माघ ४ -
एकातिर राजधानी अत्यधिक चिसोका करण कठ्याङगि्रएको छ, अर्कातिर तातिरहेको छ, महिला हिंसा विरुद्धको अभियानमा ! भुसको आगोजस्तै भित्रभित्रै सल्किएको महिला हिंसाको राप अब सडकमा आइपुगेको छ । पर्दा पछाडि लुकेर महिलामाथि अन्याय र शोषण गर्न पल्केका कथित 'मर्द'हरूको असली अनुहार अब सार्वजनिक हुँदैछ । आफूमाथि हुने पारिवारिक र सामाजिक शोषण तथा उत्पीडनलाई 'कर्मको फल' मान्दै र त्यसको सार्वजनिकीकरण भएमा आफ्नो तथा परिवारको इज्जत प्रतिष्ठामा आँच पुग्ने डरले त्यसलाई गोप्य राखेर पीडाको भुमरीमा बाँचिरहेका महिलाहरू अब आफू विरुद्धको अन्यायको फेहरिस्त लिएर मैदानमा उत्रेका छन् । आफूमाथि शोषण र अन्याय गर्नेहरूलाई कठोरभन्दा कठोर सजायको माग गर्दै आन्दोलित भैरहेछन् । कति दिनदेखि धर्ना दिएरहेका छन्, प्रधानमन्त्री निवासमा तर....विचरा ! प्रधानमन्त्रीलाई त्यस्ता झिनामसिना कुरा सुन्ने समय नै कहाँ छ र ? उनीमात्र कहाँ हो र ? हाम्रो देशका सबै प्रधानमन्त्रीको सम्पूर्ण ध्यान र समय त आफ्नो कुर्सी जोगाउनमै खर्चिएको छ । सत्ता बाहिरका प्रमुख दलहरू पनि खुलेर यस अभियानमा लाग्नु स्वाभाविकै हो, किनकि उनीहरूका लागि त यो राम्रो चुनावी मुद्दा पनि बन्न सक्छ । यथार्थमा मुलुक यस्तो गम्भीर संकटबाट गुजि्ररहेको अवस्थामा त्यसको निकासका लागि आफ्ना स्वार्थबाट टसको मस नहुने अनि दरिद्र मासिकताका भिखारीभै“m नवौँ पटकसम्म सहमतिका लागि भन्दै राष्ट्रपतिसँग समय माग्ने निर्लज्ज नेताहरूबाट पीडित वर्गले आशा गर्ने ठाउँ के नै छ र ? त्यसैले महिलाहरूमा आएको यो अस्तित्वबोध र ऐक्यबद्धताले यस्ता लाचार जनप्रतिनिधिको दैलोसामु आन्दोलन गर्नुभन्दा जनस्तरमा नयाँ वैचारिक क्रान्ति गर्नु उपयुक्त देखिन्छ । महिलामाथि हुने घरेलु हिंसा तथा बलात्कारका घटना प्रत्येक दिनजसो सुनिन थालेका छन् । कडा कानुनी व्यवस्था हुनुपर्छ, तर कानुनले त्यस्तो व्यवस्था गरिहाले पनि दोषी दण्डित हुने अवस्थासम्म पुग्नु त्यति सहज भने पक्कै हुने छैन । किनकि कानुनलाई प्रमाण चाहिन्छ र अपराधीले कुनै साक्षी राखेर अपराध पक्कै गर्दैन । फेरि बलात्कृत महिलाले प्रमाण जुटाउंँछे कसरी ? यही समाज र सामाजिक परिवेशमा ? बलात्कारको उजुरी लिएर जाँदा प्रहरी प्रशासनले बेवास्ता गरेको दुःखेसो कतिपय पीडित महिलासँग छँदैछ भने अदालती कारबाहीसमक्ष पुग्नु अनि जित हात पार्नु भनेको त औँलामा गन्न सकिने उदाहरणमात्र होलान् । अर्कातिर महिलाहरू आन्दोलित छन्, दोषीमाथि कानुनी कारबाही हुनुपर्ने, त्यसका लागि आवश्यक कानुनी व्यवस्थाको माग गर्दै तर त्यो गर्ने कसले ? वर्षौँदेखि हामी नेपालीले कुनै उत्तरदायी सरकारको अनुभवै गर्न पाएका छैनौँ । आम जनताको दैनिकीसँग कुनै सरकारको सरोकारै देखिएको छैन । महाभारतको पुत्रमोहमा डुबेको अन्धो शासक धृतराष्ट्रजस्तै कुर्सीमोहमा डुबेको अनि भरि सभामा एउटी महिला -द्रौपदी) को बेइज्जती हुँदा चुपचाप हेरिबस्ने कथित प्रतिज्ञाधारी भीष्मजस्ता नपुंसक सरकारबाट महिलाहरूले के अपेक्षा राख्ने ? त्यसैले महिलाहरूमा आएको यो चेतना र जागरुकताले सङ्घर्षको नयाँ मोड पहिल्याउनुपर्छ । वैचारिक क्रान्तिको मार्गबाट यस्ता अपराधको जरोसम्म पुगेर अपराधीलाई सामाजिक बहिष्कार र सामूहिक कारबाही गरिनुपर्छ । महिला बलात्कारका घटनाहरू बढ्नुका दुई कारण हुनसक्छन्— एउटा त दानवी प्रवृत्ति भएका पुरुषहरूको आवेग अनि अर्को बलात्कारलाई महिलाको सामाजिक प्रतिष्ठा र इज्जतसँग गाँस्नु । पहिलो कारण अन्तर्गत महिलाहरू आफन्तहरूबाट पीडित हुन्छन् भने दोस्रो कारण अन्तर्गत बाहिरी तथा शत्रु वर्गबाट । कुनै महिलाप्रति कुनै पुरुषलाई रिस उठ्यो भने ऊसँग बदला लिन बलात्कारको हतियार प्रयोग गर्छ, किनभने त्यसो गरेमा महिलाको इज्जत जाने सामाजिक मान्यताले हाम्रो समाज ग्रसित छ । जबसम्म बलात्कारलाई महिलाको इज्जतसँग जोड्ने परम्परा समाजमा रहिरहन्छ, तबसम्म यस्ता घटना बढ्दै जाने गर्छन् । यहीँनेर आवश्यक छ, वैचारिक परिवर्तनको । शारीरिक बलात्कारमा पर्नुलाई सभ्य भाषा भन्दै 'इज्जत लुटिनु' भनिन्छ । प्रश्न उठाउनुपर्छ, अब समान क्रियाकलापमा सहभागी दुईमध्ये एउटाको मात्र इज्जत जाने किन ? बलात्कारी पुरुषको केही गुम्दैन भने बलात्कृत महिलाको मात्र के गुम्छ र उसको इज्जत लुटिएको भनिन्छ ? पीडित महिलाको इज्जत जान्छ भनेर तिनीहरूको परिचय गोप्य राख्ने प्रचलन पनि यही पुरातन मानसिकताकै उपज हो । बलात्कारी पुरुषले चाहिँ कुन पुरुषार्थ गरेको हुन्छ र ऊ इज्जतदार भएर खुलेआम हिँड्छ ? प्रश्न तमाम हुनसक्छन् । वास्तवमा बलात्कृत महिला शारीरिकभन्दा बढी मानसिक पीडा झेल्न बाध्य हुन्छे, यही सामाजिक परम्पराभित्र । त्यसैले सर्वप्रथम यही परम्परागत सोचाइको अन्त्यका लागि आवश्यक छ, सामूहिक ऐक्यबद्धता । यसैगरी महिलाहरू अनेकथरी घरेलु हिंसाको सिकार भएका छन् । त्यसको कारण पनि हाम्रो पुरातन सामाजिक मूल्य-मान्यता नै हो । अझै महिला स्वयम्मा र उसको परिवारमा महिलाको सक्षमता र स्वावलम्बनभन्दा परनिर्भरताकै मानसिकता विद्यमान छ । सहरी र शिक्षित समाजमा महिला स्वयम्मा अस्तित्वबोध देखिंँदैन । उदाहरणका लागि क्यासिनो र डान्स बारमा मस्त सम्भ्रान्त महिला तथा स्वेच्छाले देहव्यापार अँगालेका महिलाहरूलाई लिन सकिन्छ । छोरीलाई अर्कालाई सुम्पनैपर्ने दायित्व ठानेर सम्पत्तिकै टेको लगाएर भए पनि अर्काको छोराको हाराहारीमा पुर्याउने प्रचलन सहरी क्षेत्रमा पनि यथावतै छ । गाउँले र अशिक्षित समाजको त पीडा नै बेग्लै छ । छोरीलाई अर्काको घर जाने जात भनेर शिक्षाबाट समेत बञ्चित गराउने परम्परा मेटिनसकेको छैन भने सानैदेखि छोरीहरूको श्रम बेचेर जीविका चलाउने परिवार पनि प्रशस्तै पाइन्छन् । अवसर, ज्ञान, चेतना आदि सबैबाट ठगिएका यस्ता महिलाहरू अन्त्यमा घरेलु हिंसाको सिकार हुनपुग्नु कुनै नौलो कुरा होइन । यी दुबैथरी महिला वर्गमा आवश्यक छ, आज स्वअस्तित्वबोध गराउनु तर त्यो गराउने कसले ? अहिले राजधानीमा एकत्रित अभियानकर्ताहरू गाउँ-गाउँ गएर घर-घरबाट ती पुरातन मान्यता हटाउन लागिपर्नु पर्छ । चुनावमा भोट माग्नबाहेक गाउँ नर्फकने दलका कार्यकर्ता लाग्नुपर्छ, यस्तो वैचारिक क्रान्तिमा । राजधानीमा बसेर गोष्ठी, सेमिनार गर्दै कार्यपत्र प्रस्तुत गर्ने गैरसरकारी संस्थाहरू पुग्नुपर्छ, विकट गाउँलेका दैला-दैलामा चेतनाको संवाहक बनेर । सडक आन्दोलनले मात्र समस्याको समाधान गर्ने भए आज देशको राजनीतिमा समस्याको नामनिसानै रहने थिएन होला, किनकि यहाँ सबैभन्दा बढी आन्दोलन राजनीतिक मुद्दाहरूमै गरिएका छन् र गरिँदै पनि छन् । उपर्युक्त पक्ष महिलाका देखिएका समस्या हुन्, व्यक्त पीडाहरू हुन् । वास्तवमा महिलासँग यसरी नदेखिने तथा अव्यक्त पीडाहरू कति हुन्छन् कति ! शारीरिक रूपमा केही महिलाहरू बलात्कृत भएका छन्, तर मानसिक रूपमा असंख्य महिला पलपल बलात्कृत भैरहेका छन् । यस्तो पीडा विशेषगरी शिक्षित अनि कामकाजी महिलाहरूले भोग्ने गरेका छन् । परिवारमा पुरुषले भन्दा बढी समय बाहिरको काममा खटेका महिलाहरूको घरभित्रको दायित्वमा कुनै कमी देखिँदैन । घरपरिवारको सम्पूर्ण दायित्व पूरा गरेपछि मात्र उनीहरू आफ्नो अध्ययन तथा व्यक्तित्व विकासमा लाग्ने गर्छन् । यसो हुनुको पछाडि लोग्नेमान्छेले घरेलु काम गर्न हुँदैन भन्ने सामाजिक संस्कार जिम्मेवार देखिन्छ । त्यसैले शिक्षित समाजमा पनि पुरुषहरू महिलालाई खुलेआम सहयोग गर्न हिच्किचाउँछन् । यतिमात्र होइन, विवाहित महिलाहरू यस्ता पीडा बढी झेल्न विवश छन्, किनकि वैवाहिक जीवनमा पत्नीका इच्छा-अनिच्छाको कुनै महत्त्व हाम्रो परम्परागत समाजमा हुँदैन । पुरुषका इच्छा, चाहनालाई नै शिरोपर गर्ने स्त्रीमात्र त्यहाँ आदर्श नारी कहलिन्छे, अन्यथा...उही इज्जतको सवाल । त्यसैले हाम्रो समाजमा महिला मानसिक र वैचारिक बलात्कारको मारमा उत्तिकै पीडित छे, जति शारीरिक रूपमा । महिलामाथि हुने यस्ता देखिने र नदेखिने दुबैथरी हिंसाको विरुद्ध आज विचारको परिवर्तन आवश्यक छ ।
लेखिका त्रिवि, नेपाली केन्द्रीय विभागकी उपप्राध्यापक हुन् ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:५७
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !