यासोक -पाँचथर, पुस ११ -
एक गाग्रो पानी लिन रातभर जाग्राम बस्नु यासोकवासीको दैनिकी बनेको छ । यही अप्ठ्यारोलाई सहज बनाउने प्रयासमा लागेका छन् कांग्रेस नेता विश्वप्रकाश शर्मा । झापा स्थायी बासिन्दा शर्मा केही साथीसित मिलेर जिल्लाको दक्षिणी यासोकको खानेपानी समस्या हल गर्न लागिपरेका हुन् । उनीसहित कांग्रेसका स्थानीय कार्यकर्ता दिलबहादुर बुढाथोकी, भूमिराज राई, गणेश बस्नेत, मदन बुढाथोकी र जय श्रेष्ठले खानेपानीमा सघाएका हुन् । उनीहरूले निकालेको १ लाख २० हजार रुपैयाँ कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेले भविष्यमा सञ्चालन गरिने आयोजनाका लागि हस्तान्तरण गरे । पानी अभावमा यासोक १ का खाल्डे, सिम्ले, लम्देखा, ओखलढुंगा, होक्लुम्बा र बुढाथोकी गाउँका १ सय ४४ परिवारले १३ लाखमा आम्बोटे मुहान किनेपछि आयोजना सञ्चालनका लागि उनीहरूले सहयोग गरेका हुन् । गाउँमा भएका खानेपानीका सबै मुहान सुकेपछि अढाई घन्टा टाढाको मुहानबाट ३२ एमएमको पाइपबाट पानी ल्याउन उपभोक्ता जुटेका हुन् । 'राजनीतिलाई विकाससित जोड्न नसक्दा जनताको विश्वास कम हुन सक्छ,' शर्माले कान्तिपुरसित भने, 'स्थानीय विकास, आयोजना निर्माण, आकस्मिक घटना र जनतालाई लाभ पुग्ने विषयमा राजनीतिक कार्यकर्ताले निःस्वार्थ साथ दिन सक्नुपर्छ ।'
सुख्खा क्षेत्र भएकाले दक्षिणी यासोक, स्वाबरुम्बा र रानीगाउँमा पानीका स्रोत घट्दै गएका छन् । यस भेगका बासिन्दाले प्रयोग गर्दै आएका रानीगाउँ ६ को थापाकुवा, उत्तिसे कुवा, यासोक ३ को काफ्लेपानी कुवा पूर्ण रूपले सुकेका छन् । यासोक बजारदेखि ४५ मिनेट टाढाका मल्लिंडे कुवा र प्यान धारामा पनि पानी घटेको छ । स्थानीयले सुख्खा क्षेत्रमा अन्त कतै पानीको स्रोत नभएको बताएका छन् । भएका मुहानमा पनि पानी आउन छोडेपछि त्यस क्षेत्रका हरेक गाविसबाट १५-२० परिवार बर्सेनि सुविधा भएको ठाउँमा बसाइँ जाने गरेको स्थानीय शिक्षक चन्द्र निरौलाले बताए ।