काठमाडौ, पुस ११ -
मुख्यसचिव लीलामणि पौड्यालले लुट र यौन दुव्र्यवहारको चपेटामा परेकी भोजपुरकी एक युवतीलाई जतिसक्दो छिटो सरकारले आर्थिक राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । एक महिनाअघि साउदी अरेबियाबाट घर फिर्ने क्रममा अध्यागमन विभागका एक कर्मचारीको लुटमा परेलगत्तै प्रहरी जवानबाट बलात्कृत भोजपुरे युवती गाउँबाट आएका आफ्ना बाआमासहित मुख्य सचिवलाई भेट्न बुधबार अपराह्न सिंहदरबार पुगेकी थिइन् । 'यो क्षतिपूर्ति तिरेर तिरिने विषय होइन, तर पीडितको स्थितिप्रति सरकारले गम्भीरतापूर्वक विचार पुर्याउनेछ,' मुख्य सचिव पौड्यालले भने, 'तत्कालका लागि केही राहत उपलब्ध गराउने र युवतीलाई यो अवस्थामा पुर्याउने अभियुक्तलाई सक्दो कानुनी कारबाही गर्नेमा मेरो हरप्रयत्न केन्दि्रत हुनेछ ।'
प्रधानमन्त्री कार्यालयका सचिव राजनमान सिंह मल्ल सहितको उपस्थितिमा मुख्य सचिव पौड्यालले अभियुक्तको बयानमा आएका अध्यागमनका कर्मचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर घटना छानबिन गर्न मातहतको निकायलाई निर्देशन दिएका थिए । साउदी अरेबियामा घरेलु कामदारका रूपमा कार्यरत रहेर गत मंसिर ६ गते तीन वर्षपछि घर फिर्दै गरेकी युवतीलाई अर्कैको पासपोर्टमा भेटिएपछि अध्यागमनले केरकार सुरु गरेको थियो । एक रात थुनामा राखेपछि मंसिर ७ मा युवतीसँग रहेको झन्डै २ लाख रुपैयाँ बराबरको साउदी रियाल लुट्दै ड्युटीमा रहेका प्रहरी जवान पर्शुराम बस्नेतसहित अध्यागमनका अरू तीन कर्मचारीमाझ बाँडचुँड गरिएको थियो । धरौटीमा थुनामुक्त बनेकी युवतीलाई प्रहरी जवान बस्नेतले नयाँ बसपार्कको एक लजमा लगेर शारीरिक सम्पर्क राखेका थिए । 'मेरी छोरी आफ्नै देशको सिमानाभित्र लुटिएकी छन्, अब उनले जीवन निर्वाह गर्ने आधार खोजिमाग्न म काठमाडौं आएको हुँ,' युवतीका बाबुले मुख्य सचिवसमक्ष भने ।