जिन्दगीको यात्रा ?' यो मानसिक तनाव उसले भोग्नु नपर्ने हो । अति उदार चित्त हुनुको बेफाइदा सायद यस्तै हुँदो हो ।

उसो भए के फरक रह्यो र स्वार्थी भावना र निःस्वार्थी भावनामा ? यस्तै प्रश्न ओइरिरहेका छन् उसका मनभरि । भानुचोकको भीडमा आफूलाई नितान्त एक्लो यात्री सम्झेर एकपटक लामो सुस्केरा लगाउँछे । सानो ब्याग काँधमा झुन्डिएको छ । आँखाले व्यस्त बजारमा कसैलाई खोजिरहेका छन् । तर रित्तै र्फकन्छन् भावशून्य भएर ।

आपmनो पछाडि कानै छेड्ने कर्कस आवाजमा हर्न बजाउँदै धनकुटाबाट फलफूल बोकेर झरेको ट्रक आएको पनि थाहा पाउँदिन । उसलाई कानभरि आपmनी बहिनी र लोग्नेको कर्कस आवाज मात्र गुञ्जिरहेको महसुस हुन्छ ।

ट्रकको आवाजलाई पनि ऊ लोग्ने र बहिनीको नमीठो, भद्दा र अश्लील गाली सम्झन्छे ।

तन्द्रा टुटेपछि पछाडि र्फकदा ट्रक चालक झ्यालबाट टाउको निकालेर नियमित बोलीमा गाली गरिरहेको हुन्छ, 'काल खोजेको हो कि क्या हो ? पागल आइमाई ।'

ऊ चुपचाप पश्चिमतिर टेम्पो

स्टेन्डमा हानिन्छे ।

अदृश्य पीडा सबैभन्दा खतरनाक हुँदो रहेछ । विपरीत परिणाम भोग्ने त उसले कल्पना पनि गरेकी थिइन । अहिलेको भोगाइप्रति उसले पटक्कै चित्त बुझाउन सकिरहेकी छैन । उसलाई आफ्नो पीडाप्रति विश्वासै लाग्दैन । पश्चाताप पनि छैन तर पनि पीडा मनभित्रै लुकिरहेको छ ।

त्यसो भए लोग्नेको तिरस्कारलाई उसले पुरस्कार सम्झने त ? आपmनै बहिनीलाई अब फेरि कसरी सहयात्री सम्झने ?

जटिल, जटिल झन् जटिल बन्दै गएको छ उसको मनोदशा । ऊ टेम्पोबाट घर अगाडिको गेटछेउमा उत्रन्छे र भाडा तिर्छे ।

झमक्क साँझ परिसकेको छ ।

घरका सबै कोठा उज्याला छन् । तर उसको कोठा अँध्यारो छ । साँझमा बत्ती बाल्दा सबै कोठामा बाले के बिग्रन्थ्यो र ?

ऊ यो कोठामा एक्लै बस्न थालेको धेरै भएको छैन । करिब चार वर्षजति भयो । लोग्नेसँग सम्बन्धविच्छेद भएको पनि होइन । बहिनीसँग कुनै दिन झगडा पनि भएको छैन अर्थात् उसले अहिलेसम्म पि्रयालाई ठूलो स्वरले गाली गरेकी पनि छैन ।

घरभित्र छिरेर स्वीच अन गर्छे । कोठाभरि उज्यालो छरिन्छ ।

'मम्मी-मम्मी मलाई के ल्याइदिनुभयो, खोइ क्याटबेरी ? क्याटबेरी दिनुहुन्न भने म भोलिदेखि स्कुल जान्न, नाइँ के स्कुल जान्न ........ ।' विवेक आज पनि काखमा पल्टियो । साढे चार वर्षको विवेकलाई सबैभन्दा बढी माया गर्छे । त्यसैले पनि ऊ आत्महत्या गर्नबाट धेरै पटक जोगिएकी छे ।

उसलाई थाहा छ, घरमा पुग्नासाथ विवेकले केही न केही माग्छ । त्यसैले आज पनि क्याटबेरी किनेर ल्याइदिएकी थिई । उसले व्यागमा हात हालेर खोल्न पनि नभ्याई विवेकले निकालिसकेको थियो ।

'अब तिमी भोलि स्कुल जान्छौ होइन ?' बालसुलभतालाई नियालेर टाउको मुसार्दै विस्तारै साउतीको भाषामा बोली ।

मुखभरी क्याटबेरी खाइरहेको विवेकले टाउको मात्र हल्लायो । ठूलीआमालाई मायालु पाराले हेर्दै ।

त्यसपछि विवेक उठेर गयो बाहिर गोजीभरि क्याटबेरी बोकेर ।

ऊ लुगा फेर्न थाली, खिया लागेका टिनको दराजमा टाँसिएको फुटेको ऐनाअगाडि उभिएर । 'यो ऐनाजस्तै मेरो भाग्य पनि फुटेको रहेछ । र, यो टिनको दराज भन्दा के फरक रह्यो र मेरो जिन्दगी ? दराजमा त्यसै खिया लागेको छ । मेरो जीवनमा पनि बिनाकारण खियाको पीडा थपिएको छ ।' त्यस्तै सोच्दै ऐनामा आफूलाई नियाल्छे ।

ऊ लोग्नेभन्दा चार वर्ष कान्छी र बहिनीभन्दा आठ वर्ष जेठी छे अर्थात् ऊ अहिले ३४ वर्षकी भएकी छे । तैपनि बुढेसकालले छोएजस्तै ऊ परिपक्व अनुभवी शैलीमा जीवनलाई बुझ्ने प्रयास गर्छे ।

बाहिर अचानक विवेक रोइरहेको हुन्छ र पि्रयाको चर्को आवाज पनि सुनिन्छ । 'दुनियाँ सडकमा मधिसेले फिजाएको मिठाईं दिएर अब फेरि डाइरिया लगाइदिन आँटी मेरो विवेकलाई । अस्ति पनि खै के ल्याएर दिई, रातभरि हनहनी ज्वरो आएर सुत्नै दिएन । तँलाई मैले कति पटक भनिसकें तेरी ठूलीआमाले दिएको मिठाईं नखा भनेर ।'

विवेकले चपाउँदै गरेको क्याटबेरी खोसेर पि्रयाले अघि नै सुँगुरको खोरमा मिल्काइदिएकी थिई । आपmनै बहिनीको यस्तो व्यवहारप्रति ऊ अझै पनि अनभिज्ञ भएर सहिरहेकी छे । पि्रयाले किन आफूलाई घृणाको पात्र बनाएकी हो उसले बुझेकी छैन ।

सत्र वर्षअघि अप्रत्यासित रूपमा विमलसँग सोनुको मागी विवाह भएको थियो । किराँत कुलको युवा विमल डिप्लोमा प्रथम वर्षसम्म पढेर बेलायती सेनामा छाती नापेर भर्ना भएको थियो । ऊ पेन्सन आएलगत्तै सोनुले पि्रयासँग विवाह बन्धनमा वाँधिदिएको थियो ।

ती पहिलेका सम्झना अहिले उसका मनमा चित्रझैं टाँगिएका छन् । कति गाह्रो परेको थियो प्रथम विछोड सहन । विराटनगर एयरपोर्टमा विमललाई अंगालो मारेर ऊ बेस्सरी रोएकी थिई र विमल पनि । आज दन्ते कथा बनेको छ उस्ाका लागि यो सम्झना ।

एक्ली दिदीलाई सहयोग गर्न पि्रया भोजपुरबाट धरान आएकी थिई र पढ्दै दिदीकै साथी भएर समयसँगै बस्दै थिई  ।

सोनुले परिवारमा सबैभन्दा बढी माया गरेको मान्छे त्यतिबेला आफ्नो लोग्ने विमलपछि पि्रया नै थिई । किनभने पि्रया दिदीको हरेक सुख-दुःखकी साथी बन्दै आएकी थिई । पहाडमा रहँदा पनि उनीहरू सँगसँगै घाँस-दाउरा जान्थे, गट्टी खेल्थे । लुकामारी खेल्थे । अहिले यो सबै अतीतको गर्भमा लुकेको छ ।

ऊ बहिनीको तीतो व्यवहारले गर्दा प्रत्येक पल अतीतका सुखद् क्षण सम्झेर सहने अभ्यास गर्दै आएकी छे । विवाह गरेको करिब सत्र वर्ष बितिसक्दा पनि उसले गर्भधारण गर्न नसकेपछि लोग्नेको चित्त बुझाउन र मातृवात्सल्य इच्छा पूरा गर्न बहिनीसँग विमलको विवाह गरिदिएकी थिई । बीपी कोइराला स्व्ाास्थ्य विज्ञान प्रतिष्ठानका गाइनोकोलोजिस्टले उनको पाठेघरमा खराबी भएको रिपोर्ट दिएपछि पि्रया र विमलबीच जोडी मिलाएकी थिई ।

खासगरी लोग्नेमाथि तेस्रो व्यक्तिले नमीठो आक्षेप लगाएपछि उसको मन त्यतिबेला कुँडिएको थियो । 'मर्द भए पो सन्तान जन्माउन सक्छ, नामर्द भएपछि कसको के लाग्छ ?' पहिलोपटक नजिकैको नम्बरी -साथी) ले नै यसो भनेपछि सोनुलाई खपिनसक्नु पीडा भयो । पाठेघरको दोष प्राणपि्रय लोग्नेमाथि अनाहकमा लाग्दा कुन स्वास्नीको स्वाभिमानमा धक्का लाग्दैन ?

प्रत्येक स्वास्नीले समाजमा लोग्नेको बर्खिलाफ र कुरा काटेको सुनेर बस्नै सक्दैनन् । चाहे जायज कुरामा होस्, चाहे नाजायज कुरामा । उसले रातभर सोची र विमललाई त्यही रात सम्झाएर निर्णय गरी 'लोग्नेलाई समाजमा मर्द भएको प्रमाणित गरेरै छाड्न ।'

विमल र पि्रयाको विवाहबाट आफू असुरक्षित भएको महसुस गर्न पनि अपराधजस्तै मान्थी । सन्तान नभए पनि पतिका लागि आदर्श पत्नी बनेर बस्ने उसको मनको धोको मरेको थिएन । जे भए पनि एउटै आमाको गर्भबाट जन्मिएकी बहिनीलाई आफ्नै लोग्नेसँग आफैले विवाह गराइदिँदा जीवनको उत्तरार्धमा अझ सुरक्षित हुने मीठो सपना साँचेकी थिई ।

प्रत्येक वर्षको साकेला उभौलीको बेलामा विमलले उसलाई सँगै लिएर जाने गरेको थियो । पि्रयालाई विवाह गरेको केही वर्षसम्म त तीनै जना सप्तरङ्गी पार्कमा रमाइलो साकेला मनाउने गरेका थिए । बहिनीको गर्भ राम्रो बसोस् भनेर उसले बुढासुब्बा मन्दिरमा रातो भाले चढाएकी थिई । पुजारीले भालेको कलेजो हेरेर भनेका थिए, घरमा सुख-शान्ति छाउने छ । दुःखका ग्रहदशा सबै समाप्त हुनेछन् ।  

साँच्चै नै विवेक जन्मदा सबैभन्दा खुसी त सोनु नै थिई । उसले तत्काल हल्ला गरेर सारा छिमेकीलाई सुनाएकी थिई-विमलको छोरा जन्मियो । उसले अंगालोमा बाँधेकी थिई विमललाई हर्षले रुँदै । निर्दोष मन, आदर्शले भरिएको थियो । ऊ अहिले यी सब कल्पना गर्नै सक्दिन ।

'निःसन्तान भएर के भो र ? कान्छी बहिनी -सौता) पट्ट िजन्मिएको छोरा विवेक छँदैछ ।' ऊ यस्तै सोचेर समयलाई लगाम लगाउने प्रयास गर्थी ।

आमामा हुने सम्पूर्ण प्रेम उसले विवेकमाथि खन्याएकी थिई । त्यसैले विवेकले सोनुलाई सधंै आमा, मम्मी भनेर सम्बोधन गर्दै आएको छ र पि्रयालाई 'पि्रया' नै भनेर बोलाउँदै आएको छ । ...................

सोनु र विवेकबीचको आपसी प्रेम हिजोआज पि्रयालाई अपि्रय लाग्न थालेको छ । विवेक निकै सानो हुँदा सोनुले साँच्चैको आमा बन्न नसक्नुको पीडा बोकेर कहिल्यै नगानिएका दूधहीन स्तन विवेकलाई ख्वाएर आफूलाई शान्त पार्ने प्रयास गरेकी थिई ।

'सायद मेरो बच्चा भएको भए पनि यसरी नै मैले दूधको धाराले नुहाइदिन्थें.............।' ऊ यस्तै सोचेर विवेकप्रति जबर्जस्ती मातृवात्सल्य पोख्थी तर आमाको स्तनबाट अमृतरूपी दूध नआएपछि टाउको फर्काएर पटक-पटक रोएको क्षण सम्झदै विवेकलाई हेर्थी शून्य मन

र आँखाले ।

राति कोठामा एक्लै छँदा ऊ पेट सुम्सुम्याउँछे विस्तारै । त्यहाँ एउटा ब्रह्माण्ड भए पनि शून्य मात्र पाउँछे । गर्भधारण गर्न नसक्ने पेट र शून्य ब्रह्माण्डमा केही फरक नभएजस्तो गरेर कोल्टो फेर्छे । चित्त बुझ्दैन । कुनै समय विमल सुत्ने गरेको न्यानो विस्तरातिर हात फैलाउँछे तर चिसो र शून्य मात्र पाउँछे ।

साँच्चै तनाव छाएको छ सोनुको मन-मस्तिष्कमा । उस्ाको स्थान अहिले पि्रयाले लिएकी छे । उसले पाउने माया पि्रयाले पाएकी छे । त्यसैले पनि विमल उसको अंगालोमा बाँधिन आउँदैन । विमल हिजोआज न त पहिलेजस्तो मायाको भोको आँखाले हेर्ने चेस्टा नै गर्छ । सहवास नगरोस् तर मायाको मीठो बचनले बोल्न त सक्थ्यो । एक प्रकारले सम्बन्धविच्छेद भएको जस्तै व्यवहार विमलले देखाउँदा सोनुको मन खिन्न हुन्छ । सम्झन्छे,  विमलसँगका रमाइला दिन र रातहरू । हङकङ र बु्रनाइ घुमेका क्षणहरू । चखेवा-चखेवीझैं यायावर बनेर माया-प्रीति साट्दै घुमेको समय ।

जति गर्दा पनि चित्त नबुझेपछि सोनु जुरुक्क उठ्छेे बिस्तरा छेउमा रहेको फुटेको ठूलो ऐनाअगाडि ठिङ्ग उभिन्छे, भित्तामा टाँगिएको टङस्टेन बत्ती बालेर ।

साँच्चै 'गर्भधारण गर्ने क्षमता छैन ? के म अनाकर्षक छु ? मभित्र नारी सुलभता रत्तिभर छैन ?' ऊ आफूले आफैलाई मूल्यांकन गर्दै जिन्दगीको कठघरामा उभ्याउँछे ।

उमेर ढल्किएको छैन सोनुको । शारीरिक बनावट उत्तिकै चुस्त र कस्सिएको छ । तैपनि विमलको लागि ऊ बगरमा फालिएको कौडीसरह बनेकी छे । कोल्टे फेर्छे । आँखाबाट नुनिलो आँसु चुहिएर ओठसम्म आउँछ । मध्यरातमा तिर्खा लाग्छ । जुरुक्क उठेर पानी पिउँछे  । पानीको तिर्खा त मेटिन्छ तर जीवनको तिर्खा र मायाको भोक मेट्ने उपाय नास्ती ।

जीवनको उडानलाई सुखद् मैदानमा अवतरण गर्ने उपाय खेाजिरहेकी छे मनमनै ।

सधैंभै+m मध्यरातमै विवेक आमा पि्रया र बाबा विमलको बीचबाट उठेर आँखा मिच्दै सोनु भएको अर्को कोठामा 'मम्मी' भन्दै आएर काखमा लुटपुटिँदै सुतेको छ । विवेकको उपस्थिति उसका लागि  अपूर्व खुसी र आनन्दको क्षण बन्छ ।

बिहान बिउँझदा विवेकलाई आफूसँगै पाउँछे । पति र बहिनीको माया नपाए पनि नजन्माएको छोराको अबोध माया पाउँदा खुसीका आँसु आँखाबाट अचानक खस्छन् । अर्को कोठामा विमल र पि्रया मस्त निद्रामा छन् । गलेर लखतरान भएझैं पल्टिएका छन् । तैपनि यस्तो दृश्यले उसलाई कुनै ईष्र्या जाग्दैन । मनमा वितृष्णा पलाउँदैन ।   

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन