महिलाहरूको परिष्कृत छवि

समयअनुसार महिलाहरू निकै परिष्कृत भैसकेका छन् । उनीहरूले आफ्नो परिचयलाई विस्तृत बनाइरहेका छन् । उनीहरू अहिले सबैतिर छाइरहेका छन् र महिलाको परिभाषामै परिवर्तन ल्याइदिएका छन् । पुरुषहरूको वर्चश्वलाई विस्तारै कम गर्दैछन् । बल, बुद्धि एवं विवेकले कुनै पनि कामको समाधान खोज्न उनीहरू सबल बन्दै गएका छन् । महिलाहरूले आफ्नो पाइला सगरमाथासम्म पुर्‍याइसकेका छन् । त्यसैले पुरातन समाजले व्याख्या गरेको आनीबानी अब महिलाहरूमा लागू हुँदैन । एक ममतामयी आमा युद्धको अगुवाइ गर्न सक्छिन् । एक कर्मनिष्ठ श्रीमती फेसन शोको र्‍याम्पमा उत्रन सक्छिन् भन्ने कुरा उनीहरूले साबित गरिसकेका छन् । महिलाहरूले पनि पुरुषहरूले गर्न सक्ने सबैजसो काम गर्न सक्छन् । उनीहरू समयअनुसार चल्न थालेका छन् । अब उनीहरूलाई इच्छानुसारका सामान खरिद गर्न कसैले रोक्न सक्दैन । आफ्नै आर्जनले उनीहरू घर तथा गाडी खरिद गरेर कुद्न सक्छन् । आर्थिक रूपमा सम्पन्न महिलाहरूले आफ्नो जीवन धान्न कसैसँग हात थाप्नु पर्दैन । उनीहरू शिक्षित, सबल तथा विलक्षण प्रतिभाका धनी छन् । गृहिणीहरूले पनि घरमै बसेर स्वरोजगारको बाटो अपनाइरहेका छन् । प्रविधिसँग पनि उनीहरूको घनिष्ट सम्बन्ध छ । अधिकांश महिला कम्प्युटर चलाएर तथा हातमा मोबाइल घुमाएर संसारलाई आफै वरिपरि राख्न सक्षम छन् । मनोरञ्जनका लागि उनीहरू आफै कार्यक्रम बनाउँछन् । उनीहरूले आफ्ना लागि पनि स्पेस दिन थालेका छन् । समय व्यवस्थापन गर्दै उनीहरू आफ्नो ग्रुमिङका लागि पार्लर, क्लब, बुटिक तथा फेसन हाउस धाउन थालेका छन् । उनीहरू विविध प्रकारका व्यावसायिक तालिम लिन्छन् । समयसँगै मनमा लागेका कुरा तथा आफ्नो रहरलाई खुलस्त भन्न्ा सक्ने भएका छन् । बिस्तारै पारिवारिक कुसंस्कारलाई तोडेर स्वतन्त्र वातावरणमा सास लिन थालेका छन् ।

त्यसैले अहिलेका महिलाहरूको नामका पछाडि बी फाइभ जोडिन थालेको छ । धेरैजसो महिला बी फाइभ सर्वनामका लागि उपयुक्त छन् । आफ्नै अदम्य साहसले उनीहरूले आफ्नो छविलाई यसरी परिवर्तन गर्न सकेका हुन् । बी फाइभमा ब्युटिफुल, बि्रलियन्ट, बोल्ड, बिहेभियर तथा ब्रेभ समाहित छन् । यी पाँचै तत्व महिलामा अन्तर्निहित छन् । यिनै तत्वहरूले महिलाहरूको अस्तित्वमा परिवर्तन ल्याएको छ । सबैले महिलाहरूमा यिनै पाँच तत्व हेर्ने गरेका छन् । अहिले यिनै गुण भएकाहरूलाई पूर्ण महिलाको दर्जा दिइन्छ ।



महिला तथा सौन्दर्य

महिलालाई प्रकृतिको सबैभन्दा सुन्दर र पूर्ण संरचना मानिन्छ । महिलाहरू नभएका भए यो संसार कुरूप हुने थियो । यो भनाइ धेरै शोधबाट पुष्टि भएको छ भने पुरुषहरूले पनि यसलाई स्वीकार गरेका छन् । पृथ्वीमा जति राम्रा विकास भएका छन्, ती महिलाकै कारणले भएका हुन् भन्दा अत्युक्ति नहोला । महिलाहरू ३२ लक्षणले युक्त हुनुपर्छ भन्ने मान्यता छ । परापूर्वकालदेखि महिलाहरूको सुन्दरताकै कारण अनेकौं घटना पनि घटेका छन् । महिलाहरूको सौन्दर्यको बखान हरेक पक्षमा हुन्छ । चाहे त्यो गीत, कविता वा कथा नै किन नहोस् महिलाहरूको सौन्दर्यबिना ती सिर्जना अधूरा हुन्छन् । नारी हरेक कुरामा आकर्षक एवं सुन्दर हुन्छन् । यही सुन्दरताले विभिन्न कार्यक्रमको अवधारणा सुरु भएको छ । यो महिलाहरूका लागि सबैभन्दा महत्वपूर्ण पक्ष हो । कुनै पनि मानिस महिलाहरूप्रति आकषिर्त हुनुका पछाडि उनको सुन्दरता नै प्रमुख कारण हुन्छ । उनी सुन्दर देखिएपछि जोकोही उनीसँग गफिन तथा रम्न चाहन्छन् । बाहिरी सुन्दरतापछि भित्री सुन्दरता आउँछ । मानिसको मूल्यांकन पहिलो झलकबाट गरिन्छ । मानिसको हाउभाउ तथा व्यवहार एउटा महत्वपूर्ण पक्ष हो तर जहाँ पनि पहिलो व्यक्तित्व नै महत्वपूर्ण हुन्छ । सुन्दरता नै महिलाहरूको प्रकृतिप्रदत्त उपहार हो  । सुन्दरताले गर्दा उनीहरूले यो संसारमा विजयश्री प्राप्त गरेेका छन् । त्यसो त अहिले सुन्दर बन्ने होड चलिरहेको छ । महिलाहरू सधैं सुन्दरताका प्रतिमूर्ति मानिन्छन् । अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने जोकोही सुन्दर बन्न चाहन्छन् । महिलाहरू 'आहा कति राम्री' भनेको सुन्न चाहन्छन् । यही सुन्दर पक्षले अहिले उनीहरू सबैतिर छाएका पनि छन् । उनीहरूको प्रभुत्व चलचित्र, नृत्य, विज्ञापनजस्ता अर्थव्यवस्थाको हरेक पक्षमा हुने गरेको छ । मानिसको सौन्दर्यलाई मापन गर्ने पद्धति व्यक्तिअनुसार फरक भए पनि बाहिरी व्यक्तित्व नै सौन्दर्यको पहिलो पंक्तिमा आउँछ ।



व्यवहार

महिलाहरू मृदुभाषी, हँसमुख, नम्र तथा सन्तुलन मिलाएर जीवनपथलाई अघि बढाउन सक्ने हुन्छन् । उनीहरू आफ्नो व्यवहारले संसारलाई आफ्नो मुठीमा राखेर अघि बढ्न सक्छन् । नम्रता, धीरता, सहनशीलता एवं अनुशासन आदि गुणले उनीहरूप्रति जोकोही नतमस्तक हुन्छन् । उनीहरू अन्याय सहन सक्दैनन् । समाज तथा परिवारका लागि उनीहरू सधैं लागिपर्छन् । उनीहरूको राम्रो व्यवहारले परिवारका सबै सदस्य आफ्नो बाह्य संसारमा स्थापित हुन सक्छन् । उनीहरूको व्यवहारले जीवन सुखमय हुन्छ । महिलाले एउटा राम्रो जनशक्ति उत्पादन गर्न देशलाई टेवा दिइरहेकी हुन्छिन् । उनको राम्रो व्यवहारले परिवार सिञ्चित हुन्छ । राम्रो व्यवहारले समाजमा उनीहरूको अलग पहिचान बनेको छ । कतिपय निर्णय महिलाहरूको सहभागिताबिना असम्भव प्रायः छ । महिलाहरूको व्यवहारले घरको वातावरण पनि सुन्दर हुन्छ । महिलाहरू घरमा असल आमा, बुहारी तथा कार्यालयमा एक दक्ष सहकर्मीको भूमिकामा खरो उत्रन सक्छन् । उनीहरूको चाहना शान्ति एवं प्रगतिकै हुन्छ । उनीहरूलाई झगडा तथा अराजकता

मन पर्दैन ।



बहादुरी

नारीको शक्तिलाई कसैले आँकलन गर्न सक्दैन । उनी धैर्यकी प्रतिमूर्ति हुन् भने पर्दा कालीको रूप धारण गर्ने सामथ्र्य पनि उनमा हुन्छ । उनको बहादुरीको बखान हाम्रा धार्मिक एवं पौराणिक पुस्तक तथा विभिन्न ऐतिहासिक किंवदन्तीहरूमा पाइन्छ । झाँसीकी रानी, योगमाया उपाध्याय, महारानी लक्ष्मीबाई, रानी राजेन्द्रलक्ष्मी आदिका बहादुरी चर्चित छन् । युद्धमा अस्त्र चलाउन सिपालु उनीहरूले कुनै पनि रणभूमिमा उत्रन हिचकिचाएनन् । आफ्ना श्रीमान्हरू युद्धमा जानुअघि पनि उनीहरू विजयी भव भन्दै उनीहरूलाई युद्धमैदानमा पठाउँछन् । महिलाहरूमा बहादुरीको कमी छैन । जुनसुकै युद्धमा पनि उनीहरू आफूलाई होम्न पछि पर्दैनन् । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि त्यसलाई सामना गर्ने सामथ्र्य महिलाहरूमा छ । ठूला-ठूला जनमत संग्रह तथा आन्दोलनमा महिलाहरूको भूमिकामा केन्द्रमा छ । महिलाहरूले इतिहासदेखि नै वीरताका अनेकौं उदारहरणीय कार्य गर्दै आएका छन् । एउटी महिला हरेक तह तथा तप्कामा लडिरहेकी छिन् । महिलाले आफ्नो जीवनलाई आहुति दिएर नयाँ सन्तान जन्माउने आँट गर्छन् । उनीहरू बाहिरी रूपमा मात्र होइन भित्री रूपमै पनि निकै निडर तथा बहादुर हुन्छन् ।



प्रतिभाशाली

महिलाले जस्तो पुरुषले दिमाग लगाएर काम गर्न सक्दैनन् । महिलाहरू निकै सोच-विचार पुर्‍याएर निर्णय गर्छन् । त्यसैले उनीहरूले लिएको निर्णय सकेसम्म गलत हुँदैन । उनीहरू हरेक काम इमान्दारीपूर्वक गर्छन् । ढाँट्ने-छल्ने काम उनीहरूबाट हुँदैन । उनीहरू हरेक क्षेत्रमा सफल छन् । कुनै पनि विषयलाई उनीहरूले चारैतिरबाट अध्ययन गरिसकेका हुन्छन् । राजनीति तथा व्यापार दुवैमा महिलाहरूले आफ्नो स्थान सुरक्षित बनाइसकेका छन् । महिलाहरू ठूला-ठूला प्रोजेक्टका योजनाकार पनि बन्दैछन् । उनीहरूमा घर निर्माण गनर्ेे मात्र होइन विश्व हाँक्न सक्ने शक्ति छ । घरमा पोते उन्ने कामदेखि कारखानाको स्वीच दबाउन पनि महिलाहरू नै  अगाडि छन् । यस्ता प्रतिभाशाली महिलाहरूले विस्तारै प्रश्रय पाउँदैछन् । उनीहरू अहिले हरेक क्षेत्रमा आफ्नो प्रतिभा तिखारिरहेका छन् ।



बोल्ड

अहिले महिलाहरूको परिभाषा परिवर्तन भएको छ । उनीहरूले लाजको पोकोलाई मिल्काइसकेका छन् । महिलाहरू आफ्नो मनमा लागेको कुरा सजिलै सबैका सामु निर्धक्क व्यक्त गर्न सक्छन् । कुनै जमानामा महिलाहरूलाई लाजका प्रतिमूर्ति बनाइन्थ्यो । उनीहरूलाई सधैं घरको चौघेरामा अलमल्याइन्थ्यो तर अहिले त्यो परिस्थिति छैन । अहिले महिलाहरू कसैका सामु झुक्दैनन् । उनीहरू जन्मजात बोल्ड हुन्छन् तर यो समाजले उनीहरूको त्यो सामथ्र्यलाई जरैदेखि उखेलेर फालिदिन खोज्छ । उनको यो सामथ्र्य एवं सबैभन्दा ठूलो क्षमतामा अवरोध ल्याइदिन खोज्छ । अहिले यस्तै अवरोधका कारण समाजमा पिछडिएर जीवन यापन गर्न बाध्य महिलाहरूले आफूलाई निकै सुधार गरेका छन् । अहिले उनीहरू आफ्नो आवाज गुम्स्याएर राख्दैनन् । परिवारलाई सम्झाएर आफ्नो लक्ष्य निर्धारण गर्छन् । उनीहरू विवाह पनि आफूले गर्न मन लागेको समयमा गर्छन् । वैवाहिक सम्बन्ध राम्रो भएन भने सम्बन्ध विच्छेद गरी स्वतन्त्र बस्न पनि तयार हुन्छन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

 
epaper-logo
Other news by भिरना नहर्की
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
फेसन  [2]
चिठी  [1]
सबै हेर्नुहोस् »

यस अंकका मुख्य लेखहरू

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला... पूरा लेख »

शुभारम्भ नयाँ जीवनको

नयाँ जीवनको शुभारम्भका लागि पहिलो सूत्र हो-सकारात्मकता। यसबाहेक... पूरा लेख »

जुम्ल्याहा छोराछोरी र आमा

एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु... पूरा लेख »

अन्तर्राष्ट्रिय पुष्प मेला सम्पन्न

गत महिना राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प... पूरा लेख »

विज्ञापन