भक्तपुर, पुस ४ -
दिव्यश्वरी जग्गा एकीकरण आयोजना कृषकको सहमतिबिना सञ्चालन नगरिने भएको छ । सरकारले मध्यपुर ठिमी १७ को मनोहरा फाँटमा आयोजना सञ्चालन गर्न स्वीकृत दिएको थियो । काठमाडौं उपत्यका विकास प्राधिकरणले मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरी काम सुरु गरेको हो । कृषकको सहमतिबिना काम सुरु गरेको भन्दै विरोध भएपछि बुधबार जिल्ला प्रशासनमा छलफल भएको थियो । छलफलमा सहमतिबिना काम अगाडि नबढाउने निर्णय भएको विकास प्राधिकरण काठमाडौंका प्रमुख भाइकाजी तिवारीले बताए । 'सहमति जुटाएरमात्रै काम अगाडि बढाउने निर्णय भएको छ,' उनले भने । बाटो बनाउने क्रममा क्षति भएको तरकारीको क्षतिपूर्ति उपलब्ध गराउन सरकारी छानबिन टोली गठन गर्ने भएको छ । तरकरी उखेल्ने मौकासमेत नदिई डोजर लगाएको भन्दै कृषकले बुधबार पेप्सीकोला-सानोठिमी सडक खण्ड बन्द गराएका थिए । क्षतिपूर्तिका लागि आयोजना, उपभोक्ता समिति र पीडित किसानसमेत रहने समिति बनाइने भएको छ । यसको संयोजन जिल्ला प्रशासनले गर्ने निर्णय भएको छ ।
सरकारले तरकारीको बगैंचाका रूपमा लिइने मनोहरा नगदेशको ५ सय २० रोपनी जग्गामा दिव्यश्वरी जग्ग्ाा एकीकरण आयोजना गर्न लागेको हो । यसमा आठ सयभन्दा व्यक्ति आबद्ध रहेका छन् । त्यस्तै बैठकले विरोधको क्रममा प्रहरीसँगको झडपमा घाइते भएकाको सम्पूर्ण उपचार सरकारले गरिदिने निर्णय गरेको छ । सरकारले स्वीकृत गरेको आयोजनामा सुरक्षाकर्मी परिचालन गरेर काम सुरु गरेको तिवारीले बताए । स्थानीयले जग्गा एकीकरणको विरोध गरेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलसहितको टोली आयोजना क्षेत्रको अवलोकन गर्न पुगेको थियो ।