मुख्य समाचार»
माओवादीद्वारा नगरपालिका कब्जा
धनकुटा, २०६६ कार्तिक १६ - एकीकृत माओवादीले सोमबार धनकुटा नगरपालिका कब्जा गरी पदाधिकारीसमेत मनोनयन गरेको छ । माओवादी कार्यकर्ताले बिहानै नगरपालिका हाताभित्र प्रवेश गरी कार्यालय कब्जा र नगरप्रमुख, उपप्रमुख र वडा सदस्य मनोनयन गरेको घोषणा गरेका थिए ।
नगरपालिका प्रमुखमा गणेश बिष्ट र उपप्रमुखमा कविता राई कन्दङबालाई मनोनयन गरिएको जिल्ला सहइञ्चार्ज पुष्प ढुंगानाले घोषणा गरेका थिए । ९ वडा रहेको धनकुटा नगरपालिका सदस्यहरूमा हर्क सुब्बा, भक्त कार्की, यज्ञ भण्डारी, तीर्थसिं राई, हरि प्रधान, लक्ष्मी पौडेल, सुरेन्द्र राई, सानकी राई र सुमन राईलाई मनोनयन गरेको बताए ।
मनोनीत पदाधिकारीलाई सहइञ्चार्ज ढुंगानाले शपथग्रहण गराएका थिए । कार्यक्रममा लिम्बुवान स्वायत्त गणराज्यअन्तर्गत जनसंविधानको धारा ४७ उपदफा २ अन्तर्गत पदाधिकारी चयन गरिएको जनाइएको थियो । उनीहरूले कर्मचारीहरूलाई आफ्नो नीतिअनुसार काम गर्न निर्देशनसमेत दिए ।
नगरपालिका कब्जा गरेको घटनाप्रति यहाँका राजनीतिक दलले विरोध जनाएका छन् ।
उक्त घटना गम्भीर र आपत्तिजनक भएको एमालेले प्रतिक्रिया दिएको छ । एमाले जिल्ला अध्यक्ष्ा राजेन्द्र राईले जबर्जस्ती स्थानीय निकाय कब्जा गर्नु 'गाईजात्रे ताल' भएको टिप्पणी गरे । जबर्जस्ती कार्यालयमा गएर कथित पदाधिकारी चयन गरिएको कार्यप्रति उनले एमालेका तर्फबाट भत्र्सनासमेत गरेका छन् ।
त्यस्तै नेपाली कांगे्रसका जिल्ला सभापति मनोहरनारायण श्रेष्ठले माओवादीको यो कदम जनहितविपरीत भएको बताए । उनले कान्तिपुरसँग प्रतिक्रिया दिँदै हिंसालाई त्यागेर सहमतिको राजनीतिमा आउन माओवादीलाई सुझाव दिए । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नगरपालिका कब्जा भएको सुन्दा आफूलाई आश्चर्य लागेको बताए । आफू जिल्लामा नभएको अवस्थामा उक्त कार्य भएकाले थप कुरा भोलि बुझ्ने उनले बताए ।












