Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
विविधा»

देङ अँगाल्दै माओवादी

का, माघ २८ -
एमाओवादीको सातौं महाधिवेशनले प्रचण्डले अघि सारेको नयाँ रणनीतिलाई सर्वसम्मतले पारित गरेर पार्टीलाई नयाँ धरातलमा उभ्याइदिएको छ । कतिपयले यसलाई जडसूत्रीय धङधङीबाट पार्टीलाई उतार्न प्रचण्ड सफल भएको टिप्पणी गरेका छन् भने केहीले एमालेको जनताको बहुदलीय जनवादकै कार्बन कपीको संज्ञासमेत दिएका छन् । अध्यक्ष प्रचण्डले भने यो नयाँ रणनीतिलाई बढी नै मौलिक भनेर व्याख्या गरिरहेका छन् । तर नयाँ जनवाद छाडेर पुँजीवादी क्रान्तिमा फड्को मार्ने प्रचण्ड रणनीति सतहमा आए जस्तो न एमालेकरण हो, नत यो मौलिक नै हो । बरु प्रचण्डहरूले अहिले म्ााओवादलाई चटक्क थन्क्याएर पैंतीस वर्षअघि चीनले अँंगालेको देङस्याओपिङका रणनीतिको नेपालीकरण गरेका छन् ।

सन् १९७८ को मार्चमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा जब देङको उदय भयो, यो माओको भौतिक अवसान सँगसँगै चिनियाँहरूको धारणामा आएको बदलिँदो परिवर्तन थियो । देङ उदय भएकै वर्षको डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण तेस्रो प्लेनरी बैठकको एउटै एजेन्डा थियो- 'समाजवादी आधुनिकीकरण र निर्माणतर्फ पार्टीका सबै कामहरूको रूपान्तरण ।' यही बैठकबाट निर्देशक सिद्धान्तको रूपमा वर्ग-संघर्षलाई बढाउने 'स्लोगान'को प्रयोगमा रोक लगाउने र 'सर्वहारा वर्गको सर्वसत्ता कायम गर्न क्रान्ति जारी गर्ने' माओकालीन सैद्धान्तिक आवरणलाई परित्याग गरिएको थियो । प्रचण्डले पनि जनवादी क्रान्तिको ठाउँमा नेपाली क्रान्ति र नयाँ जनवादी क्रान्ति हैन, पुँजीवादी क्रान्ति तथा दीर्घकालीन जनयुद्धको रणनीति परित्याग गर्ने घोषणा गरेर वर्ग-संघर्ष त्याग्दै पुँजीवादमा प्रवेश गर्ने देङ रणनीतिलाई -विचारधारालाई) पछ्याएका छन् ।

पार्टीलाई उत्पादनमा लैजाने र उत्पादन बिग्रेडको रूपमा कार्यकर्ता परिचालन गर्ने प्रचण्ड रणनीति पनि देङ रणनीतिकै वरिपरि घुमेको छ । देङले पुँजीवाद प्रवेशको पहिलो खुड्किलोको रूपमा राजनीतिक कामका लागि खटिएका माओकालीन रेडगार्डलाई नयाँ प्रणालीमा प्रवेश परीक्षा दिएर अध्ययनका लागि स्कुलतर्फ तानेका थिए । यिनीहरू मध्येकै कार्यकर्ता अहिले चीनका उच्च सरकारी अधिकारी र धनी व्यापारी भएका छन् । यहाँ पनि प्रचण्डले समग्र पार्टीलाई उत्पादनतर्फ लैजाने भनेको देङ रणनीतिकै अंशको रूपमा आएको छ । तर यो रणनीतिको कार्यान्वयन गर्न देङले जस्तै पहिले राजनीतीकरण गरिएको आम मानिसको जीवनशैली र सोच्ने तरिकामा परिवर्तन गराउने आँट गर्नुपर्छ । अन्य राजनीतिक पार्टीका कार्यकर्तासहित आफ्नै पार्टी कार्यकर्ता, मिलिसिया र पुनःस्थापनमा गएका पूर्वलडाकुका लागिसमेत विशेष प्राविधिक तथा उचित शिक्षा प्रणालीको अभियानमा तानेर भविष्यका लागि योग्य र प्रतिस्पर्धी जनशक्तिको रूपमा विकास गर्न सक्नुपर्छ । तर उत्पादनका लागि उत्पादन बिग्रेड या सहकारी भन्ने नारामा बढ्ने हो भने कार्यकर्ता अलमल्याउने बाटोमात्र हुनेछ । यसलाई देङ रणनीतिजस्तै विशेष आर्थिक क्षेत्रहरूको स्थापना, त्यस्ता क्षेत्रमै रोजगारी र त्यसलाई पुँजी विकासको केन्द्र बनाउन पनि प्रचण्ड रणनीति र एमाओवादी अझै स्पष्ट भएर आउन सक्नुुपर्छ ।

पार्टीलाई पुँजीवादी उत्पादनमा लैजाने प्रचण्ड रणनीतिका बारेमा चर्चा चुलिए जस्तै चीनमा पनि देङका रणनीति ल्ाागू भएको केही वर्षसम्म चर्को वैचारिक बहस चलेको देखिन्छ । यो बहसमा उठेको एउटै प्रश्न थियो, 'यी कदमहरू समाजवादी हुन् या यसलाई सिधै पुँजीवादी भन्ने ।' यो बहस यति अप्ठ्यारो समयमा अघि आएको थियो, जुनबेला देङले राजनीतिक अवकाश लिने पक्का भइसकेको थियो । यसलाई सामना गर्न देङ फेरि अगाडि आएका थिए ।

देङले भनेका थिए, 'चीनले उदार विचारलाई निरन्तर बढाउनुपर्छ । र सुधारलाई जारी राख्ने जोखिम उठाउनमा कन्जुस्याइँ गर्ने छैन । सँगसँगै समाजवादी या पुँजीवादी भन्ने निरन्तरको विवाद या बहसमा टाउको दुखाउने पक्षमा पनि छैन ।' देङका विचारबाट निकै ठूलो तरङ्ग फैलियो । खासगरी सोच्ने र विचार निर्माणको प्रक्रियामा देङले माओले भन्दो निकै फरक नीति अघि सारेका थिए । त्यसको प्रतिक्रियामा पनि तीव्र आलोचना भए । यसलाई देङले दृढतापूर्वक सामना गरेको देखिन्छ । यसका लागि उनी दक्षिणी सहरको भ्रमणमा निस्किए । जहाँ कम्युनिष्ट शासन व्यवस्थाभित्र खुला र बजार अर्थतन्त्र परीक्षण गरिएको थियो । त्यस भ्रमणका क्रममा उनले थप विचार तथा नीतिहरू अभिव्यक्त गरे । यस्तो विचारमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिएको अभिव्यक्ति थियो, 'समाजवादको प्राथमिक गुण भनेको उत्पादकत्वमा विस्तार तथा विकास, शोषणको अन्त्य र अतिवाद या उग्रवादलाई निर्मूल पार्नु हो । यसैबाट मात्र सामूहिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । समाजवाद र पुँजीवादको खास अन्तरको व्याख्या गर्दा कहीं बढी योजनाबद्ध या बजार अनुकूल नीतिसँग मात्र तुलना गरेर झुट बोल्न सकिँदैन । यसको सट्टामा हामी पछाडि फर्किनुभन्दा सुधार र खुलापनलाई आत्मसात गर्न अझै बढी नै साहसी बन्नु सही ठहरिनेछ । दक्षिणपन्थी धार विरुद्धको सुरक्षाकवच रूपमा चीनले जति दह्रोगरी उभिनु पर्नेछ, त्योभन्दा पनि बढी वामपन्थी धारलाई जोगाउनुपर्ने समय आएको छ । यसबाट मात्रै मौलिक समाजवादको विकास गर्न सकिनेछ ।'

देङका यी स्पष्ट विचारले चर्कंदो सैद्धान्तिक बहस लगभग निष्कर्षमा पुग्यो । यसपछि सन् १९९२ को अक्टोबरमा भएको कम्युनिष्ट पार्टीको चौधौं कंग्रेसले स्पष्ट रूपमा समाजवादी बजार अर्थतन्त्र प्रणाली स्थापना गरिनेछ भन्ने लक्ष्य घोषणा गर्‍यो । देङले २० वर्षअघि सारेको यही पुँजीवादी समाजवादको रणनीतिकै झन्डै हुबहु नै जस्तोगरी यसपटक प्रचण्ड रणनीति आएको छ ।

विदेशीहरूलाई हेर्ने सन्दर्भमा पनि प्रचण्डको रणनीति देङ रणनीतिसँग ठ्याक्कै मिल्दोजुल्दो छ । शासनमा उदाएपछि सन् १९७८ मै देङ जापान भ्रमणमा निस्किएका थिए । भ्रमणका क्रममा उनले राजनीतिक वार्तामा भन्दा अटोमोबाइल र स्टिल उद्योगको भ्रमणमा बढी समय बिताए । त्यही क्रममा जापानको प्रसिद्ध म्याट्ससुस्थिया इलेक्टि्रक कम्पनीका संस्थापक ८३ वषर्ीय कोनोसुके म्याट्सुथियासँग देङको भेट भयो । कोनोसुकेले उनलाई सोधे- 'यो भ्रमणमा जापानको के कुराले आकषिर्त गर्‍यो ?' जवाफमा देङले भने- 'हिउँदमा चीनमा निकै कडा ठन्डी हुन्छ, त्यसबाट बच्न मानिसले कोइलाबाट बनाइएका बि्रकेट बाल्छन् । यसले ठन्डीबाट त बचाउँछ, तर यसबाट निस्कने कार्बन मोनोअक्साइडको विष लिन बाध्य हुनुपरेको छ । जापानबाट धुवाँं ननिस्कने बि्रकेट प्रविधि लैजान पाए आफू सबैभन्दा खुसी हुने थिएँ ।' अर्थात उनले विदेश नीतिलाई जनताको जीवनस्तरसँग सोझै जोडेर हेर्ने नीति लिए । लगत्तै अक्टोबरमा शत्रुवत् सम्बन्ध भएका चीन-जापानबीच शान्ति सम्झौता कार्यान्वयनमा गयो भने अमेरिकासंँग कूटनीतिक सम्बन्ध स्थापित भयोे । यसको अर्थ चीनले सिद्धान्तका आधारमा र उग्रराष्ट्रवादमा तय गरेको वैदेशिक कूटनीतिलाई छोडेर राष्ट्रिय प्राथमिकताको रूपमा आर्थिक विकासको रणनीतिमा सम्बन्धको विस्तार तथा स्थापनाको कूटनीतिमा जोड दिन थाल्यो । यहाँ पनि प्रचण्ड रणनीतिमा भारतलाई दोष थोपर्ने शब्दहरू खर्चिनुभन्दा मिलेर आर्थिक विकासतर्फ लाग्ने भनेर देङको विदेश नीतिकै आधारमा तयार भएको देखिन्छ ।

यसरी सिधा र प्रस्ट रूपमा देङको वैचारिक-सैैद्धान्तिक आधारमा रणनीति तय गर्दा प्रचण्डले त्यसलाई जश भने दिएका छैनन्, जुन कुराले उनका कार्यकर्तालाई प्रचण्ड रणनीति मौलिक र नौलो भन्न सजिलो पारिदिएको छ । तर राम्रो कुराचाहिं देङकै रणनीतिमा टेकेर चिनियाँ नयाँ पुस्ताले सुधार र विकासवादलाई रणनीतिक रूपमा अघि बढाउँदै चीनलाई विश्व शक्तिको उदाउँदो ध्रुवका रूपमा अघि बढाइरहेका छन् । त्यसैगरी प्रचण्ड रणनीतिले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउनेतर्फ केही योगदान दिन सक्छ । तर त्यसका लागि नेपालको सन्दर्भमा प्रचण्डको नयाँ रणनीति अझै व्यावहारिक र खुला हुन जरुरी छ । अनिमात्र देशले आर्थिक र राजनीतिक रूपमा कोल्टे फेर्न सक्नेछ ।

प्रकाशित मिति: २०६९ माघ २९ ०९:१७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication