काठमाडौ, पुस ११ -
किराँत एकेडेमी नेपालले यस वर्षको राष्ट्रिय पुरस्कार लेखक झलक सुवेदीलाई प्रदान गर्यो । गैरसाहित्यिक पुस्तक 'बि्रटिस साम्राज्यको नेपाली मोहरा' का लागि उनले पुरस्कार पाएका हुन् ।
राजधानीमा बुधबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सुवेदीलाई ५० हजार रुपैयाँ र ताम्रपत्रले सम्मान गरे । एकेडेमी संरक्षक एवं पूर्वमन्त्री गोपाल किराँतीले किराँती चिनोको रूपमा फेटा गुथाइदिए । माओ जयन्ती अवसर पारिएको कार्यक्रममा अध्यक्ष दाहालले झलकको लेखकीय योगदानको प्रशंसा गरे । एमाले नेता रवीन्द्र अधिकारीले चाहिँ झलकको राजनीतिक र साहित्यिक व्यक्तित्वबारे बोले । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय झलक पछिल्लोपटक राजनीतिक टिप्पणीजन्य स्तम्भसँगै आख्यान र गैरआख्यान लेखनमा सक्रिय छन् ।
लेखक हरि रोका, खगेन्द्र संग्रौल, अभि सुवेदी लगायतले झलकको कृति पढ्दा गोर्खा लाहुरेको दुःख र वेदना नजिकबाट महसुस भएको र त्यसभित्र गोर्खा संस्कार र राज्यबीचको द्वन्द्वात्मक प्रश्न तेर्सिएको औंल्याए । पुरस्कार थाप्दै उनले कृतिमार्फत गोर्खा लाहुरे परम्परा संस्कृतिमा रूपान्तरण हुन थालेकोमा चिन्ता व्यक्त गर्न खोजेको खुलाए । अघिल्लो वर्ष युग पाठकको उपन्यास 'उर्गेनको घोडा' लाई पुरस्कार दिइएको थियो ।