Kantipur

Kantipur

मिति | २०७१ वैशाख ३, बुधवार     Login | Register
हेलो शुक्रबार»

पर्फट डिफेन्स

माघ ४ -
पूर्वको मोरङ र पश्चिमको पोखराबीच भौगोलिक दूरी जति छ, मनाङ-मस्र्याङ्दी र थ्रीस्टारबीच त्योभन्दा फराकिलो शत्रुता छ । जुन दूरी नाप्ने यन्त्र नै छैन । यी दुई कडा दुश्मनी भएर पनि रंगशालामा प्रशस्तै दर्शक जम्मा गर्न सक्ने क्लब हुन् । प्रतिद्वन्द्वी क्लबमा भए पनि खेलाडीको समान स्वार्थ हुने गर्छ, राम्रो खेलेर उपाधि जित्ने ।

रामबजार, पोखराका सवीन्द्र श्रेष्ठ मनाङबाट खेल्छन् । तीन दशकयताको चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टारबाट विजय धिमाल खेल्छन् । उनी उर्लाबारी, मोरङका हुन् । अर्को अन्तर, सवीन्द्र लेफ्ट र विजय राइट फ्ल्यांकबाट खेल्छन् । दुवै डिफेन्स हुन् । विपक्षीलाई रोक्न मात्र खेल्ने परम्परागत शैलीका डिफेन्स भने होइनन् । आक्रामक रूपमा अघि बढ्दै गोलको अवसर सिर्जना गर्ने यी दुईको बानी छ । दुवै स्किलफुल पनि छन् । त्यसैले त उनीहरूले सहिद स्मारक 'ए' डिभिजन लिगमा लोभलाग्दो खेल पस्किरहेका छन् ।

गाउँको उर्लाबारी युवा क्लब हुँदै मोरङ जिल्ला टिमबाट पूर्वी नेपालका प्रतियोगिताको अनुभव बटुल्दै विजय खेल जीवनलाई उचाइ दिन काठमाडौं उपत्यका छिरेका हुन् । त्यसबेला उनी १७ वर्षका थिए । अहिले २६ वर्षमा छन् । बूढासुब्बा गोल्डकपबाट ठूला प्रतियोगितामा डेब्यु गरेयता उनी निरन्तर अघि बढिरहेका छन् । उनीभन्दा चार वर्ष कान्छो सवीन्द्र १२ वर्षको छँदै एन्फा एकेडेमी पुगेका थिए । एकेडेमीमै सिकेको स्किलमा उनी परिपक्व बन्दै गएका छन् ।

एकेडेमीमा छनोट हुनुअघि सवीन्द्र पोखरा रंगशाला वरिपरि फुच्चेहरूको टिमबाट फुटबल खेलिरहेका हुन्थे । त्यसबेला पनि उनी डिफेन्स नै थिए । उनका बुबा सम्मरबहादुर आफ्नो जमानाका फुटबल खेलाडी थिए । हजुरबुबाहरू बद्रीप्रसाद र दिनेशले त गण्डकी अञ्चलबाटै खेलेका थिए । उनका दाजु सन्तोष एन्फा एकेडेमीको पहिलो ब्याचमा थिए । त्यसैले परिवारको इच्छा, पाएको अवसर र आफ्नो मेहनतले सवीन्द्र फुटबलर बनेका हुन् ।

सानैमा गोल्डेन फ्युचर स्कुलमा छँदा टिचरले सोध्दा पनि सवीन्द्र राष्ट्रिय फुटबल खेलाडी बन्छु भन्थे । 'अहिले भेट्दा उहाँहरू राम्रो गरेको छस्, नाम कमाएको छस् भन्नु हुन्छ । निकै खुसी लाग्छ,' उनले भने । सानैदेखि उनलाई खेलाडी बनाउन लागेका बुबाको फोन प्रत्येक खेलपछि आउने गर्छ । 'राम्रो खेल्दा अझ राम्रो गर्न हौस्याउनु हुन्छ । खेल बिगारेको दिन पनि अबदेखि राम्रो गर्न उत्साहित पार्नु हुन्छ,' उनले बताए ।

उनले एन्फा एकेडेमीमा सात वर्ष बिताए । यू-१२, यू-१४, यू-१६ र यू-२२ मा उनले नेपालको पहिलो रोजाइको टिमबाट अन्तर्राष्ट्रिय फुटबल खेले । २०६६ मा मनाङ पुगे । पहिलो सिजन उनलाई घुँडाको समस्या -मिनीस्कल्स) ले सतायो । ७-८ महिनासम्म निको नभएपछि सर्जरी गराए । ७-८ महिना नै आराम गर्नुपर्‍यो । त्यसैले दुई वर्ष उनी प्रतिस्पर्धात्मक फुटबलमा र्फकन सकेनन् । 'त्यो अवधि साह्रै पीडादायी भयो,' उनले भने । त्यसपछि उनी विस्तारै मैदानमा फर्किए ।

मनाङ प्रायः स्टारहरूले भरिने गर्छ । यस्तोमा कहाँ सजिलै खेल्न पाइन्छ र ? दुई वर्षअघि टासी छिरिङले संन्यास लिएपछि सवीन्द्रले प्लेइङ सेटमा नियमित मौका पाए । राम्रो खेल्दै उनले आफ्नो उपस्थिति सिद्ध पनि गरिरहेका छन् । गत वर्षको राष्ट्रिय लिगबाट उनले करियरकै सबैभन्दा राम्रो लय समातेका हुन् । असोजमा भएको एनसेल कपमा उनले सर्वोत्कृष्ट डिफेन्डरको पुरस्कार नै पाए । यो लिगमा उनले पेनाल्टीमा एक गोल गरिसकेका छन् । उनकै पासमा चार गोल भयो ।

सवीन्द्रजस्तै विजय पनि एन्फा एकेडेमीको सेलेक्सनमा सहभागी हुन चाहन्थे । तर उनको प्रस्ताव अभिभावकले ठाडै अस्वीकार गरिदिन्थे । 'बा-आमाले सानो फुटबल खेल्नु हुँदैन भन्नुहुन्थ्यो । किन हो, थाहा छैन । त्यसैले कक्षा ८, ९ र १० मा कुनै दिन पनि पूरा पढिनँ । स्कुलबाट भागेर फुटबल खेल्न जान्थें,' उनले भने । बेलुका घर फर्केपछि उनलाई अभिभावकले गाली गर्थे । खाने मुखलाई जुँगालाई छेक्दैन भनेजस्तै उनको फुटबल यात्रा रोकिएन ।

विजयले १४-१५ वर्षको भएपछि सिरियस्ली फुटबल खेल्न थाले । अलि राम्रो खेल्ने भएपछि बा-आमाको गाली होइन, उत्साहका शब्द पाउन थाले । हाल मोरङ जिल्ला फुटबल संघका अध्यक्ष रहेका दीपेन्द्र धिमाल उनका अंकल हुन् । जहाँ फुटबल प्रतियोगिता हुन्थ्यो, अंकलले उनलाई खेलाउन त्यहीं पुर्‍याउने गर्थे । विसं २०६० मा मछिन्द्र क्लबबाट खेल्ने मौका मिल्यो । 'दीपेन्द्र अंकलले भन्नुभएपछि बा-आमाले काठमाडौं पठाउनु भयो,' उनले भने ।

त्यही सिजन 'बी' डिभिजन च्याम्पियन हँुदै मछिन्द्र 'ए' डिभिजनमा उक्लियो । मछिन्द्रसँगसँगै विजयले पनि छलाङ मार्न थाले । त्यसपछि एक सिजन मछिन्द्रबाटै 'ए' डिभिजन लिग खेले । २०६३ देखि चार वर्ष जावलाखेलमा बिताए । उनी २०६६-६७ को लिगपछि थ्रीस्टारसँग आबद्ध भएका हुन् । क्लबमा अनुबन्धित भएपछि उनले नामसँगै दाम पनि कमाउन थाले । त्यसैले उनका अभिभावक पनि दंग छन् ।

उनी फुटबलका अलराउन्डर हुन् । जुनसुकै पोजिसनमा खेल्न सक्छन् । गत वर्ष थ्रीस्टार बि्रटिस गोर्खा कप च्याम्पियन हँुदा उनी राइट विंगर थिए । यही सिजनबाट उनले राइट डिफेन्सको जिम्मेवारी पाएका हुन् । उनी मोरङबाट सेन्टर मिडफिल्डमा खेल्थे । जावलाखेलमा डिफेन्स थिए । आर्मीविरुद्ध स्ट्राइकरको भूमिका पनि निभाए । 'डिफेन्समै सबैभन्दा सजिलो लाग्छ,' उनले भने । चार दाजुभाइमध्येका जेठा हुन्, उनी । उनका माइलो भाइ रजिन एनआरटीबाट खेल्छन् ।

सवीन्द्रले जस्तै सानैदेखि खेलाडी बन्ने उनले कल्पना गरेका थिएनन् । 'दाइहरूको खेल हेर्दा म पनि भविष्यमा यस्तै -दाइहरूजस्तै) खेल्छु भन्ने सोच्थें । तर अहिलेकै अवस्थासम्म आइपुग्नेचाहिँ सोचिएको थिएन,' उनले भने । हरि खड्का उनका फेबरेट फुटबलर हुन् । 'उहाँ -हरि) को खेल टेलिभिजनमा खुबै हेर्थे । उहाँको स्पिड, डि्रब्लिङ, फिनिसिङ साह्रै राम्रो थियो,' उनले भने । उनी प|mेन्च प्लेमेकर जिनेदिन जिदानका पनि फ्यान हुन् ।

विजयको कपाल घुंगि्रएको -कर्ली) छ । अलि लामो पनि । त्यसैले मैदानमा उनी बार्सिलोनाका सेन्टरब्याक कार्लेस पुयोलजस्तै देखिन्छन् । उही स्पेनी पुयोल सवीन्द्रका फेबरेट डिफेन्डर हुन् । 'पुयोलले टिमका निम्ति शतप्रतिशत योगदान दिने गर्छन् । त्यसैले आफूलाई पनि मैदानमा छिरेपछि शतप्रतिशत खेल्न प्रेरित गर्छ,' उनले भने । उनलाई पुयोलका टिमेट आन्द्रेस इनिस्टाको फुटवर्क बबाल लाग्छ । उनका आइडल हुन्, राजुकाजी शाक्य । नेपालका पूर्वकप्तानबारे उनले भने, 'पहिले उहाँहरूले भोगेका कुरा सेयर गर्नु हुन्छ । त्यसबाट धेरै सिक्ने मौका पाएँ । राम्रो गर्न सधैं उत्साह दिनु हुन्छ ।'

एन्फा एकेडेमीका पूर्वप्रशिक्षक किशोर केसी -जावलाखेलका प्रशिक्षक पनि) दुवै खेलाडी मेहनतले बनेको बताउँछन् । यी दुवै अहिले खेल जीवनकै उच्च लयमा छन् । कुनै पनि खेलाडीको लक्ष्य राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने हुन्छ । सवीन्द्रले सिनियर टिममा ब्रेक पाइसकेका छन् । उनले गत वर्ष एएफसी च्यालेन्ज कपको फाइनल चरण र नेहरू कपमा एक-एक खेल खेलेका थिए । विजय पनि नेपालको जर्सी लगाउने मौका जुराउन चाहन्छन् । अहिलेको स्तरले राष्ट्रिय टिममा पर्न गाह्रो हुने उल्लेख गर्दै उनले भने, 'थप मेहनत गरे कसो नपरिएला ?' 

प्रकाशित मिति: २०६९ माघ ५ ०९:२८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper 	Epaper - Kantipur Daily 2014-4-16
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

हेलो ! मार्साप !.. अनि धाराको पानी चैं कैले नुहाउन लायक बनाइदिनुहुन्छ नि ?

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication