धरान, माघ २८ -
ठूला प्रतियोगितामा तयारीबिना उत्रँदा त्यसको असर नतिजामा परिहाल्छ । यस्तै, परिस्थितिबाट गुजि्रयो, घरेलु टिम पूर्वाञ्चल । आइतबार सुरु भएको इजी राइडर्स अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिबलमा उसलाई स्टार खेलाडीले भरिएको पश्चिमाञ्चलले ३-० सेटमा हरायो ।
सात दिनको अभ्यासमा पब्लिक स्कुलको कोर्टमा उत्रिएको पूर्वाञ्चलका खेलाडी हरेक पक्षमा कमजोर रहे । बल रिसिभ, सर्भिस, स्पाइक, टिम कम्बिनेसन लगायत भलिबल खेलका लागि चाहिने हरेक पक्षमा पूर्वका खेलाडी चुके । उपाधिको दाबेदार मानिएको पश्चिमाञ्चलका खेलाडीलाई भने समूहको अर्को खेलमा पुलिसविरुद्ध खेल्नुअघि अभ्यास जस्तो मात्र भयो ।
'विपक्षी नै कमजोर पर्यो,' पश्चिमाञ्चलकी सहायक प्रशिक्षक कौशिला खत्रीले भनिन्, 'यसलाई पुलिससँगको तयारीका रूपमा लिन सकिन्छ ।' पूर्वका प्रशिक्षक गौरी चौधरी भने खेल सकेलगत्तै टिमलाई मैदानमै छाड्दै गन्तव्यतर्फ लागेका थिए । पूर्वकी कप्तान जप्वनी राईले कम तयारी नै हारको कारण भएको बताइन् ।
पहिलो सेटमा पश्चिमाञ्चलकी कप्तान ऋषिसरा थापाले सर्भिस गर्दै टिमलाई लगातार ३ अंक दिलाइन् । पूर्वका खेलाडीले उनको सर्भिस रिसिभ नै गर्न सकेनन् । त्यसपछि मञ्जु गुरुङ, परीक्षा गुरुङ, सरस्वती चौधरीको स्पाइकलाई घरेलु खेलाडीले रोक्न सकेनन् र पश्चिमाञ्चलले ९-० को अग्रता लियो । पूर्वले त्यसपछि एक अंक बटुल्दै शून्यमा हार्नबाट बचेको थियो ।
चौध मिनेट चलेको पहिलो सेटमा मञ्जुले म्याच प्वाइन्ट ल्याउँदै पश्चिमाञ्चललाई २५-८ को जित दिलाइन् । दोस्रो सेटमा पूर्वले दर्शकको उत्साहका साथ केही राम्रो खेल्ने कोशिष गर्यो । पश्मिाञ्चलले १९ मिनेट चलेको सेट २५-१४ ले जित्यो । भलिबल खेल जित्नका लागि चाहिने हरेक पक्षको कमजोरी पूर्वका खेलाडीमा देखियो ।
उसका शारदा गजमेर र जीवनीले केही सुधारिएको प्रदर्शन गरेका थिए । तेस्रो सेटमा पश्चिमाञ्चललाई जित निकाल्न १७ मिनेट लाग्यो र सेट पश्चिमाञ्चलले २५-११ ले आफ्नो पक्षमा पार्यो । पश्चिमाञ्चले टिमकी मुख्य खेलाडी अरुणा शाहीलाई उतारेन । उनलाई पुलिसविरुद्धको खेलमा खेलाउने प्रशिक्षक कौशिलाले बताइन् ।