Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
अर्थ/वाणिज्य»

१५ हजार औषधि पसललाई १२ निरीक्षक

काठमाडौ, पुस ११ -
सर्वसाधारणको जीउज्यानसँग प्रत्यक्ष जोडिएको औषधि बेच्ने १५ हजार पसलका गुणस्तर हेर्ने निरीक्षकको संख्या १२ मात्रै छ । तीमध्ये ६ जनालाई हालै औषधि व्यवस्था विभागले करार नियुक्त गरेको हो । यसरी हेर्दा एक निरीक्षकको भागमा करिब १ हजार २ सय औषधि पसल पर्छन् । 'निरीक्षक कम र निरीक्षण प्रभावकारी नहुँदा औषधि उद्योग र पसलेमाथि गुणस्तरको प्रश्न उब्जिएको छ,' स्वास्थ्य व्यवसायी संघका अध्यक्ष रामजी घिमिरेले भने, 'उनीहरूले मनोमानी गरिरहेका छन् । सर्वसाधारणको स्वास्थ्यमा असर पर्ने औषधिको विषयमा 'कन्ट्रोल' गर्न नसक्नु सरकारको निरीहता हो ।' विभागका अनुसार काठमाडौंमा ४, विराटनगरमा २, नेपालगन्जमा ३ र वीरगन्जमा ३ निरीक्षक छन् ।

काठमाडौंका निरीक्षकले १८ जिल्ला र अन्यले क्षेत्रगत जिल्लाका पसल निरीक्षण गर्छन् । करार र विभागको दरबन्दीमा काम गरिरहेका निरीक्षकसमेत वर्षमा एक पटकभन्दा बढी कुनै जिल्लामा पुग्न सक्दैनन् । पुगेको ठाउँमा समेत सबै औषधि पसल उनीहरूले अनुगमन गर्न भ्याउँदैनन् । 'गएको समयमा समेत निरीक्षक अनुमतिप्राप्त औषधि पसलमा मात्र पुग्छन् । केही गल्ती, कमी-कमजोरी भेटिए चेतावनी दिएर आउँछन्,' विभागका एक कर्मचारीले भने, 'खराब काम गरेकालाई नियमअनुसार मुद्दा दायर भएको उदाहरण निकै कम छ ।' मुलुकभर करिब १५ हजार आयुर्वेदिक, भेटेरिनरी, एलोपेथिक औषधि पसल छन् । चार सय ३२ स्वदेशी तथा विदेशी औषधि उद्योग छन् । निरीक्षक कम भएकै कारण ती उद्योग र पसल अनुगमनको काम वषौर्ंसम्म हुन सकेको छैन । प्रभावकारी निरीक्षण नभएका कारण कतिपय औषधि पसलेले गुणस्तरहीन मात्र होइन, प्रतिबन्धित औषधिसमेत बिक्रीवितरण गर्ने गरेका छन् । उपत्यका र जिल्लामा दर्जनौं औषधि पसल बिनादर्ता सञ्चालनमा छन् ।

औषधि क्षेत्रका गल्ती, कमीकमजोरीबारे हालकै निरीक्षकले नियमअनुसार काम नगरेकाले जति भए पनि केही नहुने उपभोक्ता मञ्चका केन्द्रीय सदस्य बाबुराम हुमागाईंले बताए । 'निरीक्षण गरेको पसलवालाले गल्ती गरेपछि कानुनअनुसार कारबाही गर्ने हो भने आफंै नियन्त्रण हुन्छ,' विभागका पूर्वनिरीक्षकसमेत रहेका उनले भने, 'तर अहिलेसम्म त्यस्तो काम विभागले गर्न सकेको छैन । नियत गलत भएपछि जतिसुकै निरीक्षक भए पनि अनियमितता रोक्न सकिँदैन ।'

विभागका अनुसार गत आर्थिक वर्षमा करिब २ हजार पसलमा निरीक्षण गरिएको छ । त्यसको अर्थ करिब १३ हजार पसलको निरीक्षणै भएन । १ सय १० उद्योगमा निरीक्षक पुगेको तथ्यांकमा उल्लेख छ । तोकेअनुसार सबै जिल्लामा पुग्नुपर्ने भएकाले गाउँगाउँका औषधि पसलको अनुगमन गर्न नसकिएको निरीक्षक पदमप्रसाद पौडेलले बताए । 'विभागले तोकेअनुसारको काम हामीले दैनिक गरिरहेका छौं,' उनले भने, 'आवश्यकताअनुसार निरीक्षक नभएकाले सबै पसल तथा उद्योग अनुगमन गर्न नसकिएको हो ।'

पौडेलका अनुसार यस आर्थिक वर्षमा प्रथम चौमासिकमा ४ सय ९० पसलमा निरीक्षण गरिएको छ । 'निरीक्षण गरिएकामध्ये के कति कारबाही गरियो केही दिनमा सार्वजनिक गर्ने छांै,' उनले भने । विभागमा जनशक्ति नभएकाले पर्याप्त मात्रामा निरीक्षक तोक्न नसकिएको विभागका महानिर्देशक राधारमण शाहले बताए । 'थप ३७ जनशक्तिको मागको फाइल अर्थ मन्त्रालय हँुदै सामान्यमा पुगेर बसेको छ,' शाहले भने, 'ती कर्मचारी आएपछि केही हदसम्म समाधान हुन्छ ।'

पसल अनुगमन भने बर्सेनि सुधार हुँदै गएको महानिर्देशक शाहले दाबी गरे । 'दुई/चार वर्षअघि १२ सयभन्दा बढी पसलमा निरीक्षक पुग्न सक्दैनथे,' उनले भने, 'तर हिजोआज बढेर दुई हजार पुगेका छन् । आगामी वर्षमा निरीक्षणको काम बढाउँदै लैजाने छौं ।'

औषधि व्यवसायी संघका अध्यक्ष बाबुराम भट्टराईले दर्ता नभएका औषधि पसलले समस्या सिर्जना गरेको बताए । 'निरीक्षक नभएको मौका पारेर हामी मातहतका एक/दुई औषधि व्यवसायीले फटाइँ गर्न सक्छन् । बढी समस्या दर्ता नभएका औषधि पसलमा छ,' उनले भने, 'निरीक्षक कम भएको होइन । भएका निरीक्षकहरू सुगम र दर्ता भएका औषधि पसलमा मात्र अनुगमन गर्न जाने भएकाले कम भएजस्तो देखिएको हो ।' भट्टराईका अनुसार मुलुकमा दर्ता भएका र नभएका औषधि पसल बराबरी जस्तै छन् । 'पहिले तिनीहरूलाई कारबाही गर्नुपर्‍यो । गल्ती गर्ने हाम्रा व्यवसायीलाई पनि कानुनअनुसार कारबाही गर्न जिम्मेवारी विभागको हो,' उनले भने ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:२७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication