काठमाडौ, माघ ४ -
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रगतिशील समूहका उम्मेदवार अधिवक्ता हरिकृष्ण कार्की निर्वाचित भएका छन् । अध्यक्ष पदमा पराजित भए पनि कुल १७ सदस्यीय कार्यसमितिमा प्रजातान्त्रिक समूहले ९ सिट ल्याएर बहुमत पदाधिकारी बनाएको छ । शनिबार सम्पन्न बारको तीन वषर्ीय आवधिक चुनावको बिहीबारसम्म चलेको गणनाको अन्तिम नतिजाअनुसार प्रगतिशील खेमाका कार्कीले ३२५७ मत ल्याएर अध्यक्ष पद जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक उम्मेदवार शेरबहादुर केसीले ३१८२ मत ल्याएका थिए । प्रगतिशील समूहले अध्यक्षबाहेक ४ उपाध्यक्ष र ३ सदस्य गरी ८ पदाधिकारी कार्यसमितिमा पुर्याएको छ । पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा क्रमशः जनक पाण्डे, टीकाराम भट्टराई, अनिता गुरुङ, पदमप्रसाद वैदिक र राजेन्द्रबहादुर साउद निर्वाचित भएका छन् । यसमध्ये पाण्डे प्रजातान्त्रिक खेमाका हुन् भने बाँकी सबै प्रगतिशील । त्यस्तै महासचिवमा सुनिलकुमार पोखरेल र कोषाध्यक्षमा मोहन इङनाम चुनिएका छन् । उनीहरू पनि प्रजातान्त्रिक खेमाका हुन् । सदस्यहरूमा गजेन्द्रशंकर तिमिला, गणेशप्रसाद अधिकारी, सागर बिष्ट, प्रसन्नकृष्ण दास, विनिता कार्की तथा लक्ष्मीदेवी रावल प्रजातान्त्रिक समूहबाट र केदारप्रसाद कोइराला, सरस्वती श्रेष्ठ तथा राज्यलक्ष्मी बज्राचार्य प्रगतिशील खेमाबाट विजयी भएका छन् । बारमा २०१३ देखि सुरु भएको आवधिक निर्वाचन पद्धतिको यो २३औं शृंखला हो । यसको कार्यकाल ३ वर्षको हुनेछ ।