रमाइलो घुमघाम

हाम्रो देशका सुन्दर तालतलैया, पहाड, खोलानाला, संस्कृति, वनजङ्गल, जीवजन्तु, चराचुरुङ्गी आदि प्राकृतिक सौन्दर्य हेर्न विश्वका विभिन्न मुलुकबाट बर्सेनि हजारौं पर्यटक आउँछन् । उनीहरूलाई यहाँको सुन्दर वातावरण, स्वच्छ हावा-पानी तथा नेपाली संस्कार र सभ्यताले मोहित तुल्याउँछ । त्यसैले उनीहरू यहाँ आएर प्राकृतिक सौन्दर्यको रसास्वादन गर्छन् । हामीले आफ्नो देश कति घुमेका छांै ? एकपटक सोचौं त । हामी विदेशमा भएका विकास, त्यहाँको सुन्दरता तथा संरचनाका बारेमा कुरा गर्छौं तर हाम्रो देश पनि प्राकृतिक सुन्दरतामा विदेशभन्दा कम छैन । यहाँका खोलानालामा बग्ने स्वच्छ तथा सफा पानी, झरना आदि सबै कुरा हेर्न लायक छन् । हाम्रो देशका अधिकांश ठाउँ पर्यटकीय दृष्टिले उपयुक्त छन् । प्रकृतिमा रम्न एवं सुन्दर प्राकृतिक वातावरण, एडभेन्चर तथा एक्ससाइटमेन्ट रुचाउने मानिसका लागि प्याराग्लाइडिङ, बन्जी, र्‍यापmटिङ, टे्रकिङ, विविध प्रकारका संस्कृति, मठ-मन्दिर आदि हाम्रो देशका विशेषता हुन् ।

देश दर्शनका लागि अहिले उपयुक्त मौसम छ । असोज-कात्तिक महिनामा त्यति धेरै गर्मी वा जाडो हुँदैन । सबैतिर रमाइलो वातावरण हुन्छ । यतिबेला आफन्त तथा साथीभाइसँग घुम्न जानुको मज्जा पनि बेग्लै हुन्छ । यो आफ्नो कला, संस्कृति तथा सभ्यता बुभmन उपयुक्त अवसर पनि हुनसक्छ । यसका लागि विभिन्न ट्राभल एजेन्टहरुले विभिन्न प्याकेज ल्याएका छन् । उमा होलिडे ट्राभल्स एण्ड टुर प्राइभेट लिमिटेडका टुर अफिसर अनन्त राज गैरे भन्छन्, 'स्वदेश भ्रमण गर्दा धेरै पैसा खर्च हुँदैन । बजेटअनुसार देशका विभिन्न ठाउँ घुम्न सकिन्छ । यसका लागि धेरै समय पनि चाहिँदैन ।' गैरेका अनुसार विगतका तुलनामा नेपालीहरू आफ्नै देश घुम्ने ट्रेन्ड केही बढेको छ । बढ्दो आर्थिक स्तर, शिक्षा तथा केही जान्ने-बुझ्ने इच्छाले पनि नेपालीहरू आफ्नो देशका विभिन्न ठाउँको भ्रमण गर्न उत्साहित हुन्छन् । यसका साथै धार्मिक स्थलहरूको भ्रमण गर्नेे चलन पनि बढेको छ ।



विद्यार्थी टुर प्याकेज

समयः ६ रात ७ दिन

खर्चः १३ हजार ५ सय एक जनाका लागि

पहिलो दिनः यो टुरमा बिहान काठमाडौंबाट धादिङको घुमाउरो बाटो काटेर गोरखा पुगिन्छ । गोरखामा १ सय वर्षको इतिहास बोकेको गोरखा दरबार घुम्ने अवसर प्राप्त गर्न सकिन्छ । यो ऐतिहासिक दरबार राजा पृथ्वीनारायण शाहको पालाको हो । यहाँबाट तनहुँको बन्दिपुरमा १ रात बिताएपछि दोस्रो दिनको यात्रा प्रारम्भ हुन्छ ।

