काठमाडौ, पुस ४ -
तपाईले दैनिक सोझै उपभोग गर्ने जार/बोतलको खानेपानी र दूध कत्तिको गुणस्तरीय छ ? ध्यान दिनुभएको छ ? छैन भने अबदेखि गुणस्तरीयताको विषयमा सोधखोज गरेर मात्र प्रयोग गर्नुहोला । किनकि गुणस्तरीयताको समस्या अन्य दैनिक उपभोग्य सामग्रीमा भन्दा बढी खानेपानी र दुग्धजन्य पदार्थमा देखिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्षमा हेरिरहेका १ सय ५८ मध्ये एकतिहाइ मुद्दा बोतल/जारको खानेपानी र दुग्ध उद्योगको छ । विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार एक सय वटा पानी र दूधका मुद्दा विभागले हेरिरहेको छ । उनीहरूको बयान र अनुसन्धान सकेपछि काठमाडौं जिल्ला प्रशासनमा मुद्दा पेस गर्ने कोइरालाले बताए । '५२ वटा खानेपानी र दूधका ४८ वटा मुद्दा हुन्,' कोइरालाले भने, 'अन्य उपभोग्य सामग्रीमा भन्दा बढी समस्या दूध र पानीमा देखिएको हो ।' सबै मुद्दा विभागले निरीक्षण गर्दा भेटिएका मात्र हुन् । उपभोक्ताले गुणस्तरको विषयमा उजुरी गरेको मुद्दा विभागमा छैन ।
कोइरालाका अनुसार खानेपानीमा लेउ लागेको, आवश्यकताअनुसार फिल्टर नगरेको, सूक्ष्म जीवाणु देखिएको, बोतल र जार सफा नगरेकोलगायत समस्या देखिएको छ । 'दूधमा पनि सोही प्रकृतिको समस्या हो,' कोइरालाले भने, 'गुणस्तरहीन हुनुको पछाडि निरन्तर परीक्षणको अभाव हो ।' खानेपानी र दूधमा गुणस्तरको समस्या बर्सेनि बढ्दो छ । उपत्यकामा १ सय ८० पानी उद्योग दर्ता छन् । बिनादर्ता सञ्चालनमा आएका खानेपानी उद्योगको संख्या ३ सयभन्दा बढी रहेको स्रोतको भनाइ छ । दुग्ध उद्योग र उत्पादनको तथ्यांक विभागसँग छैन ।
गुणस्तरको विषयमा समस्या देखिएका उद्योगलाई खाद्य प्रविधि तथा गुणस्तर विभागमार्फत सरकारी वकिल हुँदै जिल्ला प्रशासन कार्यालयमा मुद्दा चल्छ । 'कारबाही गर्ने विभाग, सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासनको फितलो व्यवस्थाका कारण पानी र दूध उद्योगले गुणस्तरको विषयमा हेलचेक््रयाइँ गर्ने गरेका हुन्,' विभागका एक कर्मचारीले भने, 'विभागले मुद्दा दायर गरे पनि सरकारी वकिलको कार्यालय र प्रशासन कार्यालयमा मुद्दा फितालो बनाइदिन्छन् ।'