काठमाडौ, पुस ११ -
भारतीय आयल निगम -आईओसी) का विज्ञहरूको एक टोलीले आयल निगमका डिपो जोखिमपूर्ण रहेको बताएका छन् । शनिबार नेपाल आएको उक्त टोलीले डिपोको भ्रमण तथा अध्ययन गरी निगमका उच्च अधिकारीसमक्षलाई अवस्था बताएका हुन् ।
'आईओसीका विज्ञले सञ्चालनका हिसाबले ७५ प्रतिशत खराब छ भन्ने बताएका छन्,' निगम स्रोतले भन्यो, 'डिपोसम्बन्धी विस्तृत प्रतिवेदन पछि आउँछ ।' निगमको निमन्त्रणामा आईओसीको उपमहानिर्देशकत्रय एमके मुखर्जी, ऐश्वर्या प्रकाश र राहुल भारद्वाज नेपाल आएका थिए । भारद्वाज नेपाल-भारत व्यापार हेर्ने उपमहानिर्देशक हुन् भने मुखर्जी र प्रकाश प्राविधिक क्षेत्रका विज्ञ हुन् । 'ज्यादै पुरानो भएकाले डिपो मर्मत सुधार गर्न नितान्त जरुरी छ भन्नुभयो,' निगमका उपप्रबन्ध निर्देशक जयराज आचार्यले भने । आचार्यका अनुसार भारतीय टोलीले काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपो, थानकोट, अमलेखगन्ज र भैरहवा डिपो निरीक्षण गरेका थिए । निरीक्षणपछि बुधबार भारतीय टोलीले निगमकै हलमा डिपोको अवस्थाबारे प्रस्तुति गरेका थिए । उनीहरूले खासगरी निगमको सबैभन्दा ठूलो र करिब ३७ वर्ष पुरानो अमलेखगन्ज डिपोको अवस्था चिन्ताजनक भएको बताएका थिए । 'फायर फाइटिङ सिस्टम र फायर फाइटिङ टिम नरहेको भन्दै सुरक्षाका हिसाबले डिपोका अवस्था जोखिमपूर्ण भएको कुरा भारतीय विज्ञबाट राखियो,' स्रोतले भन्यो, 'मर्मत सम्भार राम्ररी भएको रहेनछ, डिपो जडान कसरी गर्नेदेखि मेसिनमा कुन समयमा मोबिल र गि्रज राख्ने तथा कसरी डिपोको हेरचाह गर्ने भनेर जान्ने जनशक्ति रहेनछ भन्ने कुरा पनि बताइयो ।' भारतीय विज्ञले डिपो पुरानो प्रविधिको भएकाले नयाँ प्रविधिमा लैजानुपर्ने सुझाव पनि दिएका थिए । भीम आचार्य संयोजकत्वको उच्चस्तरीय आयोगले पनि निगम डिपो मर्मत सम्भार र सुधार गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेको उक्त सिफारिस कार्यान्वयन गर्नका लागि अध्ययन गर्न निगमले भारतीय विज्ञ बोलाएको हो । भारतीय टोली बुधबारै फर्किएको छ ।