Kantipur

Kantipur

मिति | २०७१ वैशाख ५, शुक्रबार     Login | Register
विविधा»

डेटलाइन तराई : जवाफ देऊ, हिसाब देऊ

पुस ११ -
यतिखेर तराईमा शीतलहर लागेको छ । गाउंँघरतिर जाडो छल्न आममानिस घुर तापेर बस्छन् । घुर ताप्दै समसामयिक विषयमा छलफल पनि गर्छन् । त्यस्ता छलफलमध्ये एउटा मुद्दा मधेसी दलहरूको भूमिकाबारे पनि हुने गर्छ । विगतमा सदनमा पठाएका मधेसी दलहरूले के कसो गरे, त्यसको लेखाजोखा हुनथालेको छ । त्यस्तै तराईको ठूलो जनमतमा राजनीति गर्न खोज्ने एमाओवादी, नेपाली कांग्रेस र एमालेले यस क्षेत्रका सवालहरूप्रति कतिको तदारुकता देखायो, त्यसको पनि छिनोफानो चल्दैछ । आम मधेसीको मनोविज्ञान हेर्दा उनीहरू ठूला तीन दलसंँग जवाफ माग्ने सोचमा छन् भने मधेसी दलहरूसंँग पछिल्ला वर्षहरूका हिसाब माग्ने सुरमा छन् । मधेस छिर्न खोज्ने ठूला तीन दल अनेकौ प्रश्नको जवाफ लिएर गाउँं छिर्नु पर्नेछ । त्यस्तै पटक-पटक सत्ताआनन्द बटुलेका मधेसी नेतृत्वहरूले पनि आफूले के गर्‍यौं र के दिलाउन सक्यौं भन्ने उत्तरका साथ गाउंँ पुग्दा सहज हुने स्थिति छ । मूल प्रश्न हो, के मधेस र मधेसीको समस्या केवल मधेसी दलहरूको थाप्लोमा छ ?

मुलुक यतिखेर तीव्र राजनीतिक धु्रवीकरणको बाटोमा बढिरहेको छ । एमाओवादी नेतृत्वको सरकारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलहरू र अन्य मधेसी दल पनि सहभागी छन् । सरकार बाहिर विगतको संसदमा रहेका दलहरू छन् । संसदमा नरहेका दलहरू पनि क्रियाशील छन् । त्यसमा सशस्त्र समूहका वार्तारत समूहहरू पनि छन् । यथार्थ के हो भने यसपटक कुनै पनि दलका लागि मधेस कठिन भएर देखा पर्नेछ । पछिल्ला समयमा सञ्चारमाध्यमहरूको बढ्दो प्रभाव र पहुँचले आममानिसमा जिज्ञासाहरू पलाएका छन् । विषय केन्दि्रत बहस र वैचारिक मन्थनको आवश्यकता बढ्दै गएको छ । परिणामस्वरूप नेपाली राजनीतिमा विद्यमान परम्परागत सोचाइलाई भत्काएको मात्र होइन, नयाँ चिन्तन र विचारलाई प्रक्षेपितसमेत गरेको छ । साथै मधेस विद्रोहसहितले उपलब्ध गराएको लोकतन्त्रको उज्यालोबाट वृद्धि भएको जनचेतनाबीच उमि्रएका विचार र चिन्तनका तरङ्गहरू तीव्रतासाथ बढेका छन् र मधेसमा फैलिएका छन् ।

एमाओवादीको नेतृत्वमा सरकारमा सहभागी मधेसी दलहरूले उसकै संरक्षकत्व र सक्रियतामा नयाँ राजनीतिक गठबन्धनलाई आकार दिन थालेका छन् । व्यावहारिक रूपमा यस गठबन्धनलाई मूलतः नेपाली कांग्रेसको विरोधमा उभिन तत्कालका लागि साझा आधार उपलब्ध भए पनि सैद्धान्तिक र अरू पनि कारणले गर्दा यस गठबन्धनको दीर्घकालीन सहयात्रा सहज देखिएको छैन । तसर्थ नेपाली कांग्रेसले तय गर्ने बाटोले नै मधेसको भविष्यको सामथ्र्य र यात्रालाई निर्धारण गर्ने निश्चित छ । तर एउटा राजनीतिक दलको पहिचान - प्रदर्शनका लागि निश्चित अडान महत्त्वपूर्ण भए पनि संकट समाधानका निम्ति अडानभन्दा उपायहरूको खोजी झन् बढी महत्त्वपूर्ण हुने गर्छ । नेपाली कांग्रेसले मधेसलाई साम्य पार्न आफ्नातर्फबाट उपायहरूको खोजी गर्नुपर्छ । अनिमात्र उसले मधेसबाट आशलाग्दो पुनःवापसीको ढोका खोल्न सक्छ ।

सरकारमा रहेका मधेसी दलहरूमा आफ्नो विगतप्रति आत्ममन्थन छैन । सरकारमा बसेर आफ्नै हातमा डाडु-पन्यु हुंँदाहुंँदै कहाँनिर छेकबार लाग्यो ? सिंहदरबारमा संख्यात्मक उपस्थिति भएर पनि 'स्थायी सत्ता'मा किन हस्तक्षेप हुनसकेन ? उनीहरूले आफूहरूले के गर्नसके, के गर्न सकेनन्, के खोजेका हुन्, कहाँ जाने हो, त्यसबारे चिन्तन गरेका

छैनन् । कुनै पनि दलको राजनीतिक दस्तावेजमा समग्रतामा यी प्रश्नहरूको खोजी प्रक्रिया भेटिँदैन । अहिले सरकारमा उपस्थित हुनबाट संयोगले छुटेका र कुनै पनि बेला कुनै पनि प्रकारको सरकारमा जान खुट्टा उचालेका उपेन्द्र यादव वा शरत्सिंह भण्डारी पनि यी प्रश्नहरूसंँग जम्काभेट नहोस् भन्ने चाहन्छन् । अहिले सरकारमा रहेका दलहरूप्रति व्यङ्ग गर्न उहाँहरूलाई शब्दको कमी छैन, तर आफ्नो सफाइ दिन खाँचो छ । जयप्रकाश गुप्ता कारागार चिन्तन गर्दै आम मधेसीसँंग 'पत्र सम्वाद'को माध्यम प्रयोग गर्दैछन् । उनले त्यहीबाट लेखेका पत्रलाई उनका समर्थकहरूले एउटा पुस्तिकाको रूप दिई मन्थन शृङखला प्रारम्भ गरेका छन् । वार्तामा रहेका सशस्त्र समूहहरू अहिले आफूलाई गोलचक्करमा पारिएको अनुभव गर्दैछन् भने अन्य दल आफ्नो भूमिका तलास्दैछन् । यस परिप्रेक्ष्यमा आजको मधेसको राजनीतिमा दल र नेताहरूको मूल्यांकन एउटा स्पष्ट र वस्तुनिष्ठ आधारमा तय गर्नु आवश्यक छ ।

स्थानीय 'घुर' सम्वादमा मधेसी दलहरूको निरन्तरको सत्तालोलुपता, पलायन, सैद्धान्तिक-वैचारिक विचलन, तुरूपवृत्ति, खास जातिविशेषको नेता बन्ने महत्त्वाकांक्षा, सम्झौतापरस्त चरित्र, सत्ताकेन्दि्रत दृष्टिप्रति खुब कुरा उठ्न थालेको छ । त्यसैले संविधानसभा निर्वाचनताका आन्दोलनबाट सोझै निर्वाचनमा छिरेका जस्तो तात्तातो अवस्था यतिखेर छैन । केवल एउटा समुदाय विशेषको सत्ताको भय देखाएर जनमतलाई गुमराह पार्ने स्थिति छैन । उता सशस्त्र समूहहरूलाई थोकमै वार्ता प्रक्रियामा ल्याइएको छ । कुन राजनीतिक र कुन गैरराजनीतिक त्यसको कित्ताकाट नगरिंँदा ती समूहहरूभित्रै अन्योल छ । सरकारले सजगता देखाएन भने विभिन्न स्वार्थी मनसुवाहरू यी असन्तुष्ट कुनै पनि समूहलाई टप्प टिप्न सक्छन् । विगतमा भूमिगत भूमिकामा रहेका यिनीहरूलाई खुला राजनीतिमा आउन त्यति सहज छैन । जो समूह वा नेतृत्व आम मानिसबीच मिलेर काम गरिराखेका थिए, उनको प्रभाव देखिन्छ । तर यस्ता समूह वा व्यक्तिसंँग अहिले देखापरेको चुनौती भनेको आफै दल बनाई अगाडि बढ्ने कि क्रियाशील दलहरूमै समाहित हुने ? उसो केही दलहरूले यस्ता व्यक्तिहरूलाई आफूसंँग जोड्न खोजी पनि राखेका छन् ।

तराईको जनसांख्यिक बनोट फेरिएको छ । पछिल्ला वर्षहरूमा नयाँ-नयाँ प्रश्नहरू जन्मिएका छन् । तराईको विविधतालाई जोड्न नसक्नेले लामो दौडको सवारी हाँक्न सक्दैनन् । तर यसबाट आफूलाई जानाजान बेखबरजस्तो बनाई मधेसका केही दल विशुद्ध जाति आधारित समीकरणमा आफूलाई ढाल्दै गएका छन् । बिर्सन नमिल्ने केही वस्तुगत यथार्थहरू छन्, जसले सम्पूर्ण समाजको चिन्तनधारालाई नयाँ मोड दिइरहेको छ । यसले मधेसमा नयाँ खाले द्वन्द्व र तनाव सिर्जना गर्दैछ ।

एमालेभित्र रामचन्द्र झाको वनवास यात्राको स्थगन प्रयत्नपछि मधेसी राजनीतिमा एमाले आफूलाई कसरी सरोकारवालाको रूपमा प्रस्तुत गर्छ, त्यो हेर्नुपर्ने भएको छ । भाषिक सम्मोहलाई प्रश्रय दिन आतुर एमालेले आफ्नो छविलाई कसरी उजिल्याउंँछ ? एमाले मधेसमा खास नेताहरूको वृत्तबाट अलग हुन सकिरहेको छैन । उता नेपाली कांग्रेसको पनि त्यही नियति छ । बरु एमाओवादी निर्वाचन क्षेत्रमुखी जाति समीकरणमाथि गहिरो नजर राख्दै आफ्नो खुट्टा तन्काउने सोचमा छ । कुनै पनि संगठनलाई नयाँ ऊर्जा र शक्ति दिन मधेसमा साह्रो छ । त्यसैले उनीहरू मुद्दाको खोजीमा छन् । तर प्रारम्भदेखि नै केवल काठमाडांैको विरोध कार्यक्रमको रूपमा निर्देशित प्रयास वास्तवमा अब लोकपि्रय रूपमा विकसित हुनसक्ने स्थिति छैन । राजनीतिक मुद्दा स्पष्ट नभएको र आर्थिक, सामाजिक मुद्दाहरूलाई अग्रस्थानमा नराखिकन धरै छैन ।

मुलुकको राजनीतिक बाटोको रूपमा निर्वाचनलाई मानिँदैछ । अब हुने संविधानसभाको निर्वाचनमा मधेसको प्रतिनिधित्व महत्त्वपूर्ण भएर आउंँछ । कुनै पनि आधारमा त्यहांँको जनसांख्यिक प्रतिनिधित्वलाई कटौती गर्ने प्रयत्न गरियो भने त्यसले मधेसमा असन्तुष्टि चर्काउँंछ । विगतमा पनि मधेसले जनसंख्याको आधारमा प्रतिनिधित्व खोजेको थियो र त्यो मुद्दा आज पनि ज्युँदो छ । त्यस्तै मधेसी विद्रोहको पर्यायकै रूपमा आउने गरेको पहिचान, प्रतिनिधित्व, पहुँच, प्राकृतिक स्रोतमाथिको स्वामित्व र प्रदेशको चाहनालाई अहिलेको स्थितिमा पुनःव्याख्याको खाँचो छ । यी कुराहरू के भएर अपुग हुन् र के भइदिँदा तुष्ट हुने हुन्, त्यसलाई अथ्र्याउन जरुरी छ । आम मधेसीले जवाफ र हिसाब माग्दा आफ्ना चाहनालाई प्रस्ट्याउन सक्नुपर्छ ।

मधेसको मनोविज्ञानमा असन्तुष्टि देखिन्छ । घुरको आगो सेलाएपछि माथि-माथि खरानी हुन्छ, तर भित्र-भित्र आगोको झिल्को रहिरहन्छ । यस्तो अवस्थालाई मैथिली- भोजपुरीमा 'भुभुर' भनिन्छ । मधेसको अवस्था यतिखेर भुभुरको जस्तै छ । माथिबाट हेर्दा मधेसी दलहरू अलोकपि्रय भएको, उनीहरूप्रति जनअसन्तोष थपिएको, मधेसी दलहरू विखण्डित भएको देखिन्छ । यहींनिर मधेस, मधेसी दल र मधेसी मुद्दालाई फराकिलो तरिकाले हेर्नुपर्ने अवस्था छ । अहिले परिदृश्यमा रहेका मधेसी दलहरू आफ्नो अस्तित्वका लागि संघर्षरत रहे पनि आम मधेसीमा मधेसी मुद्दाप्रति चनाखोपन छ । मधेसी मुद्दा गहिरिँदै गइराखेको छ । संविधान निर्माणप्रतिको अलमल, संघीयता प्राप्त हुने स्थिति नबन्नु, प्रतिनिधित्वको कटौती, दैनिकीसँंग जोडिएका सवालहरूको उपेक्षाका सन्दर्भहरूले गर्दा त्यहाँको अवस्था भुभुरजस्तै छ, जो कुनै पनि बेला दन्दनी बल्न सक्छ ।

मधेसमा आगो बाल्नेहरूले आधारभूत राजनीतिक परिर्वतन र संक्रमणको संघारमा उभिएको नेपाललाई स्पष्ट दृष्टि र दिशा दिन सकुन् । त्यसका लागि लोकतान्त्रिक शक्तिहरू चनाखो हुनैपर्छ । मधेसबाट राष्ट्रिय पात्रको रूपमा अगाडि देखिएका सबै नेतृत्व अन्यौल र अलमलमा परिराखेका बखत दक्षिणपंक्ति शक्ति हौसिने दाउमा छन् । त्यसैले परिवर्तनलाई आफूले निर्देशित गरेको बाटोमा हिँडाउने दृष्टिचेत भएकाहरूले नै भुभुर हटाउने प्रयत्न गरे देश र मधेसको भलो होला ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:२२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-17
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication