काठमाडौ, पुस ११ -
प्रशिक्षक मधु कार्कीलाई विश्वास गर्ने हो भने म्याकड्वेल्स आरसीटीले चार वर्षयताकै सबैभन्दा नराम्रो प्रदर्शन बुधबार गरेको छ । विसं २०६५ देखि प्रशिक्षकको जिम्मेवारी सम्हालेका उनले महिन्द्रा बाँसबारीविरुद्धको खेलबारे भने, 'आरसीटीको खेलाडीले मन नलागी-नलागी खेलेको यसअघि देखेको थिएन । शीर्षस्थानको टिमले ४५ मिनेटसम्म एकपल्ट पनि आक्रमण गर्न सकेन । आफ्नो स्तरभन्दा धेरै नै कमजोर खेले ।'
नतिजा बाँसबारीको पक्षमा गएको जनाउन खेलको स्कोर बताउनै पर्दैन । किनभने हारेको पुष्टि गर्न मधुको भनाइ -पहिलो अनुच्छेद) नै काफी छ । मोमोडोउ लेमिनले दुई गोल गरेपछि बाँसबारीले यसपल्ट पहिलो जित रच्यो । ६ पल्टको विजेता आरसीटीले पेनाल्टीको अवसर पनि उपयोग गर्न सकेन । त्यसैले उसको अपराजित यात्रा आठ खेलमै सीमित भयो ।
आरसीटीले नौ खेलबाट २० अंक जोडेको छ । उसलाई एक-एक खेल कम खेलेका थ्री-स्टार -१९) र लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी -१८) ले उछिन्न सक्नेछन् । मनाङ लिगमा अपराजित एक्लो टिम हो । अप्रत्याशित जितसँगै बाँसबारीले ५ अंक जोडेपछि रेलिगेसनको प्रतिस्पर्धा पनि रोमाञ्चक भएको छ । बौद्ध -१) र एक खेल कम खेलेको आइसबर्ग मध्यपुर -७) पनि रेलिगेसन क्षेत्रमा छन् । मध्यपुरसँग ३ अंकनजिक ५ क्लब छन् ।
भाग्यमानी प्रशिक्षक हरिओम श्रेष्ठलाई बर्खास्त गरेपछि दिपेश योञ्जन लामाले प्रशिक्षकको जिम्मेवार सम्हालेको ३ खेलबाट बाँसबारीले ४ अंक जोड्यो । यस्तोमा उनी प्रसन्न देखिए । 'प्रतिद्वन्द्वीअनुसार ५-३-२ मा परिवर्तन गर्दै ४-४-२ को संरचनामा खेलाएको थिएँ । खेलाडीले शक्ति लाएर राम्रो खेले । गोल खाएपछि आरसीटी अत्तालियो,' उनले भने ।
उनले गोलकिपर अजित प्रजापतिको पनि प्रशंसा गरे । पेनाल्टीमा युगलकिशोर राईले ५६ औं मिनेटमा प्रहार गरेको बल अजितले डाइभ हान्दै बाहिर्याएर आरसीटीलाई निराश पारेका थिए । दिपेश थापामगरको क्रसमा पेनाल्टी क्षेत्रमा रहेका बाँसबारीका सन्तोषसिंह ठकुरीको हातमा बल लागेपछि आरसीटीले उक्त पेनाल्टी पाएको थियो । अल्छी देखिएका आरसीटीका खेलाडीले राम्रो मुभ बनाउन पनि सकेन ।
आरसीटीका किपर दिलीप क्षेत्रीले फर्काएको बललाई अपि|mकी मूलका लेमिनले २९ औं मिनेटमै पोस्टको दिशा दिँदै बाँसबारीलाई अग्रता दिलाएका थिए । उनले दोस्रो गोल ४७ औं मिनेटमा हेडद्वारा गरे । त्यसमा दिलबहादुर तामाङको क्रस उपयोग गरे ।
आफ्ना खेलाडीले बाँसबारीलाई सहज प्रतिद्वन्द्वी मानेकाले गाह्रो भएको आरसीटीका प्रशिक्षक मधुले बताए । उनले भने, 'जितिहालिन्छ भनेर खेले । दबाबमा गोल गर्न पनि सकेनन्,' उनले भने । तीन पहेंलो कार्ड भएकाले प्रतिबन्धित स्ट्राइकर अमर डंगोलको अभाव उनले महसुस गरेका थिए ।
हिमालयनको जित
सुस्त गतिको खेलमा हेमन गुरुङले एकमात्र गोल गरेपछि यती हिमालयन शेर्पाले बौद्धमाथि १-० को जित निकाल्यो । उनले ७० औं मिनेटमा प|mी किकमा फस्ट बार च्याप्दै प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । बौद्धका किपर रञ्जित गुरुङ मानवीय पर्खालले च्यापेकै गोलपोस्टतिर भएको मौकामा हेमनको प्रहार चलाखीपूर्ण थियो ।
खेल भने नीरस थियो । दुवैले मध्यभागमा नियमित ३-४ पास खेले पनि पोस्ट आक्रमणको अभावमा दुवै टिममा स्ट्राइकरको अभाव देखिएको थियो । 'मिडफिल्डले राम्रो खेले पनि स्ट्राइकरले गोल गर्न सकेन । तैपनि मेहनतको फल हात पार्यौं । अब शीर्ष आठमा पुग्ने लक्ष्य छ,' हिमालयनका म्यानेजर/सहायक प्रशिक्षक तेन्जिङ शेर्पाले भने । उनले हेमनको खेलको प्रशंसा गरे । हिमालयन १० अंकसहित नवौंमा छ ।
प्रकाशित मिति: २०६९ पुस १२ ०८:३१
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?