Kantipur

Kantipur

मिति | २०७० असार ६, बिहीवार     Login | Register
क्षेत्रीय»

अप्रमाणित लडाकुको धर्ना जारी

काठमाडौ, पुस ४ -
पुस महिनाको कठ्यांगि्रँदो जाडो । हातमा दुधेबालक । भोजपुरकी शारदा खडका चौध दिनदेखि पेरिसडाँडास्थित एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा बस्दै आएकी छन् ।

२०५८ सालमा उनी माओवादी सेनामा भर्ती भएकी थिइन् । खोटाङ, बन्दीपुरलगायत चौधभन्दा बढी स्थानमा उनी नेपाली सेनासँग प्रत्यक्ष लडेकी थिइन् । बन्दीपुरमा लड्दा उनको पिठ्युँ र पाखुरामा गोली लागेको थियो । पाखुराको गोली अहिलेसम्म निकाल्न सकेकी छैनन् । जनता र देशको मुक्तिका लागि भन्दै उनले ज्यान हत्केलामा राखेर लडेकी थिइन् ।

शान्ति प्रक्रियामा आइसकेपछि उनलाई अनमिनले अयोग्य घोषित गर्‍यो । इलामको चुलाचुली डिभिजनबाट अयोग्य घोषित भएपछि उनी रित्तो हात घर र्फकनु पर्‍यो । त्यसबेला उनले थाहा पाइन्, जिन्दगी त बर्बाद भएछ ।

८ कक्षामा पढ्दा नै उनी माओवादी संगठनमा आबद्ध भएकी थिइन् । 'पाँच वर्षसम्म लड्दा मलाई पार्टीले योग्य बनायो, हाम्रै बलमा उठेको पार्टी योग्य हुने, सरकार चलाउने अनि हामीचाहिँ अयोग्य हुने यो कस्तो विडम्बना,' उनले भनिन् ।

शारदा जस्ता सात सय अयोग्य लडाकु क्षतिपूर्तिको माग गर्दै १४ दिनदेखि पार्टी मुख्यालय परिसरमा चारवटा टेन्टमा बसेका छन् । पार्टी कार्यालय सुरक्षाका लागि सरकारले पनि चौबीसै घन्टा ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरेको छ । प्रहरी पनि रातभर भुइँमै सुत्छन् । प्रहरी र पूर्व लडाकु एकापसमा मस्त दुःखसुखका कुराकानी गरिरहेका भेटिन्छन् ।

पूर्वलडाकु क्रान्ति र संघर्ष भन्ने चीज नेताहरूले कल्पना र कथा बनाइदिएको जस्तो लागेको बताउँछन् । हुम्लाका भीमबहादुर थापाले पनि १५ भन्दा बढी स्थानमा लडेका थिए ।

उनको छातीमा लागेको गोली अझै निकाल्न बाँकी छ । चिसोमा असाध्यै दुख्छ । त्यसको वास्ता कसले गर्ने ? भन्ने र सुन्ने निकाय नै छैन । जहाँ गए पनि निराशाका उत्तरबाहेक केही पाइँदैन । त्यसकारण चुप लागेर बस्नुबाहेक अरू केही नभएको उनी बताउँछन् । नेता र उनका नातेदारका लागि आफूले लडाइँ लडेको जस्तो उनलाई लागेको छ ।

'आखिर हामीले के पायौं ? माओवाद यही हो । गरिबी र अशिक्षालाई भर्‍याङ बनाएर प्रधानमन्त्री बन्ने । आशा भरोसा केही पनि छैन । सयौं साथीका अवसरका सबै ढोका बन्द भएका छन्,' उनले भने । ०५८ सालदेखि उनी जनसेनामा भर्ती भएका थिए । ०६१ सालको कैलालीको वनखेतमा प्रहरीसँग भिडन्तमा उनी शक्त रूपमा घाइते भएका थिए ।

'तर आफूलाई कसरी अयोग्य घोषणा गर्‍यो ?, उनले भने, 'हामीले लडेको युद्ध र हाम्रै बलमा बनेको सरकारचाहिँ योग्य हुने यो कस्तो अचम्मको कुरा ?' ८ कक्षा पढ्दादेखि बुर्जुवा शिक्षा भन्दै माओवादीमा लागेका थापा हाल नेपालगन्ज क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छन् । 'त्यसबेला बुर्जुवा शिक्षा भनेर छोडियो पछिमात्र थाहा भयो शिक्षाको महत्त्व, अहिले पढ्दै छु,' उनले भने ।

क्षतिपूर्ति र परिचयपत्र माग गर्दै मुलुकभरबाट पूर्वलडाकु राजधानी आएका छन् । आफ्नो माग सम्बधोन नभएसम्म पार्टी कार्यालय परिसर नछाड्ने उनीहरू बताउँछन् । अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य तथा बर्हिगमन लडाकुका नेता लेनिन विष्टले माग पूरा नभएसम्म नेताहरूलाई केन्द्रीय कार्यालय छिर्न नदिने बताए ।

प्रकाशित मिति: २०६९ पुस ५ ०९:१४

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-06-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

...कम्तिमा मंसिरसम्मलाई भए’नि मेरा मतदाता नबगुन् ! दया होस्, पर्भु !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication