काठमाडौ, पुस ११ -
शिक्षा विभाग र नेपाल पत्रकार महासंघले 'राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार- २०६८' कान्तिपुर संवाददाता गणेश राई र नेपाल समाचारपत्रका संवाददाता ईश्वरराज ढकाललाई संयुक्त रूपमा प्रदान गरेको छ । बुधबार सूचना विभागको सभाकक्षमा आयोजित समारोहमा शिक्षामन्त्री दीनानाथ शर्माले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि एकमुष्ट ७५ हजार रुपैयाँ छ । संस्थागत शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकलाई प्रदान गरिएको छ । पुरस्कार राशि ४० हजार रुपैयाँ छ । त्यस्तै टेलिभिजनतर्फ ४० हजार रुपैयाँको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एभिन्युज टेलिभिजन र एबीसी टेलिभिजनलाई संयुक्त रूपमा प्रदान गरिएको छ । रेडियोतर्फ संस्थागत शिक्षा पत्रकारिता पुरस्कार कैलालीको खप्तड एफएम, बाँकेको रेडियो कृष्णसार, रूपन्देहीको रेडियो लुम्बिनी, धादिङ एफएम, राजधानीको क्यापिटल एफएम र सुनसरीको सप्तकोसी एफएमलाई प्रदान गरिएको छ । प्रत्येक एफएमलाई २० हजार रुपैयाँ राशि छ । क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार मनोज श्रेष्ठ -पूर्वाञ्चल), वीरगन्जस्थित कान्तिपुर संवाददाता भूषण यादव -मध्यमाञ्चल), शेषकान्त पण्डित र प्रमोद आयाम -उपत्यका), शेरबहादुर केसी -पश्चिमाञ्चल), दाङस्थित कान्तिपुर संवाददाता दुर्गालाल केसी -मध्यपश्चिमाञ्चल), पुष्पराज जोशी -सुदूरपश्चिमाञ्चल) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ । पन्ध्र हजार रुपैयाँ राशिको शिक्षा लेखनवृत्ति १४ जनालाई प्रदान गरिएको छ । लेखनवृत्ति प्राप्त गर्नेमा कान्तिपुर संवाददाताद्वय शंकर आचार्य -पर्सा) र अमृता अनमोल -रूपन्देही), रेडियो कान्तिपुरका संवाददाता शम्भु कट्टेल छन् । साथै बुद्धवीर बाहिङ राई, गोविन्द लामिछाने, ध्रुव अधिकारी, सूर्य पाण्डे, रुद्र पंगेनी, मदन वाग्ले, गोविन्द शर्मा, लक्ष्मी भण्डारी, अविनाश चौधरी र तेजराज भट्ट छन् । महासंघ कोषाध्यक्ष शीतल शाहको संयोजकत्वमा गठित समितिले पुरस्कारबारे निर्णय गरेको थियो ।