सोल, माघ २८ -
कान्तिपुर दैनिकका कोरिया समाचारदाता देवेन्द्र सम्बाहाम्फे 'परदेशी पत्रकारिता पुरस्कार २०१२' बाट पुरस्कृत भएका छन् । कोरियाली पाठ्यपुस्तकमा रहेको बुद्धसम्बन्धी भ्रम सच्याउन र प्रवासमा बसेर नेपाली पत्रकारितामा महत्त्वपूर्ण योगदान गरेको भन्दै पुरस्कार दिइएको हो । प्रवासमा उत्कृष्ट पत्रकारिता गर्नेलाई प्रत्येक वर्ष दिइने गरी हालै परदेशी लाइफ डटकम अनलाइन पत्रिकाले पुरस्कार स्थापना गरेको हो ।
१० हजार रुपैयाँ र सम्मानपत्र रहेको पुरस्कार कोरियाली नयाँ वर्ष सलनालको उपलक्ष्यमा गैरआवासीय संघ -एनआरएन) ले गरेको सांस्कृतिक कार्यक्रममा शनिबार नायक तथा गायक प्रशान्त तामाङले हस्तान्तरण गरे । पुरस्कार रकममा ७ हजार ५ सय थपेर सम्बाहाम्फेले वमन फर वमनकी अध्यक्ष जुनु गुरुङमार्फत कोरियाली श्रीमान्बाट घरेलु हिंसामा परेका सीता पुन र इच्छामाया गुरुङलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा अनलाइन पत्रिकाका सम्पादक खेम कार्कीले कलाकार तामाङलाई पत्रिकाको तर्फबाट सद्भावनादूत समेत नियुक्त गरेको जानकारी दिए ।