Kantipur

Kantipur

मिति | २०७१ वैशाख १०, बुधवार     Login | Register
मुख्य समाचार»

सहमति प्रयासमा पूर्ण साथः भारत

नयाँदिल्ली, पुस ११ -
भारत बसाइको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक भेटवार्तामा बुधबार दिनभर व्यस्त रहँदा राष्ट्रपति रामवरण यादवलाई प्रायः एकैखालको सन्देश आयो । बिहान भेटेका विदेशमन्त्री सलमान खुर्सिददेखि राति सेभेन रेसकोर्स रोडस्थित आफ्नै निवासमा भोज आयोजना गरेका प्रधानमन्त्री मनमोहन सिंहसम्मले नेपालमा जारी सहमति प्रयासप्रति भारतको साथ रहेको बताए ।

सिंह र खुर्सिदका अतिरिक्त बुधबार राष्ट्रपतिलाई छुट्टाछुट्टै भेटेका सत्तारूढ यूपीएकी अध्यक्ष सोनिया गान्धी, उपराष्ट्रपति हमिद अन्सारी, कंग्रेस आईका महामन्त्री जनार्दन द्विवेदी, नेसनलिस्ट कंग्रेस पार्टीका महासचिव एवं नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीका अध्यक्ष डीपी त्रिपाठी, माक्र्सवादी नेता सीताराम येचुरीलगायत सबैले नेपालको पछिल्लो राजनीतिक गतिरोधबारे गहिरो चासो राखेका थिए । उनीहरूले नेपाललाई भारतको सबै पक्षबाट सद्भावको प्रतिबद्धता पनि जनाए ।

'नेपालमा चलिरहेको सहमति प्रयासलाई भारतको पूर्ण साथ रहनेछ,' राष्ट्रपति यादवसँग ओबरोय होटलमा भएको भेटमा भारतीय विदेशमन्त्री खुर्सिदले नयाँदिल्लीको धारणा सुनाए । खुर्सिदलेे सार्वजनिक रूपमै नेपालमा राजनीतिक गतिरोध अन्त्यको एकमात्र उपाय राष्ट्रिय सहमतिको सरकार गठन गरी ताजा जनादेशमा जानु रहेको धारणा व्यक्त गर्दै आएका छन् ।

केही महिनाअघि मात्रै विदेश मन्त्रालयको कार्यभार सम्हालेका खुर्सिदले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भेटमा निकै चाख राखेका थिए । नेेपालसँग सिमाना जोडिएको उत्तर प्रदेश राज्यका खुर्सिद उनका पूर्ववर्ती एसएम कृष्णाको तुलनामा नेपाल जस्ता छिमेकसँग सम्बन्धित मामिलालाई गहिरो रूपमा बुझ्ने मन्त्रीका रूपमा परिचित छन्् । खुर्सिदले राष्ट्रपति यादवसँग औपचारिक भेट गर्नुपूर्व उनी बसेकै होटलमा पुगी ब्रेकफास्ट मिटिङ पनि गरेका थिए, जुन एक घन्टाभन्दा बढी समयसम्म चलेको थियो ।

बुधबारै उनी यूपीए अध्यक्ष सोनिया गान्धीसँगै राष्ट्रपतिलाई भेट््न फेरि होटल पुगेका थिए । करिब १५ मिनेट चलेको गान्धीसँगको भेटमा नेपाल-भारत आपसी चासोका राजनीतिक, आर्थिक तथा विकाससम्बन्धी विषयमा छलफल भएको विदेशमन्त्री खुर्सिदले कान्तिपुरलाई बताए । मुलुकको जीवनमा आउने महत्त्वपूर्ण क्षणबाट नेपाल गुजि्ररहेको चर्चा गर्दै उनले जनआकांक्षा र राजनीतिक सहमतिका आधारमा नेपालले छिट्टै र सुरक्षित अवतरण गर्ने आशा व्यक्त गरे । भेटमा गान्धीसँगै वाणिज्य तथा उद्योगमन्त्री आनन्द शर्मा पनि सरिक थिए ।

दिनभरको भेट सकिएपछि राष्ट्रपति यादव भारतीय प्रधानमन्त्रीको सरकारी निवास सेभेन रेसकोर्स रोडमा साँझ पुगे । त्यहाँ दुवै पक्षका केही सीमित व्यक्तिसहितको बैठक गरिएको थियो । त्यसलगत्तै प्रधानमन्त्री सिंहले राष्ट्रपति यादवको सम्मानमा भोज आयोजना गरे । भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबारै दक्षिण भारततिर गएकाले उनको अनुपस्थितिमा सिंहले भोजको आयोजना गरेको अधिकारीहरूले बताए ।

मुखर्जीसँग भेट, नेपाल भ्रमणको निम्तो खुर्सिदसँगको भेटपछि राष्ट्रपति यादव बिहान आफ््ना समकक्षी प्रणव मुखर्जीलाई भेट्न रायसिना हिलस्थित राष्ट्रपति भवन पुगेका थिए । भेटमा मुखर्जीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै स्थायी, धर्मनिरपेक्ष र लोकतान्त्रिक गणतन्त्र नेपाल भारतको पनि हितमा भएको टिप्पणी गरेको उनको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । उनले नेपालमा शान्ति, स्थायित्व र समृद्धिलाई साथ दिने भारतीय प्रयास रहिआएको पनि बताए ।

भेटमा राष्ट्रपति यादवले मुखर्जीलाई नेपाल भ्रमणमा आउन मौखिक निम्तो दिएका थिए । त्यससम्बन्धी आधिकारिक निम्तोपत्र भनेे परराष्ट्रसचिव दुर्गा भट्टराईले मुखर्जीलाई हस्तान्तरण गरेका थिए । जवाफमा मुखर्जीले निम्तो स्वीकार्दै कूटनीतिक माध्यमबाट भ्रमणको मिति छिटो तय गरिने बताएको भारतका लागि नेपालका कार्यवाहक राजदूत खगनाथ अधिकारीले जनाए । राष्ट्रपति हुनुपूर्व मनमोहन सिंह नेतृत्वको सरकारमा वित्तीयमन्त्री रहेका मुखर्जी गत वर्ष दोहोरो कर हटाउनेसम्बन्धी द्विपक्षीय सम्झौता गर्न काठमाडौं पुगेका थिए ।

नेपालबाट भारतमा पछिल्ला वर्ष उच्चस्तरीय भ्रमणहरू थुप्रै भएका छन् । तर तत्कालीन राष्ट्रपति केआर नारायणन १९९८ मा काठमाडौं गएयता उक्त तहमा भारतबाट नेपालमा भ्रमण भएको छैन । नेपाल र भारतका अहिलेका राष्ट्रपतिहरूबीच अत्यन्तै मैत्रीपूर्ण व्यक्तिगत सम्बन्ध पनि छ । पश्चिम बंगालको कोलकातामा पढेका राष्ट्रपति यादव र त्यही स्थानबाट आफ्नो राजनीति थालेका मुखर्जीबीच सौहार्दपूर्ण बंगाली साइनो छ । द्विपक्षीय भेट वा संवादहरूमा उनीहरू अंग्रेजी र हिन्दीमात्रै होइन बंगाली भाषासमेत प्रयोग गर्छन् ।

राष्ट्रपति यादवले बिहीबार पनि महत्त्वपूर्ण राजनीतिक भेटघाटलाई निरन्तरता दिनेछन् । भारतीय रक्षामन्त्री एके एन्टोनी, गृहमन्त्री सुशीलकुमार सिन्दे, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, भारतीय विदेश सचिव रञ्जन मठाईं लगायतले राष्ट्रपति यादवसँग भेटवार्ता गर्ने कार्यक्रम छ । माथिल्लो सदन राज्यसभा र तल्लो सदन लोकसभामा विपक्षी दलका नेताहरू अरुण जेट्ली र सुष्मा स्वाराजले पनि राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ ।

ती भेटअघि राष्ट्रपति यादव बिहानै स्वास्थ्य जाँचका लागि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान -एम्स) जानेछन्् । राष्ट्रपति निकटवर्तीहरूका अनुसार उनलाई आँखासम्बन्धी समस्या छ । एम्सका चिकित्सकहरूले काठमाडौंस्थित बीपी कोइराला आँखा केन्द्रमा राष्ट्रपति यादवको आँखाको शल्यक्रिया गरेका थिए । त्यसको नियमित फलो अप गर्नुपर्ने भएकाले राष्ट्रपतिले भारत भ्रमणको मौकामा आँखा परीक्षण गर्न लागेका हुन् ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:१२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication