बझाङ, माघ ४ -
जिल्ला वन क्षेत्र समन्वय समितिले बुधबार जडीबुटी संकलन गर्न रोक लगाएको छ । बैठकले वनलसुन, सतुवा र कटुकी प्रजातिका जडीबुटी अनियमित रूपले संकलन गर्दा लोप हुने अवस्थामा रहेको भन्दै दुई वर्षका लागि रोक लगाउने निर्णय गरेको जिल्ला वन प्रमुख रमेशबहादुर चन्दले जानकारी दिए । दुई वर्षपछि एक वर्षका लागि खुला गरिने निर्णय भएको उनले बताए । 'अनियमित तरिकाले संकलन गर्दा एकातिर वन विनाश हुन थालेको छ,' उनले भने, 'अर्कोतर्फ यी प्रजातिका जडीबुटी बर्सेनि लोप हुँदै जाने खतरा उत्पन्न भएको छ ।' वन कार्यालयले संकलकसँग वनलसुनको प्रतिकिलो १० रुपैयाँ, सतुवाको १५ रुपैयाँ र कटुकीको १५ रुपैयाँ राजस्व लिने गरेको छ । जिल्लाका कैलास, मष्टा, रिलु, भातेखोला, सुनिकोट, काडा, गडराय, सुर्मा र दौलीचौरलगायतका १३ गाविसमा यी जडीबुटी पाइन्छन् ।