खोटाङ , माघ ४ -
माहुरे-फोक्सिङटार सडक निर्माणका कामदारको रकम जिल्लास्थित डनले हात पारेका छन् । बतासे गाविसको भडारेघाटस्थित सडक खन्ने एक सय २० जना कामदारको ७ लाख १५ हजार उपभोक्ता समिति पदाधिकारको हातबाट लगेका हुन् । उपभोक्ता समितिका एक सदस्यका अनुसार सदरमुकाम दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकबाट रकम झिक्नासाथ डनहरूले पिछा गरेका थिए । तीन दिनअघि निकालिएको रकम पिछा गरेर बतासे गाविसको भडारेघाटसम्म पुगेको समिति पदाधिकारीले खुलासा गरेका छन् । डनले मंगलबारदेखि बिहीबार बिहानसम्म उपभोक्ता समितिलाई घेराबन्दीमा पारेका थिए । स्वीस र नेपाल सरकारको लगानीमा बन्दै गरेको माहुरे-फोक्सिङटार सडक -४९ किलोमिटर) को रकम निकासा गर्नासाथ उपभोक्ता समितिले डनको घेराबन्दीमै १ करोड २९ लाख बुधबार साँझ भडारेघाट पुर्याएका थिए । सुरक्षाकर्मीलाई थाहै नदिई उपभोक्ता समितिले डनको घेराबन्दीमा रकम लगेको र सडकमा काम गर्ने एक हजार ४० मध्ये १ सय २० जनाको रकम नदिएको जानकारी आएपछि बिहीबार जिविसले उपभोक्ता समितिसित स्पष्टीकरण मागेको छ । स्थानीय डनहरूले सडक निर्माणको ३ करोड ८५ लाख ७५ हजारको १५ प्रतिशत ५७ लाख ८३ हजार ५ सय ५० रुपैयाँ अनिवार्य दिनुपर्ने उर्दी गरेका थिए । डनको उर्दीपछि प्रहरी प्रशासनलाई जानकारी नदिई उपभोक्ता समितिले रकम लानु डनसँगको मिलेमतो हुन सक्ने प्रजिअ दीपकराज नेपालले बताए । उपभोक्ता समिति एक सदस्यले भने डनको नामै किटान गरेर प्रहरीलाई जानकारी गराएको तर पक्राउ नगरेको बताए । प्रहरी नायव उपरीक्षक राजीव बस्नेतले भने रकम लाने बेला प्रहरीलाई जानकारी नगराएको र जानकारी आएपछि घटनास्थलमा बुधबार बेलुकी पुग्दा डन भागिसकेको बताए ।