मुख्य समाचार»
ओली निवासमा तीन दल
- सहमतिकै प्रतिबद्धता
भक्तपुर, २०६६ कार्तिक १७ - प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताले शान्ति प्रक्रियालाई तात्त्विक निष्कर्षमा पुर्याएर तोकिएको समयभित्रै संविधान निर्माणका लागि नयाँ उचाइको समझदारी कायम गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले नेता केपी शर्मा ओली निवास बालकोटमा मंगलबार साँझ अबेरसम्म भएको रात्रिभोजसहितको छलफलमा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री माधवकुमार नेपाल समेत सम्मिलित बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल र सहमहामन्त्री रामशरण महत तथा एमाले महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए ।
दाहालले दलहरूबीच देखिएको गतिरोध अन्त्यका लागि गम्भीरता साथ छलफललाई निरन्तरता दिने सहमति भएको बताए । राजनीतिक गतिरोध अन्त्य र बजेट समयमै पारित गर्ने उद्देश्यले आयोजित छलफलमा माओवादी निकै लचिलो भएको अन्य दलका नेताले बताए ।
'ओली निवासमा माओवादीका चारै शीर्ष नेता आउनु लचकता हो,' एक नेताले बताए । ओली माओवादीका कटु आलोचक हुन् ।
'पहिले बजेट पारित गर्नुपर्यो त्यसपछि असहमतिका अन्य विषयमा छलफल गर्दै जाउँला भन्दा माओवादीलाई सकारात्मक पाएँ,' कांग्रेस नेता पौडेलले भने । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर नयाँ संविधान लेख्ने पहिलेको साझा लक्ष्यमा कसरी केन्दि्रत हुनेबारे वार्ता भएको उनले बताए ।
'माओवादीलाई अरू दल मिलेर सिध्याउने हुन् कि भन्ने आशंका रहेछ,' उनले भने । माओवादी उपाध्यक्ष श्रेष्ठले पनि नयाँ शिराबाट जरैमा पुगेर समस्याको समाधान गर्नेगरी छलफल सुरु भएको र सहमतिमा पुग्ने विन्दुसम्म निरन्तर जारी राख्ने समझदारी भएको बताए ।
'बजेट पारित गर्ने समयअघि नै गतिरोध अन्त्य भए सबै कुरा सकिन्छ,' उनले भने । एमाले नेता ओलीले 'छिचोलेरै कुरा गरौं भनेर बैठकको आयोजना गरेको' बताए ।
'संविधान लेख्न सात महिनामात्र बाँकी छ । दुई तिहाइको सहमतिबिना संविधान बन्दैन । त्यसैले सहमतिको विकल्प छैन,' उनले भने ।
'आजको छलफलले आशा पलाएको छ, यसलाई निष्कर्षमा नपुर्याई छोडिन्नँ,' उनले भने । साँझ सवा सात बजे सुरु रात्रिभोजसहितको छलफल साढे ९ बजेतिर सकिएको थियो ।












