रौतहट, पुस ४ -
उमेरले सात दशक पार गर्यो तर रौतहटको चन्द्रनिगाहपुर ५ थलही टोलका ७६ वर्षीय वृद्ध झपडीप्रसाद चालिसेको जाँगर युवाभन्दा कम छैन । वृद्धले दैनिक ४२ लिटर दूध बिक्री गरेर मनग्ये आम्दानी गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।
विभिन्न उन्नत जातका ८ गाई पालेका छन् । उनले ४२ लिटर दूध बिक्री गरेर मनग्ये आम्दानी गर्दै अाएका छन् । जिल्लामा यति धेरै दूध बिक्री गर्ने चालिसे अगुवामा गनिन्छन् । उनका अहिले ८ वटा दुहुना गाई छन् । बुढ्यौलीमा युवाको भन्दा कम जोस छैन, चालिसे भन्छन्, 'मेहेनत गरेर गाईपालनमा सफलता हासिल गरेको छु ।' उनले २ महिनादेखि दैनिक ४२ लिटर दूध बिक्री गर्दै आएको बताए । स्थानीय प्रणामी डेरीले प्रतिलिटर ३३ रुपैयाँका दरले दूध खरिद गर्छ । 'दैनिक १ हजार ३ सय ८६ रुपैयाँ का दरले मासिक ५५ हजारभन्दा बढी रुपैयाँ आम्दानी गर्छु,' चालिसे भन्छन् ।
चितवनबाट ८ वटा होलिस्टेन र जर्सी जातका गाई खरिद गरी रौतहटमा गाईपालन सुरु गरेका थिए । सुरुवातमा ४ वटा गाई मरेकाले निराश थिएँ । गाई बिरामी परेपछि उपचारमा मात्र लाखौं खर्च गरेको उनले सुनाए । 'मैले हरेस खाइनँ,' उनले भने, 'चार वटा उन्नत गाई स्थानीय गाईपालक किसानसँग पुनः खरिद गरेर फेरि व्यवसाय सुरु गरंे । अहिले मेहेनत अनुसारको आम्दानी हुन लागेकाले सबै पीडा बिर्सेको छु ।' उनलाई गाईपालनमा कान्छो छोरा कमलले सघाएका छन् ।