Kantipur

Kantipur

मिति | २०७० जेष्ठ १२, आईतवार     Login | Register
अर्थ/वाणिज्य»

घरजग्गा मन्दीको प्रभाव

  • अग्नि र गुण एयर बिक्रीमा
काठमाडौ, पुस ४ -
बचतकर्ताको रकम फिर्ता गर्न नसकिरहेका दुई ठूला सहकारी ओरिएन्टल र गुण कोअपरेटिभले नगद जुटाउन उनीहरूले प्रवर्द्धन गरेका दुई वायु सेवा कम्पनी बिक्रीको प्रयास गरेका छन् । घरजग्गामा आएको मन्दीका कारण बैंकको ऋण र बचतकर्ताको रकम तिर्न नसकेपछि ओरिएन्टल समूहले अग्नि एयर र गुण समूहले गुण एअरलाइन्स बिक्रीको तयारी थालेका हुन् ।

लगानीकर्ता बैंकहरूको पहलमा ओरिएन्टलका अध्यक्ष सुधीर बस्नेतले प्रवर्द्धन गरेको अग्नि एयर बिक्रीका लागि वार्ता चलिरहेको सम्बद्ध स्रोतले बतायो । अग्निमा ग्रान्ड, सनराइज बैंकको गरी करिब ६५ करोड रुपैयाँ ऋण छ । स्रोतका अनुसार यती एअरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पा ४६ करोड रुपैयाँमा कम्पनी किन्न तयार छन् । तर बैंकहरूले ऋण चुक्ता गर्न पुग्ने रकम माग गरिरहेका छन् । '५० करोड रुपैयाँमा खरिद बिक्री हुन सक्छ,' बैंक सम्बद्ध स्रोतले भन्यो ।

अग्निका जर्मनीमा निर्मित दुई डोरनियर २२८ सहित इंग्ल्यान्डमा बनेका तीन वटा जेटस्टि्रम ४१ जहाज छन् । एउटा जेटस्टि्रम उडाउन मिल्ने अवस्थामा छैन । अग्निसँग रहेका दुई डोर्नियरकै मूल्य करिब ४५ करोड रुपैयाँ पर्छ । 'तर कम्पनी अप्ठ्यारो अवस्थामा रहेको र बढी इन्धन खपत गर्ने जेटस्टि्रम चलाउनु घाटाको व्यापार भएकाले कम्पनीले अपेक्षित मूल्य पाउन सकिरहेको छैन,' स्रोतले भन्यो ।

अग्निका सञ्चालक बस्नेतले साढे ३ करोड रुपैयाँ भए कम्पनी मज्ज्ााले चलाउन सक्ने बताए । 'साढे ३ करोड रुपैयाँ भए ४ वटा जहाज उडाउन सकिन्छ,' उनले कान्तिपुरसँग  भने, 'सञ्चालन सुरु भए दैनिक १० देखि १५ लाख नगद प्रवाह हुन थाल्छ ।' तर बैंकहरू कालोस्ाूचीमा परिसकेका बस्नेतको कुरा मान्न तयार छैनन् । सञ्चालन गर्न सघाउनेभन्दा पनि कौडीकै भाउमा भए पनि बिक्री गराएर आफ्नो रकम असुल्ने ध्याउन्न बैंकहरूको देखिन्छ । अग्निले बैंक ऋणबाहेक जहाजको केही महिनादेखि ग्राउन्ड ह्यान्डलिङ, पार्किङ,

इन्धनका साथै कर्मचारीलाई तलब बाँकी छ । कम्पनी चलेमा वा उचित मूल्यमा बिक्री भए हाउजिङका समस्या सल्टाउन मद्दत पुग्ने बस्नेतले बताए ।

गुण समूहको गुण एयरलाइन्सले भने सके कम्पनी नभए दुई जहाज बिक्री गर्ने तयारीमा छ । सञ्चालक राजेन्द्र शाक्यका अनुसार बिक्रीका लागि स्थानीय वायु सेवा कम्पनीका साथै गुणसँग भएका जहाज बिच एयरक्राफ्टको बिक्रेता कम्पनीसँग वार्ता भइरहेको छ । शाक्यका अनुसार उनले ५५ करोड रुपैयाँको हाराहारीमा रकम पाउने अपेक्षा गरेका छन् । यसमा एयरलाइन्सको नाममा रहेको मीनभवनको भवनसमेत जोडिएको हो । शाक्यका अनुसार गुणको करिब २३ करोड रुपैयाँ ऋण छ । 'सञ्चालन खर्च जुटाउन गाह्रो भएकाले बिक्री गर्ने योजना बनाइएको हो,' उनले भने । एयरलाइन्स सञ्चालनमै रहने गरी बिक्री गर्ने योजनालाई प्राथमिकतामा राखेको उनले बताए । 'यसका लागि तीन पक्षसँग कुरा भइरहेको छ,' उनले भने, 'कुरा नमिले जहाज मात्र बिक्री गर्छौं ।' गुणले केही वर्षअघि बिच एयरक्राफ्ट १९०० डी क्यानडामा २२ करोड रुपैयाँमा बिक्री गरेको थियो । उसँग अब दुई वटा १९०० सी छन् । कम्पनीको उत्कृष्ट प्राविधिक समूह भएकाले जहाजको अवस्था राम्रो रहेको र विदेशमा बिक्री गर्न समस्या नभएको दाबी उनको छ । गुणले बिच एयरक्राफ्ट १९०० सी दुई वटा र १९०० डी एउटा बुद्ध एयरसँग किनेर चार वर्षअघि वायु सेवामा हात हालेको थियो ।  

आन्तरिक हवाई बजारमा अग्नि तेस्रो र गुण पाँचौं ठूलो कम्पनी हो । आर्थिक वर्षको ६ महिना एयरलाइन्स कम्पनीले उडाएका यात्रुको आधारमा  उक्त स्थानमा रहेका हुन् । उक्त अवधिमा अग्निले करिब ७८ हजार र गुणले १० हजार यात्रु उडाएका थिए । अग्नि एयर २००६ र गुण २००९ मा स्थापना भएका हुन् । पछिल्लो दुई वर्षमा अग्निका दुई जहाज दुर्घटनामा परेका थिए ।   

करिब एकै समयमा उस्तै व्यवसाय गर्ने दुवै समूहमा पछिल्लो समय घरजग्गा र सहकारीका कारण समस्या आएको छ । ओरिएन्टल र गुण सहकारीमा पैसा जम्मा गर्नेहरू रकम फिर्ता माग्दै लाइन लागेपछि दुवै समूहलाई नगद अभाव भएको छ । घरजग्गामा आएको मन्दीले दुवैलाई उत्तिकै असर गरेको छ । अपार्टमेन्ट बनाउने भन्दै उठाएको रकम पनि फिर्ता माग भएपछि सबै क्षेत्रबाट दुई समूहलाई समस्या भएको हो । गुण समूहले करिब १० बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको छ । ओरिएन्टलले ऋण लिएका संस्थाको संख्या पनि उस्तै छ ।

ओरिएन्टलका बस्नेतले आफ्नो समूहको करिब २ अर्ब ५० करोड ऋण रहेको दाबी गरेका छन् । पछिल्लो पटक देखिएको समस्या सुल्झाउन ३५ देखि ४० करोड रुपैयाँ भए पुग्ने उनको दाबी छ । शाक्यले भने आफ्नो समूहको ऋण १ अर्ब ९ करोडको हाराहारी मात्र भएको दाबी गरे । 'समस्या देखिएको सहकारीमा हो,' उनले भने, 'सहकारीको ऋणलाई ट्रान्सफर गर्ने प्रयासमा छु ।' केही महिनाअघि गुण एयरलाइन्स मर्मतका लागि बन्द गर्दा सर्वसाधारणमा गुण बन्द भयो भन्ने हल्ला चलेर सहकारीमा रकम लिनेको लाइन लागेको उनले बताए । 'एकैचोटि रकम फिर्ता चाहनेको लाइन लागेकाले समस्या देखिएको हो,' उनले दाबी गरे, 'घरजग्गा र अन्य व्यवसायमा समस्या छैन ।'  

लामो समयका लागि घर/अपार्टमेन्ट खरिद गर्न दिएको ऋण छिट्टै असुल गर्नुपर्ने भएकाले समस्या देखिएको उनले बताए । बैंकबाट ऋण लिएर बनाइएका अपार्टमेन्ट, घरका ग्राहकलाई उनले आफ्नो सहकारीबाट ऋण उपलब्ध गराएका छन् । 'गुणका ७ वटा सहकारीलाई गाभेर एउटै बनाएपछि समस्या देखिएको हो,' उनले भने, 'एकै पटक सबै सहकारीका बचतकर्ता रकम माग्न आएकाले समस्या भयो ।' एयरलाइन्स बिक्री गरेर सहकारीका केही ऋण अर्को संस्थामा ट्रान्सफर गरेपछि व्यवसाय सजिलै चल्ने उनले दाबी गरे ।

केही समयअघि शाक्ले आफ्नो नाममा रहेको किस्ट बैंकको सेयर बिक्री गरेर केही ऋण घटाएका थिए । चालू आर्थिक वर्षमा १ अर्ब ४ करोड ऋण चुक्ता गरिसकेको उनी दाबी गर्छन् । नगद जुटाउनका लागि पछिल्लो समय अपार्टमेन्टको मूल्य घटाएर बिक्री गरिरहेको उनले बताए । दुवै व्यवसायीले सीधै कम्पनीको र आफ्नो नाममा मात्र रकम नबटुलेकाले तिर्नुपर्ने ऋण बढी हुन सक्ने अनुमान राष्ट्र बैंकका अधिकारी गर्छन् । 'कर्मचारी र अन्य व्यक्तिको नामबाट पनि केही ऋण लिएको देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो ।

प्रकाशित मिति: २०६९ पुस ५ ०९:१८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-26
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication