काठमाडौ, पुस ११ -
साहित्यकार गोविन्दराज भट्टराई र मोमिला जोशीले प्रतिभा पुरस्कार एवं सम्मान पाएका छन् । राजधानीमा बुधबार नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले मोमिलालाई पुरस्कार र गोविन्दलाई सम्मान प्रदान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले मोमिलालाई १ लाख रुपैयाँ पुरस्कार सहित दुबोको माला, दोसल्ला, ताम्रपत्र हस्तान्तरण गरे भने गोविन्दलाई सम्मान स्वरूप २० हजार रुपैयाँ, दुबोको माला, ढाका टोपी र ताम्रपत्र दिए ।
गोविन्दराज नेपाली भाषा-साहित्यका ज्ञाता बताउँदै कुलपति काइँलाले मोमिलाको चाहिँ साहित्यिक युवा ऊर्जाको प्रशंसा गरे । चार दशकदेखि साहित्य साधनारत गोविन्दका उपन्यास, कथा, निबन्ध, समालोचनादेखि अनुवादसम्मका दर्जनौं कृति प्रकाशित छन् । तीन दशकदेखि साहित्य साधनामा लागिपरेकी मोमिलाले धेरैजसो कविता र निबन्धमा कलम चलाउँदै आएकी छन् । नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी उनले नेपाली साहित्यलाई डायस्पोरासम्म पुर्याउनु र डायस्पोराका साहित्यलाई नेपालसम्म ल्याउनुमा पुलको काम समेत गरिरहेकी छन् ।