सम्बन्धविच्छेदको बढ्दो ग्राफ

एकथरी विश्लेषक नेपालमा सम्बन्धविच्छेदलाई सरकारका तर्फबाट कानुनी मान्यता प्रदान गरेपछि यसको दर ह्वात्तै बढेको अनुमान लगाउँछन् भने यस विषयका ज्ञाता तथा अधिकारकर्मीहरू महिलाहरूमा आएको सचेतना र शैक्षिक तहको वृद्धिका कारण उनीहरू हिंसा सहेर बस्न नसक्ने र आफ्नो अधिकारका लागि आवाज उठाउन सक्ने अवस्थामा पुगेकाले सम्बन्धविच्छेदको घटना बढेजस्तो देखिए पनि पहिले र अहिलेको परिणाम उस्तै रहेको दाबी गर्छन् । मुलुकी ऐन एघारौं संशोधनले वि.सं. २०५८ सालमा सम्बन्धविच्छेदलाई सम्पत्तिसम्बन्धी अधिकारसहितको कानुनी मान्यता प्रदान गर्‍यो जसको व्यवस्था मुलुकी ऐनमै छ ।



प्रेमकुमारी पौडेल, अधिवक्ता

मुलुकी ऐन एघारौं संशोधनलेे सम्बन्धविच्छेदलाई सम्पत्तिसम्बन्धी अधिकारसहितको कानुनी मान्यता प्रदान गर्‍यो तर यसले अधिकारसहितको मान्यता प्रदान गरे पनि हजारमा चार जनाले अधिकारसहितको सम्बन्धविच्छेद गरेका होलान् र व्यवहारमा पनि त्यही सोचिन्छ । हिजो शिक्षित थिएनन्, सचेत थिएनन्, महिलालाई मान्छेका रूपमा गनिँदैनथ्यो त्यसैले महिलाहरू पीडा सहेर बाँच्न बाध्य थिए । हिंसा नभई कोही पनि सम्बन्धविच्छेद गर्न तम्सदैन, स्वतन्त्रतापूर्वक बाँच्न पाइन्छ भन्ने भएपछि जसलाई पनि बाँच्ने चाहना हुन्छ । सम्बन्धविच्छेदको कानुन आएकाले मात्र यसको ग्राफ बढेको भन्ने होइन । सम्बन्धविच्छेदको वास्तविक अर्थ श्रीमान्-श्रीमतीबीच कानुनी रूपमा सबै अधिकारको अन्त्य भएर अलग हुनु हो । हिंसामा पिल्सिनुभन्दा स्वतन्त्र रूपमा बस्नु यसको सकारात्मक पक्ष हो । अर्को कुरा मिल्दासम्म राम्रो हो नमिल्दा पनि एक्लै गरेर खान सक्ने आँट पलाउँछ त्यो पनि राम्रो पक्ष हो । सम्बन्धविच्छेदको नकारात्मक पक्ष भने बालबालिकाहरुमा पर्ने नकारात्मक प्रभाव हो ।





बेबी शाह, साइको सोसियल काउन्सलर -मनोसामाजिक मनोविमर्शकर्ता)

सम्बन्धविच्छेदले एउटा व्यक्तिलाई मात्र होइन, श्रीमान्-श्रीमती, बालबच्चा, परिवार एवं समाजलाई नै असर पार्छ । बालबच्चा झगडा गर्ने, डराउने एवं मुडी हुन्छन् भने महिला-पुरुषमा दिक्दारी, एकलकाँटेपन, निराशा, डिप्रेसन, सामाजिक कलंक आदिका कारण पनि भित्र-भित्रै त्रास उत्पन्न भैरहेको हुन्छ । जसले गर्दा निद्रा नलाग्ने, खान मन नलाग्ने, विभिन्न रोगले च्याप्ने तर मेडिकल उपचार गर्दा ठीक नहुने आदि समस्या देखा पर्छन् । जुनसुकै समस्या लिएर जुनसुकै अस्पताल गए पनि र जुनसुकै उपचार गरे पनि ठीक हुँदैन । पछि गएर बालबालिकाको व्यवहारमा पनि नकारात्मक प्रभाव देखिन सक्छ । साइकोसोसियलभित्र समाज, धर्म, संस्कृति, परम्परा, दैनिक जनजीवन आदि हरेक कुरा पर्छन् जसमा सम्बन्धविच्छेदले नकारात्मक असर पारिरहेको हुन्छ ।







उपासना बोहरा, गीतकार

सरकारले सम्बन्धविच्छेदलाई कानुनी मान्यता प्रदान गर्नु भनेको महिलाका लागि आफ्नो स्वअस्तित्व, स्वपहिचान एवं स्वतन्त्रतापूर्वक जीवन बिताउन पाउने वातावरण निर्माण गरिदिनु हो । सामाजिक मूल्य, मान्यता, संस्कार तथा अरूले के भन्लान् भन्ने त्रासले नारकीय जीवन बिताउन बाध्य महिलालाई मुक्ति दिलाउनु यसको अर्को उद्देश्य हो । सधैं डर, त्रास, झै-झगडा र तनावमा बितिरहेको जीवन सम्बन्धविच्छेदपछि स्वतन्त्र, सुखद् र खुल्ला भएको महसुस मैले पनि गरेकी छु । सम्वन्धविच्छेदपछि मेरा सिर्जनाले पनि जीवन्तता पाउँदैछन् । कसैले सम्बन्धविच्छेदका लागि विवाह गर्दैन, जीवन सुखी होला, जीवनमा एउटा असल साथीको साथ पाइएला भनेर नै विवाह गरिन्छ तर आपसी समझदारी, चाहना, सोच-विचार आदि नमिल्दा र महिलाले बढी हिंसा, दुव्र्यवहार आदि सहनुपर्दा उक्त सम्बन्ध डिभोर्ससम्म पुग्छ । कुनै पनि नारीले यसरी सम्बन्धलाई टुक्र्याएर अलग हुने चाहना राख्दैनन्, यी सबैका पछाडि चाहनाभन्दा पनि बाध्यताले ठूलो भूमिका खेलेको हुन्छ । भरसक आफ्नो सम्बन्धलाई जुनसुकै हालतमा भए पनि टिकाएर राख्नुपर्छ । यदि सक्दै नसक्ने अवस्था आयो भने पिल्सिएर बस्नुभन्दा अलग हुनु नै राम्रो हुन्छ । एकबारको जिन्दगीमा हामी नारी मात्रले किन बलिदान दिने ? हामीले पनि त आफ्नो जिन्दगी सहज र रमाइलो तरिकाले जिउन पाउनुपर्छ । त्यसमाथि अहिले त कानुनले नै सम्बन्धविच्छेदलाई कानुनी मान्यता दिएको छ भने परिआएको खण्डमा त्यो अधिकारको प्रयोग किन नगर्ने ?





मेनुका थापा, अधिकारकर्मी

महिलाहरूमा आएको सचेतना, बढ्दो शैक्षिक स्तर तथा आत्मनिर्भरताका कारण सम्बन्धविच्छेदको दर बढेको देखिएको हुनसक्ने मेरो अनुमान छ । उहिले दबिएर, पिल्सिएर, थिचिएर, अनेकौं पीडा सहेर बसेका महिलाहरू अहिले सशक्त भैसकेकाले पनि यो प्रक्रिया बढेको देखिएको हो । सुख-दुःख सँगै बाँड्ने भनेर जोडिएको सम्बन्ध सकेसम्म टुट्नु हुँदैन भन्ने मेरो पनि मान्यता हो तर सहनै नसक्ने स्थिति आए डिप्रेस भएर बस्नुभन्दा स्वतन्त्र रूपमा जीवनयापनका लागि ठोस निर्णय गर्नु सही ठहरिन्छ । जीवन भनेकै अमूल्य उपहार हो यसलाई खेर फाल्नु हुँदैन भन्ने कुरा बुझेपछि कसैले पीडादायी जीवन बिताउन चाहँदैन र सक्दैन पनि । सही निर्णयका रूपमा गरिएको सम्बन्धविच्छेदले कतिपय महिलालाई दलदलबाट निकालेर नयाँ जीवन प्रदान गरेको छ । यसले कानुनी मान्यता प्राप्त गर्‍यो भन्दैमा यसको दुरुपयोग गर्नेहरूको भने सारा जीवन दुःखदायी भएको पनि मैले देखेकी छु । त्यसैले सम्बन्धविच्छेद गर्नुअघि पर्याप्त विचार पुर्‍याएर निर्णय गर्नुपर्छ । विभिन्न पीडा-हिंसा खप्न बाध्य महिलालाई मुक्ति दिलाई समाजमा सम्मानजनक तरिकाले बाँच्न मद्दत पुर्‍याउनु यसको सकारात्मक पक्ष हो भने बालबालिका तथा स्वयंको आगामी जीवनमा मानसिक एवं सामाजिक रूपमा पार्ने असर सम्बन्धविच्छेदका नकारात्मक पक्ष हुन् ।







केदार रायमाझी, मनोवैज्ञानिक

मनोवैज्ञानिक रूपमा कुरा गर्नुपर्दा सर्वप्रथम सम्बन्धविच्छेदको परिणामलाई हेरिनुपर्छ । नेपाली सन्दर्भबाट हेर्दा कुनै पनि सम्बन्धविच्छेदलाई सुखद् रूपले हेर्न सकिँदैन । सहमतिमा सम्बन्धविच्छेद भएको भए पनि लामो समयदेखि सँगै बसेका दुई व्यक्ति छुट्टनिुपर्दा एक किसिमको तनाव, एन्जाइटी, चिन्ता, एडजस्टमेन्ट प्रोब्लम आदि आउँछन् । नचाहेर सम्बन्धविच्छेद गरेका छन् भने व्यक्तिमा ट्रमा -मानसिक आघात) देखापर्छ । मनोदेहिक समस्या -साइको सोम्याटिक प्रब्लम) हरू आउन सक्छन् । एन्जाइटी डिसअर्डर हुनसक्छ । कतिपय अवस्थामा त आत्महत्यासम्म पुग्न बेर लाग्दैन । अझ महिलालाई बढी सामाजिक तनाव उत्पन्न हुन्छ । त्यसमा पनि राम्री युवती छिन् भने त सामाजिक तथा शारीरिक समस्या अझ बढी आउन सक्छ । नेपाली समाज सहरीकरण तथा न्युक्लियर फेमिलीमा गैरहेको छ, यी कुराले गर्दा पनि एडजस्ट हुन कठिन भैरहेको छ एकल महिलालाई । खस्किँदो सामाजिक मूल्य-मान्यता, शिक्षा  र स्ट्याटस प्रोब्लमका कारण सम्बन्धविच्छेद बढ्दो छ । नेपालमा अहिले एउटा डिभोर्स, अर्को सेपरेटेड, तेस्रो डेजर्टेडजस्ता टे्रन्ड चलिरहेका छन् तर यी तीनमध्ये जुनसुकै भए पनि दुई व्यक्ति छुट्टनिु नै हो । कतिपय यस्ता व्यक्ति छन् जो सँगै बसेर पनि सँगै छैनन् । सँगै बस्नुको अर्थ त माया, प्रेम, केयर, बोन्डनेस चाहिन्छ, त्यो नभए सँगै बस्नुको के अर्थ ?

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by लक्ष्मी भण्डारी थापा
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
चिठी  [1]
कथा  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको... पूरा लेख »

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ... पूरा लेख »

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति... पूरा लेख »

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्।... पूरा लेख »

विज्ञापन