काठमाडौ, माघ २८ -
कुनै समय यस्तो थियो, अभाव र गरिबीको पीडाले उनी कैयौं दिन सुत्न सक्दिन थिइन् । अरू त अरू, उनलाई आफ्नै पतिले निकालिदिए । दुःखको भुँमरीमा परेकी दिलशोभालाई आफ्नै जीवनमा सम्हाल्न नसकिने पहिरो थियो । तर त्यति नै बेला उनले सडकमा मानिसहरू भोकै सुतेको देखिन् । आफ्नै दुःखलाई भुल्न दिलशोभाले परित्यक्त वृद्धालाई आफ्नो घर ल्याइन् । ल्याउन त ल्याइन्, तर खान लाउन दिने प्रशस्त सुविधा उनीकहाँ थिएन । विस्तारै उनको कामको प्रशंसा गर्नेहरू बढे । उनका बारे पत्रपत्रिकामा पनि खबर आउन थाल्यो । पत्रकार विजय कुमारले आफ्नो लोकपि्रय कार्यक्रम 'दिशानिर्देश' मा उनको अन्तर्वार्ता लिएपछि चाहिँ कुरै बेग्लै भो ।
'त्यसपछि मानिसहरू मलाई सघाउन संसारैभरिबाट ओइरिए बाबु' दिलशोभा भन्छिन्,'खानेकुराको त राख्ने ठाउँ पनि भएन ।' नगदै दिनेहरू पनि दिनहुँजस्तो आउँछन् । जस्तो आइतबारमात्रै एक युवाले उनका पोल्टामा २ लाख १७ हजार ३ सय ५० रुपैयाँ हालिदिए । अस्ट्रेलियामा बसोबास गर्दै आएका नेत्र चिकित्सक ज्योति खड्का र मंगल वज्राचार्यले पैसामात्रै दिएनन्, उनका हात टाउकामा राखेर आशिष मागे, हामीलाई पनि यस्तै सेवा गर्ने भाव आइरहोस् आमा ! कुरो सुनेर दिलशोभा भावविह्वल भइन् । अरूलेजस्तै खड्का र वज्राचार्यले पनि दिलशोभाका बारेमा विजय कुमारले लिएको अन्तर्वार्ता हेरेर थाहा पाएका रहेछन् । देशमा दिलशोभाजस्तो परोपकारी मान्छे पनि छन् र तिनले बेसहारालाई सघाउँछन् भन्ने सुन्दा त्यहाँ बस्ने नेपालीको मन गर्वले फुलेछ र श्रद्धाले झुकेछ । 'गएको तीजमा हामीले सानो जमघट गरेका थियौं र केही सहयोग उठाएका पनि थियौं,' यसपालि हिउँदमा छुट्टीमा आएका ज्योतिले भने,'आमाघरमा दिनु भनेर बुवालाई पठाइदिएको थिएँ, संयोगले आफैं पनि आउने मौका जुरेकामा निकै खुसी छु ।'
दिलशोभालाई देखेर भावुक भएका भक्तपुर दधिकोटका ज्योतिले रकम दिन आफ्ना बावु जगतबहादुरलाई आग्रह गरे । छोरा र उनका साथीहरूले उठाएको सहयोग रकम हस्तान्तरण गर्न उनी आमाघरमै पुगेका थिए । छोराको भाव र सहयोगी मन देखेर जगतको मन पनि गद्गद् थियो । यसरी कहिल्यै नदेखेका र नचिनेका मनकारीहरू आफूकहाँ दिनहुँ जसो आउने गरेको र केही न केही दिने गरेको देखेर दिलशोभाको दिल खुसीले चुलिएको छ ।
'हिजोमात्रै एउटा भाइले कम्प्युटर दिएर गयो, अस्ति लुम्बिनी बैंकले एक लाख १० हजारको चेक दियो' कोठामा जडान गर्न बाँकी कम्प्युटर र पmलेक्स फिन्टमा भित्ताजत्रो पारिएको चेक देखाउँदै दिलशोभाले भनिन्,'म एक्ली रहिनछु बाबु, संसारैभरिबाट सहयोग ओइरिएको देख्दा खुसी र अचम्म दुवै लाग्छ ।' दिलशोभाका बारेमा धेरै सुने पनि प्रत्यक्ष देख्नचाहिँ पहिलोपटक पाएकामा मंगल र ज्योति दुवै खुसी थिए । 'उहाँको सेवा र समर्पण साधारण मान्छेको वशमा छैन,' मंगल भन्छन्,'थोरै भए पनि सहयोग गर्न पाइयो, खुसी लागेको छ ।'