Kantipur

Kantipur

मिति | २०७१ वैशाख ८, सोमबार     Login | Register
पाठक पत्र»

पाठक मञ्च

पुस ११ -
बेमौसमको बत्ती

नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि फेरि अर्काे तालिका बनाएर थप लोडसेडिङको मार थपेको छ । यसअनुसार दिनमै ६ घन्टा बिहान र ६ घन्टा बेलुकी गरी दैनिक बाह्र घन्टा लोडसेडिङ गरी मानव जीवनलाई थप कष्टकर बनाएको छ । बत्ती बालिने समय भने जम्मा ३ देखि ४ घन्टाको लागिमात्र कायम गरेको छ । यो तालिकाअनुसार बत्ती बालेको समयमा बत्तीको उपभोग कति नै गर्न पाइयो र के कामका लागि उपभोग गर्न पाइयो र ? दैनिक ३, ४ घन्टामात्र दिएको बत्तीको उपभोग केका लागि हो ? के यो कुरा प्राधिकरणले जनतालाई चित्तबुझ्दो जवाफ दिन सक्छ ? कुबेलाको बत्तीले न राइसकुकर बाल्न मिल्छ, नत टिभीमा समाचारहरू सुन्न र हेर्न पाइन्छ, न बच्चाहरूले बत्ती बलेको आभाष नै गर्न पाउने भए । साथै राति सुतिसकेपछि दिएको बत्तीको अर्थ के रह्यो र ? मानिस निदाएपछि रातभर बलेको बत्तीको के काम ? यस्तो बेतालको तालिका दिएर जनताको जीवन थप कष्टकर बनाउनुको सट्टा त बिहान र बेलुका ३-४ घन्टाको लागिमात्रै बिजुली दिएको भए त्यस समयमा राइसकुकरको प्रयोग गर्न पाइन्थ्यो, हिटर

बाल्नको साथै लुगामा आइरन लगाउने, बच्चाहरूले कार्टुन हेर्दै खाना खान पाउँथे । बिजुलीको प्रयोग पनि थोरै समयको लागिमात्रै भए पनि सही काममा सही ठाउँमा हुन्थ्यो ।

- बोधनाथ पौडेल

नयाँबानेश्वर, काठमाडौं



 रामेछापमा लालभ्रम

रामेछाप जिल्ला नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिने सहिद गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र कृष्णलाल अधिकारी अर्थात तीन लालको नामबाट पनि चिनिन्छ । तीन लाल जहानियाँ राणाशासन तथा निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध जीवनपर्यन्त लडे । यस अर्थमा तारारूपी तीन लाल सदाकाल रामेछापेलीको गौरव बनिरहनेछन् । उनीहरूका सम्झनामा सालिक निर्माण गरियो । पत्रिका सञ्चालन एवं एफएम रेडियो -८८.६ मेगाहर्ज) प्रसारण भइरहेछ । यत्ति हुँदाहुँदै पनि सशस्त्र द्वन्द्वपछिको गाउँ बसाइमा तीन लाल शब्दको गलत प्रयोग भई जनमानसमा भ्रम सिर्जना भइरहेको पाइयो । त्यसमा पनि रेडियो 'तीन लाल'मार्फत । यसर्थ राष्ट्रिय व्यक्तित्वको चिनारी आवश्यक देखिन्छ । इतिहास निम्न बमोजिम बोल्छ ।

गंगालाल श्रेष्ठ ः जुद्धशमशेरले 'गाथगादी ताके' भनेर मृत्युुदण्डको फैसला सुनाइयो । २२ वषर्ीय युवक गंगालाललाई शोभा भगवतीको अगाडि विष्णुमती नदीको किनारमा हत्या गरियो । उनी सहिद हुन् र श्रद्धाले शिर झुक्छ । पुष्पलाल श्रेष्ठ सहिद गंगालालका भाइ पुष्पलालले कलकत्तामा कार्यालय सचिव भएपछि कम्युनिष्ट पार्टी खोलेका थिए । उनी कांग्रेस तथा वीपी कोइरालासंँग नजिक थिए । प्रजातान्त्रिक पद्धति स्थापना गर्ने अभियानमा उहाँलाई वामपन्थीबाटै कांग्रेसको पुच्छर, गद्दारजस्ता दुर्वाक्यहरूबाट आलोचित हुनुपरेको थियो । उहाँको २०३५ साउनमा कालगतिले दिल्लीमा मृत्यु भयो । कृष्णलाल अधिकारी ः उनी नायव सुब्बा पदका जागिरे थिए । 'मकैको खेती' भन्ने किताब लेखी महाराज चन्द्रशमशेरलाई पेच हानेकाले नेल र हत्कडी लाएर भद्रगोल जेल हालियो । उनी जेलमै मरे ।

प्रस्तुत विवरणबाट प्रस्ट हुन्छ कि गंगालालमात्र 'सहिद' हुन् र पुष्पलाल सहिद होइनन् र कहीं कतै 'ज्युँदा सहिद' भनिएको पनि पाइएको छैन । कृष्णलाललाई बौद्धिक क्षेत्रले सहिदको सम्मान दिने गरेको भनिए पनि आधिकारिक रूपमा उनलाई सहिदको दर्जा दिइएको छैन । सहिदको परिभाषासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा जेलभित्र मारिएकालाई सहिदको दर्जा दिनुपर्ने भनी सरकारलाई सिफारिस गरेको पाइन्छ । तर प्रतिवेदन हालसम्म कार्यान्वनमा आएको छैन र विवादित अवस्थामा छ । साहित्यकार जगदीश घिमिरेको आख्यान 'सकस'बाट पनि यही तथ्य उजागर हुन्छ । वीपीका बाबु कृष्णप्रसाद कोइराला राणाशासन विरोधी अभियानमा बन्दी अवस्थामै विसं २००१ मा मरेका थिए । तर 'सहिद' घोषणा गरिएन । अतः रामेछापको लोकपि्रय एफएम रेडियो 'तीन लाल'ले हरेक समाचार प्रसारण -वा वाचन) अघि बजाउने 'जिन्गर'को बोलमा- 'के बिहान-साँझ गुञ्जिन्छ हाम्रो रेडियो 'तीन लाल' -सहिद तीन लाल, आयो है बोकेर नौलो सूचना अधिकार गोलबद्ध भई....आदि' शब्दहरू चयन गरिएका छन् । सहिद तीन लाल शब्द गलत ढंगबाट प्रयोग हुनु आपतिजनक छ ।

- ज्ञानेन्द्रराज आरण

रामेछाप



 कहिलेसम्म सहने महिला हिंसा ?

महिला हिंसा विरुद्धको १६ दिने अभियान सकिन नपाउँदै बर्दियाकी १६ वषर्ीया शिवा हासमीलाई जिउँदै मट्टतिेल खन्याएर आगो लगाइयो र केही दिनपछि उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भयो, दोषीमाथि छानबिन कार्य प्रक्रियामै छ  । त्यसको केही समयपछि बाजुरामा एक महिलाले श्रीमानलाई मदिरा सेवन नगर्न आग्रह गर्दा काखे बालकलाई समेत तातो पानी खन्याई चरम यातना दिइयो । अघिल्लो मंगलबार बर्दियाको एक गाउँमा १६ वषर्ीया शर्मिला भूलको छाउपडी गोठमै मृत्यु भयो । यस्तै बारामा हिजोमात्रै एक किशोरीलाई जलाइएको  मृत अवस्थामा फेला पारिएको छ । देश संक्रमणकालको चरम बिन्दुमा छ, नीति, नियम र कानुको अभाव छ, सबैको ध्यान राजनीतिमा केन्दि्रत छ । समाजमा हत्या, हिंसा, मारपिट, लुटपाटजस्ता घटना सामान्य बन्दै गइरहेको छ । किन मौन छ, महिला आयोग ? किन यस्ता घटना बढिरहँदा पनि केही बोल्दैनन्, महिला अधिकारवादी ? एउटी नारीमाथि भएको अत्याचारमा सबै मौन किन ? हाम्रो कुनै दायित्व छैन र महिला हिंसा कम गर्नमा ?

- रामसुदन नेपाल

नमुना मच्छिन्द्र क्यम्पस, लगनखेल



 जातीय राज्यको विपक्षमा

आजको २१ औं शताब्दी विज्ञान प्रविधि एवं सूचना र सञ्चारको नवीन युग हो । यस्तो समयमा नेपालजस्तो सांस्कृतिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी सहयोग, सहअस्तित्वको अनुकरणीय संस्कृति र सभ्यता भएको सार्वभौमसम्पन्न सर्वधर्म सद्भाव रहेको देशमा जात, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, वर्ण, रङ्ग आदिको विभेदकारी मानवीय मर्यादा विपरीत केवल एकल जातीय पहिचानको मात्रै विषयलाई चर्काउनु दुर्भाग्यको कुरा हो ।

उच्च आदर्शभित्र समेटिएको बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय एवं बहुलवादी संस्कृतिका पक्षधर हामी स्वाभिमानी नागरिकका अगाडि आज कसैले जातीयता र क्षेत्रीयताको डडेलो सल्काएर आर्य सभ्यतालाई समूल रूपमा मास्ने प्रयास भइरहेको छ । जातीय सद्भाव कायम राख्न विचार, विवेकशीलता, आस्था र इच्छाशक्तिको आवश्यक हुन्छ । सबै जातजाति, भाषाभाषी र प्रजातिको सर्वाधिकारको सम्मान गर्ने सार्वभौमसम्पन्न राज्य निर्माण गर्नु र त्यहीअनुसार जनपक्षीय संविधान बनाउनु आजको आवश्यकता हो । जातीय, क्षेत्रीय, भाषा, धर्म एवं संस्कृतिमा विभेद नीति मानवमात्रका लागि खतरा र राष्ट्रका लागि घातक हुन्छ । त्यसैले हामी नेपाली भिन्नाभिन्नै जातजाति, भाषाभाषी, धर्म, संस्कृति अनि क्षेत्रीयताको चपेटामा परेर सामाजिक विभेदको वृक्ष रोप्ने कार्य तत्कालीन समयमा क्षणिक लाभझैं देखिए पनि कालान्तरमा अभिशाप बन्न सक्छ ।

- सागर गुरागाईर्ं

मध्यपुर थिमी, भक्तपुर



 नेपाली सम्मान पो जाती


राष्ट्रप्रमुख भनेका राष्ट्रका अभिभावक हुन्, यो सामान्य कुरा सबैले बुझेकै छन् । संवैधानिक र कानुनी रूपले मात्र होइन, अभिभावक भएको हैसियतमा देश अर्थात आपmनो घर संकटमा रहेका बेला लोकतान्त्रिक र सर्वमान्य उपायहरू खोजेरै भए पनि राष्ट्रिय समस्यालाई निकास दिनु र राष्ट्र र जनताको समृद्धि, विकास र शान्ति सुरक्षाका लागि आपmनो कदम अघि बढाउनु प्रमुखको जिम्मेवारी, कर्तव्य र दायित्व पनि हो । तर मुलुकलाई निकास दिन आवश्यक निष्कर्षमा पुग्न नेताहरूलाई कामना गर्दै राष्ट्रपति डा. रामवरण यादव आफूचैं मान थाप्न आपmना सारा सन्तान र जम्बो टोलीसाथ भारत हुइँकेका छन् । घर डुबिरहेको, दलहरू कलहमा फसेका अवस्था र जनता रूइरहेको बेला राष्ट्रपतिजस्तो प्रमुख व्यक्तिले घर छाडेर हिँड्न मिल्छ ? रामवरणले प्रस्ट जवाफ दिन सक्नुपर्छ । यदि उनी गोप्य रूपमा दिल्लीको सहयोगका लागि हतारिएका हुन् भने उनी राम्ररी वकिफ हुन जरूरी छ, घरको समस्या घर भित्रैबाट सुल्भिmन्छ । यस्तो बेला छिमेकी गुहार्ने होइन । समस्याको समाधान घर भित्रैबाट खोज्ने हो । किनकि नेपाल स्वाधीन, स्वतन्त्र, स्वाभिमानी र सक्षम राष्ट्र हो । यदि उनी सम्मान ग्रहणकै लागि उडेका हुन् भने पनि त्यो सम्मानभन्दा पनि ठूलो, प्रतिष्ठित र अर्थपूर्णचैं नेपालीको हृदयबाट दिइने 'नेपाली-सम्मान' हुन्छ । जुन रामवरणले मुलुकलाई निकास दिएपछि स्वतः पाउँछन् ।  

- नवीन गुरुङ

हाँसपोसा-२, तरहरा, सुनसरी



 आफ्नै संस्कृतिको संरक्षण गरौं

पुस १० गते अर्थात् २५ डिसेम्बरका दिन सहरको रौनक देख्दा अचम्म लाग्यो । सहरका ठूलठूला व्यावसायिक भवन, होटल, पार्टी प्यालेस लगायत घर-घरमा र सडकमा समेत क्रिसमसको चहलपहल थियो । क्रिसमस मनाउनु आफैंमा गलत नभए पनि क्रिसमस मनाउँदै गर्दा माघे संक्रान्ति, जनैपूणिर्मा, चैते दसैं लगायतका हाम्रा ऐतिहासिक र धार्मिक चाडपर्वहरूलाई बिर्संदै जानु राम्रो कुरा होइन । हरेक मान्छेलाई आफ्नै जात, धर्म, संस्कृतिमा मात्र सीमित राख्नुपर्छ भन्ने मानसिकता संकुचित होला । तर आफ्नै धर्म, संस्कृति, रीतिरिवाज बिर्सेर अरूको अनुसरण गर्नु पाखण्डीपन हो । यदि क्रिसमस जसरी हामी आफ्नै चाडपर्व, संस्कृतिलाई महत्व दिएर धुमधामसाथ मनाउने हो भने बल्ल हामीलाई थाहा हुनेछ कि हामी संस्कृतिमा कति धनी छौं भनेर ।

- हिमानी शर्मा

मध्यबानेश्वर, काठमाडौं



 अभावै-अभावको देश

२०६२/६३ को जनआन्दोलनले देशमा गणतन्त्र  आयो । झन् देश उँधो गतिमा चल्न थाल्यो । देशमा अभाव झन् बढ्न थाल्यो । महँगीले आकाश छोयो । भ्रष्टाचारले पाताल । विधिको शासनको अन्त्य भयो । गुन्डाको राज हुनथाल्यो । गुन्डाको संरक्षण नेताहरूले गर्न थाले । अनि देशमा विकास कसरी सम्भव हुन्छ ? अहिले देशमा १२ घन्टा लोडसेडिङ भएको अवस्था छ । यो सब कसको कारणले भएको छ त ? के जनताले गर्दा १२ घन्टा दैनिक लोडसेडिङ भएको हो ? ठूलाबडाको घरमा कहिल्यै लोडसेडिङ हँुदैन । अनि उनीहरूलाई के थाहा  लोडसेडिङ के हो भन्ने । न उनीहरूलाई पानीको अभाव छ, नत बत्तीको अभाव, अनि पहल पनि कसरी गरून् विचराहरूले । किन हाम्रो देशका नेताहरूको घैंटोमा घाम नलाएको होला ? सबभन्दा उत्पादनशील भनेको नेपालको लागि त हाइड्रो पावर हो । बारै महिना बग्ने हिमनदी भएको देशमा पानीको अभाव त कहिल्यै हँुदैन  । अनि किन विदेशी पैसा लगानी गराउने वातावरण सिर्जना गर्न सक्दैनन्, हाम्रा नेताहरू । खालि कुर्सीकै लागिमात्र झुन्डिएर बसिरहने ? २४ घन्टामा १२ घन्टा लोडसेडिङ भएपछि बत्तीचाहिं कहिले बल्ने ? जवाफ दिनुपर्‍यो, नेताहरू जनतालाई ।

- पुरुषोत्तम घिमिरे

जोरपाटी, काठमाडौं



 समाचारको खण्डन

कान्तिपुरको वर्ष २० अंक ३०२ को नेपालगन्ज संस्करणको प्रथम पृष्ठको एंकर न्युजमा 'भ्रष्टाचारमा डुब्यो मंगलसेन' समाचार पढें, तर त्यसमा मेरो कुनै संलग्नता नरहेको कुरालाई पनि विषयवस्तु बनाई मेरो राजनीतिक, सामाजिक पृष्ठभूमिमा आँच आउने किसिमले व्यक्तिगत चरित्रहत्या गर्ने सुनियोजित तरिकाबाट लेखिएकोले आपत्तिजनक छ । कुनै मन्त्री र गृह प्रशासनसँगको सम्बन्धलाई मनगढन्ते रूपमा पत्रिकाले समाचार बनाएकोमा आपत्ति प्रकट गर्न चाहन्छु । म एउटा जिल्ला स्तरको सामाजिक सेवामा संलग्न व्यक्तिलाई बदनाम गर्ने तरिकाबाट भएको यो प्रयासलाई निरुत्साहित पार्न उक्त समाचारलाई खण्डन गरिदिनहुन अनुरोध छ ।

- गोविन्द कुँवर

अछाम

संवाददाताको भनाइ ः जिल्ला अदालत भवन निर्माणको जिम्मा साउद कन्स्ट्रक्सनले लियो । जुन भवन गुणस्तरीय नभएकाले अदालतले बुझ्न मानेन । उक्त भवन निर्माण कार्यको रेखदेखको जिम्मा गोविन्द कुँवर -हर्क कुँवर) ले नै गरेका थिए, यो कुरामात्र समाचारमा उल्लेख छ । समाचारमा उनले भ्रष्टाचार गरेको किटान छैन ।

- जे पाण्डे



खोइ गाउँघरमा सरकार ?

हालैको कुरा हो । गतहप्ता रसुवाको लाङटाङ र क्याङजेन पुगियो । आफ्नै व्यक्तिगत काम थियो । काठमाडौंदेखि स्याप|mुबेंसीसम्म मोटरसाइकलबाट गइयो । त्यसपछि

पैदल यात्रा । लाङटाङकी कार्टोक लामासित स्याप|mुबेंसीमा भेटियो । सँंगसँंगै गयौं हामी । उनी लाङटाङ क्षेत्रको वातावरण संरक्षणका लागि काम गर्ने संस्था ल्याकोसका सामाजिक कार्यकर्ता रहेछिन् । गतसाल जाँदा देखेको भत्किरहेका बाटाहरू मर्मत भएको थिएन । खच्चरले भारी बोकाउँदा बाटो अरू बिगि्रएछ । वषर्ामा लडेको पहिरोले बिगारेका बाटाहरू पनि बनाएका छैनन् । पहिले पछाडिको पहिरो र बाटो छेकिएर लडेको रूख अझै रहेछ । यो रूटमा विदेशीहरू हिमाल, बौद्ध-तामाङ संस्कृति र प्राकृतिक सौन्दर्य हेर्न आउँछन् । तिनीहरू हिँंड्नका लागि बाटो बर्सेनि मर्मत गर्नुपर्ने हो, तर भएको छैन । त्यसले देशी/विदेशी पर्यटकहरूमा नराम्रो संकेत जानेछ । अन्ततः पर्यटन व्यवसाय र विकासमा ह्रास आई राष्ट्रिय अर्थतन्त्रमा नै क्षति हुनेछ । खै र त्यस्तो सोचेका ?

स्याप|mुबेंसीदेखि लाङटाङबीच कुनै स्वास्थ्यचौकी छैन । बाटामा बिरामी भयो भने सिटामोलसम्म पाइँदैन । चोटपटक लाग्यो भने घाउ सफा गरिदिने व्यवस्था छैन । लाङटाङ गाउँमा एउटा स्वास्थ्यचौकी छ । तर स्वास्थ्यचौकी पियनको भरमा सञ्चालित छन् । डाक्टर नर्स, अहेव र हेल्थ एसिस्टेन्ट कोही पनि छैनन् । पियन पनि गाउँकै स्थानीय भएकोले बसेका होलान् । नत्र उनी पनि गैहाल्थे । उकालो हिंँड्दा खुट्टा दुखेकाले औषधी छ कि भनेर हेर्न गएको कार्यालय बन्द थियो । त्यसै फर्किएँ । भोलिपल्ट क्याङजेन पुगियो । यो नै रसुवाको उच्च हिमाली गाउँ हो । यहाँ २५ वटा होटल-लज र पसल सञ्चालित छन् । एकजना जापनिज युवा पर्यटकलाई टाउको दुखेछ । औषधी गर्ने कुनै संस्था नभएपछि काठमाडौबाट हेलिकप्टर मगाइयो र चार्टर गरेर गयो । पैसा हुनेले बिरामी हुँदा हेलिकप्टरमा उडेर जालान्, तर पैसा नहुनेहरू के गर्ने ? उसो त स्थानीयवासी झन् मर्कामा पर्छन् । किनभने सबैको होटल व्यवसाय पनि छैन । सानातिना रोग लाग्दा पनि गाउँमा औषधी गरिदिने र बिरामी जाँचिदिने डाक्टर, नर्सहरू नहुँदा स्थानीयले धेरै दुःख भोगेको कुरा स्थानीय छिरिङ पेमा तामाङ बताउँछन् ।

गाउँमा स्कुल रहेछ, तर विद्यार्थीको संख्या पनि अत्यन्तै न्युन । गरिबीका कारण धेरै केटाकेटीलाई विदेशीले स्पोन्सर गरेर काठमाडौ र धुन्चेमा लगेर पढाइदिएका रहेछन् । विदेशीको सहयोग नपाउनेहरू मात्र गाउँमै पढ्दा रहेछन् । सरकारी संयन्त्रबाटै विदेशीहरूसँंग कुराकानी गरेर सहयोग माग गर्दा गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कुल सञ्चालन गर्न सकिन्छ । यस्तो स्कुलमा लाङटाङका सबै केटाकेटी लाभान्वित हुनसक्छन् । गाउँमै पढ्ने बालबालिकाले गाउँघरको स्थानीय समस्या चाँडै बुझ्ने हुन्छन् । गाउँमै पढ्दा-बस्दा आफ्नो भाषा, भेषभूषा, धर्म-संस्कृतिको अभ्यास हुनेभई तिनको संरक्षण पनि

हुनेछ । खै र त्यस्तो सोचिदिने सरकार गाउँघरमा ?

- फुर्पा तामाङ

अधिवक्ता, ठूलोभार्खु, रसुवा

प्रकाशित मिति: २०६९ पुस १२ ०८:२१

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-20
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication