पर्सा , माघ ४ -
अपहरणकारीको मागबमोजिमको १० लाख फिरौती बुझाए पनि वीरगन्ज ६, कुम्हालटोलका दम्पती शम्भु र अनिता पण्डितले अपहरित छोरा राजुको अवस्थाबारे कुनै जानकारी पाएका छैनन् । साढे ३ महिनादेखि अपहरित छोराको अवस्था अज्ञात रहेकाले उनीहरू बिलखबन्दमा छन् । 'भारतीय अपहरणकारी समूहले मागेबमोजिम १० लाख फिरौती घरमै लगेर दिँदा पनि आजभोलि गरेर छोरा फिर्ता दिएनन्,' बिलौना गर्दै शम्भुले भने, 'प्रहरी प्रशासन र सञ्चारकर्मी सबैलाई गुहारेँ अब केहीसिप लागेन, मेरो पीडा कसले बुझिदिन्छ ।' पीडामा रहेको यो परिवारको वीरगन्ज माइस्थानमा कपडा पसल छ । असोज २१ गते बिहान अज्ञात व्यक्तिले फोन गरेर बोलाएपछि पसलमा रहेका राजु नजिकको घन्टाघर चोकमा गएदेखि फर्केर आएका छैनन् । अपहरणको चार दिनपछि अपहरणकारी समूहले राजुकै मोबाइलबाट फोन गरी ७० लाख फिरौती मागेका थिए । त्यसपछि भारतीय मोबाइल नम्बर ८०८४३०३६२२ बाट फोन गरेको अपहरणकारी समूहले १० लाख रुपैयाँ फिरौती तय गरेपछि आफूले भारत बिहार, लखौराका बिनोद सिंहको घरमा पुगेर उनलाई फिरौती बुझाएर फर्केको शम्भुले बताए ।