दोस्रो दिनः यो दिनको सुरुवात प्राचीन सभ्यता र संस्कृति बोकेको सुन्दर बन्दिपुरबाट आरम्भ हुन्छ । बन्दिपुर गण्डकी अञ्चलको सुन्दर पहाडी सहर हो । यहाँबाट घाँसी कुवा हेर्दै पर्यटकीय महत्व बोकेको सुन्दर नगरी पोखरा पुगिन्छ । घाँसी कुवा आदिकवि भानुभक्त आचार्यको जीवनसँग सम्बन्धित ऐतिहासिक ठाउँ हो । त्यसपछि सोही दिन पोखराको लेकसाइडमा बास बस्न पुगिन्छ । उक्त दिन पोखरामा लेकसाइडको नाइट सिन हेर्ने अवसर पनि प्राप्त हुन्छ ।  

तेस्रो दिनः पोखराका केही रमणीय ठाउँ घुमेर सिरुबारी हुँदै स्याङ्जा पुगिन्छ । स्याङ्जा नेपालकै पहिलो होम स्टेका रूपमा परिचित छ । यहाँ गुरुङहरूको सांस्कृतिक कार्यक्रम तथा नाचगानमा सामेल भएर दिनभरको थकान मेटाउन सकिन्छ । त्यसैले त्यहाँ एक रात बिताउनु राम्रो हुन्छ । होम स्टेमा पाहुनाको आतिथ्य सत्कारले मन प्रफुल्ल हुन्छ ।

चौथो दिनः स्याङ्जाबाट पाल्पाको रानीमहल दरबार पुगिन्छ । रानीमहललाई नेपालको ताजमहल भनिन्छ । खोलाको किनारमा अवस्थित रानीमहल प्रेमको प्रतीक हो, यसलाई खड्ग समशेरले आपmनी रानीको सम्झनामा निर्माण गरेका हुन् । यहाँ एक रात खोलाकै बगरमा टेन्ट राखेर बस्न सकिन्छ ।

पाँचौं दिनः सुन्दर वातावरणमा रानीमहलको अवलोकनपछि शान्तिभूमि लुम्बिनीको यात्रा प्रारम्भ हुन्छ ।  

छैठौं दिनः गौतम बुद्धको जन्मथलो लुम्बिनीको दर्शन गरेपछि चितवनको सौराहालाई गन्तव्य बनाइन्छ । बेलुकीपख सौराहामा पुगेर केही बेर आराम गरेपछि त्यहाँका आदिवासी थारू जातिको सांस्कृतिक कार्यक्रममा सामेल हुने अवसर प्राप्त हुन्छ । थारू संस्कृतिको अवलोकन गर्दै उनीहरूसँग नाचगान कार्यक्रममा सहभागी हुन सकिन्छ ।

सातौं दिनः यो यात्राको अन्तिम दिन हो । चितवन राष्ट्रिय निकुञ्जभित्र तथा आसपासका कार्यक्रम सकेर काठमाडांै फिर्ता हुने कार्यक्रम हुन्छ । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी अथवा जिप सफारी गर्न सकिन्छ । हात्तीमा बसेर होस् अथवा जिपमै किन नहोस् जङ्गल घुम्नुको अनुभव अविस्मरणीय हुन्छ । जङ्गलमा गैंडा, जरायो, खरायो, बँदेल, बाघ आदि जनावर अवलोकन गर्न सकिन्छ । त्यसपछि केही बेर आराम गरेर प्राकृतिक सुन्दरता अवलोकन गर्दैर् काठमाडांै र्फकने यात्रा प्रारम्भ हुन्छ ।







धार्मिक यात्रा

अवधिः ६ रात ७ दिन, खर्चः १५ हजार एक

जनाका लागि

यो धार्मिक प्याकेजमा नेपालका विभिन्न धार्मिक स्थलको दर्शन गर्न सकिन्छ । धर्मकर्ममा विश्वास गर्ने मानिसका लागि यो प्याकेज उपयुक्त छ । यो प्याकेजको पहिलो दिन काठमाडौंबाट प्रस्थान गरेपछि मनकामना देवीको दर्शन गरिन्छ । मनकामना दर्शनका लागि केबलकार प्रयोग हुन्छ । त्यसपछि देवघाटतर्फको बाटो लागिन्छ ।

दोस्रो दिनः देवघाटबाट मौलाकाली मन्दिरको दर्शन गर्न सकिन्छ । गैंडाकोटस्थित मौलाकाली मन्दिर जङ्गलको बीच पहाडको टुप्पोमा छ । त्यहाँ जाँदा २ सयभन्दा बढी खुड्किला चढ्नुपर्छ  । त्यहाँ पैदल यात्राका क्रममा बाटामा पाइने सुन्दर फूल-बिरुवाले थकानको अनुभव हुन दिँदैनन् । त्यसपछि गैंडाकोटमा बाल्मीकि आश्रम दर्शन गरेर त्रिवेणी धामतर्फको यात्रा तय हुन्छ ।

तेस्रो दिनः शान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मनमोहक वातावरणमा केही क्षण भए पनि हराउन सकिन्छ । लुम्बिनीको शान्त वातावरणले मनै आनन्दित तुल्याउँछ । लुम्बिनी घुमेर सिद्धबाबा र बुटवल हुँदै सोही दिन बास बस्न बाग्लुङ पुगिन्छ ।  

चौथो दिनः कालिका भगवतीको पूजा गरेर बाग्लुङको गलेश्वर धाम पुगिन्छ । त्यसपछि बेनीको सुन्दर वातावरणमा त्यहीँ रात बिताइन्छ ।

पाँचौं दिनः बेनीबाट जोमसोमको यात्रा सुरु हुन्छ ।

छैठौं दिनः प्रख्यात मुक्तिनाथ मन्दिरको दर्शन गर्न कागबेनीमा ऋषितर्पणी हुँदै लेते मुस्ताङतर्फ लागिन्छ । मन्दिरको दर्शन र वरपरको सेरोफेरो घुमेर त्यो दिन सोही ठाउँमा बास बसिन्छ ।

सातौं दिनः लेतेबाट आफूले गरेका पूजाआजाको सम्झना गर्दै काठमाडौं फिर्ता भइन्छ ।







बन्जी जम्पिङ

समयः १ दिन, खर्चः ४ हजार

काभ्रेको भोटेकोसी बन्जी जम्पिङका लागि उत्कृष्ट गन्तव्य हो । जीवनमा एकपटक भए पनि गर्नैपर्ने बन्जी जम्पिङ साहसिक तथा रोचक खेल मन पराउनेहरूका लागि उपयुक्त छ । नेपालको पहिलो बन्जी जम्पिङ साइट भोटेकोसीभन्दा १ सय ६० मिटर उचाइमा छ । काठमाडांैबाट ३ घन्टाको बस यात्रामा पुग्न सकिने यो ठाउँ नेपाल-तिब्बत सीमामा छ । अनुभवी जम्प मास्टरको रोहबरमा गरिने बन्जी जम्पिङको अनुभव जीवनमा एकपटक मात्र भए पनि गर्नैपर्छ । बन्जी जम्पिङलाई नै लक्षित गर्दै ४ सेफ्टी फ्याक्टरलाई ध्यानमा राखेर स्वीस डिजाइनमा यसको पुल निर्माण गरिएको छ । आँखा बन्द गरेर जम्प गर्नुको मज्जा, अनुभव तथा रोचकता विशेष हुन्छ । जम्प गर्नुभन्दा पहिले रगतको  परीक्षण, उचाइ, तौल आदिको नाप लिइन्छ । जम्प गर्न उपयुक्त भए जीवनमा विशेष अनुभव बटुल्न सकिन्छ ।   

-माथि उल्लेखित मूल्यमा काठमाडांैबाट दुईतर्फी यातायातको व्यवस्था र बिहानको एक छाक खाना समावेश छ ।)





र्‍याफ्टिङ

समयः १ दिन

खर्चः त्रिशूलीमा १ हजार ५ सय, भोटेकोसीमा १ हजार ८ सय एक

जनाका लागि

दैनिक उही भागदौडको जीवनबाट टाढा मन तथा मस्तिष्क प|mेस गर्न र्‍याफ्टिङ गर्नु उपयुक्त हुन्छ । त्यसमा पनि आफन्त तथा साथीभाइको समूह बनाएर र्‍यापmटिङका लागि त्रिशूली अथवा भोटेकोसीतर्फ जाँदाको मज्जा बेग्लै हुन्छ । यो प्याकेजमा काठमाडौंबाट दुईतर्फी यातायातको व्यवस्था, ३ घन्टाको साहसिक र्‍याफ्टिङ तथा बिहानको खाना समावेश छ ।

कामको तनावबाट टाढा एक दिनका लागि मात्र भए पनि यसले कैयांै दिनको थकानबाट मुक्त राख्न सहयोग गर्छ । पानीको छालमा बग्दै रमाइलो गर्नुको आनन्द विशेष हुन्छ । त्यसमा पनि पानीमा गरिने साहसिक तथा जोखिमपूर्ण यात्राले यसलाई पूर्ण बनाउन सकिन्छ । भोटेकोसी छोटो जल यात्राका लागि उपयुक्त छ । यहाँ र्‍याफ्टिङका साथमा सिनिक ब्युटी, पुरातत्व आदि विविध कुराको अनुभव बटुल्न सकिन्छ । त्यसैगरी, धार्मिक दृष्टिकोणले महत्व बोकेको त्रिशूली नदी र्‍याफ्टिङका लागि आइडियल र्‍याफ्टिङ टि्रप साबित हुन सक्छ । काठमाडौबाट केही घन्टाको दूरीमा रहेको यो साहसिक यात्राले जीवनमा वाइल्ड अनुभव बटुल्ल चाहनेहरूलाई सुन्दर क्षण प्रदान गर्छ । यो नदी ठूलो, बाउन्सी तथा अरूभन्दा सुरक्षित पनि छ । भोटेकोसी होस् वा त्रिशूली र्‍याफ्टिङमा जाँदा सुरक्षा गार्डको आवश्यकता पर्छ । यो र्‍याफ्टिङको क्षणलाई जीवनभरका लागि अविस्मरणीय बनाउन सकिन्छ ।





द गोल्डेन ट्राङ्गल

गन्तव्यः दिल्ली, आगरा र जयपुर

समयः ४ रात ५ दिन

मूल्यः टुइन सेयरिङ बेसिसमा २९ हजार ८ सय

एयरलाइन्सः काठमाडौं-दिल्ली-काठमाडौं

नेपालको छिमेकी मुलुक भारत टुरका हिसाबले नजिक तथा तुलनात्मक रूपमा राम्रो गन्तव्य हो । यहाँ घुम्न जाँदा आर्थिक रूपमा पनि त्यति धेरै बोझ पर्दैन । मिल्दोजुल्दो भाषा तथा सभ्यताले गर्दा भारत जान पनि सजिलो छ । भारतको राजधानी दिल्लीमा इन्डोस्लामी आर्टिटेक्चरको उदाहरण कुतुब मिनार घुम्न पाइन्छ । ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको यो ठाउँलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको छ । यहाँबाट लक्ष्मीनारायण मन्दिर, लोटस मन्दिर, राजघाट, शान्ति वन, जामे मस्जिद हुँदै आगरा पुगिन्छ । कमलको फूल आकारको लोटस टेम्पल हरेक धर्मका मानिसका लागि खुल्ला छ । आधा खुलेको पेटलको आकारको लोटस टेम्पलमा २७ वटा पेटल छन् । यसलाई भारतीयहरूको आस्था, इमान्दारिता तथा आपसी सद्भावका रूपमा पनि लिइन्छ । लक्ष्मीनारायण मन्दिर प्रसिद्ध मन्दिर पनि हो । मन्दिरको नाम लक्ष्मीनारायण भए पनि यहाँ अरू देवी-देवता पनि स्थापना गरिएको छ । त्यसैगरी दिल्लीमा राजघाट पुग्न पनि छुटाउनु हुँदैन । राजघाट भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थल हो । मार्बलले निर्माण गरिएको यो समाधिस्थलमा कालो मार्बल  प्रयोग गरिएको छ । राजघाटपछि अर्को घुम्नैपर्ने ठाउँ शान्ति वन हो । शान्ति वन अर्थात् शान्ति बगैंचा राजघाटसँगै छ । यो भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको सम्झनामा निर्माण गरिएको समाधिस्थल हो । त्यसैगरी जामे मस्जिद प्राचीन समयमा निर्माण गरिएको मस्जिद हो । यहाँबाट रेड प|mोट हुँदै आगरा पुगिन्छ । आगरालाई माया तथा पे्रमको सुन्दर नगरी पनि भनिन्छ । यहाँको ताजमहल राजा शाहजहाँले आफ्नी रानी मुमताजको सम्झनामा बनाएका हुन् । यो महलपछि आगरा प|mोट हेर्न पाइन्छ । आगरा प|mोट हुँदै जयपुरको यात्रा तय गरिन्छ ।

जयपुरमा हावा महल, सिटी महल तथा अम्बर प|mोटको भ्रमण गर्न सकिन्छ । हावा महल मध्ययुगको एउटा सुन्दर कलाकृति हो । यहाँ भएका स-साना झ्यालबाट तातो हावा आए पनि भित्र हावा छिर्दा चिसो हुने विश्वास गरिन्छ । त्यसैगरी अम्बर किल्ला आर्टिस्टिक डिजाइनका लागि लोकपि्रय छ । यो निकै अग्लो ठाउँमा छ । राजा मान सिंहले निर्माण गरेको यो महल निकै सुन्दर छ । त्यसैगरी सिटी प्यालेसमा मुबारक महल, चन्द्र महलजस्ता थुप्रै महल छन् । जयपुरको सेन्टरबाट नर्थइस्टमा पर्ने यो महल सुन्दर कलाकृतिको अनुपम उदाहरण हो ।





प्याकेज काठमाडौं-इलाम टुर



समयः ४ रात ५ दिन

खर्चः १२ हजार एक जनाका लागि

पहिलो दिनः काठमाडौंको धूलो, धूवाँ, प्रदूषण तथा कोलाहलबाट टाढा थानकोट नाका छिचोल्दै पहिलो दिन गोरखा दरबार पुगिन्छ । गोरखा दरबार ऐतिहासिक दरबार हो । नेपाल एकीकरणका बेलामा विशेष महत्व बोकेको यो ठाउँ पहाडको चुचुरोमा छ । यहाँबाट मनास्लु हिमचुलीको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । त्यसपछि गोरखाबाट चितवनतर्फ लागिन्छ । त्यो दिन चितवनमै बास बसिन्छ । सोही दिन बेलुका थारू संस्कृति अवलोकन गर्न सकिन्छ । उनीहरूसँग रम्दै बास बस्नुको मज्जा लिन सकिन्छ ।  

दोस्रो दिनः यो दिनको सुरुवात चितवन राष्ट्रिय निकुञ्जबाट हुन्छ । यहाँका विविध प्रकारका बोट-बिरुवा, चराचुरुङ्गी, जङ्गली जनावर देख्दा मनै हषिर्त हुन्छ । करिब १ घन्टा ३० मिनेटको यो जङ्गल सफारी सकेर केही बेरको आरामपछि दामनको यात्रा सुरु हुन्छ । दामन मकवानपुर जिल्लामा पर्छ । यो नेपाल अधिराज्यमै  सबैभन्दा कम उचाइमा हिउँ पर्ने ठाउँका रूपमा परिचित छ । यहाँको सुन्दर प्राकृतिक बनोटले सबैलाई लोभ्याउँछ ।

तेस्रो दिनः सूर्योदयसँगै दामन घुमेर धरानतर्फको यात्रा आरम्भ हुन्छ । धरानका प्रख्यात मन्दिर बूढा सुब्बा, दन्तकाली तथा पिण्डेश्वरको दर्शनपछि रात्रि बास त्यहीँ हुन्छ ।

चौथो दिनः  धरानबाट भेंडेटारको यात्रा प्रारम्भ हुन्छ । भेंडेटार सानो तर सुन्दर ठाउँ हो । यो स्थान कोलाहल तथा प्रदूषणमुक्त छ । त्यसपछि पाथीभरा माईको दर्शन गर्न त्यसतर्फ जान सकिन्छ । भेंडेटारमा भ्यु टावरबाट कोसी अञ्चल आसपासका मनोरम दृश्यहरू नियालेर विश्वकै घुम्न लायक स्थानहरूमध्ये आठौंमा पर्न सफल नाम्जेको होम स्टे तथा आत्मा बस्ने घर अवलोकन गर्न सकिन्छ । त्यसपछि फिक्कलतर्फको यात्रा आरम्भ हुन्छ ।

पाँचौं दिनः चिया बगानले सु-सज्जित इलाम पुगिन्छ । इलाम चिया बगानका लागि प्रख्यात छ । यहाँको अन्तुडाँडाबाट सूर्योदयको मनमोहक दृश्य अवलोकन गरेपछि काठमाडौं फिर्ता आइन्छ ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन