काठमाडौ, पुस ४ -
एमालेले राष्ट्रपतिको भारत भ्रमणअगावै सहमति गर्न जोड दिएको छ । स्थायी समितिको बुधबारको बैठकमा सहमतिका लागि भइरहेका पहलको समीक्षा गर्दै तत्काल निकासको निष्कर्ष निकालेको हो । बैठकमा दलीय वार्तामा सहभागी नेताहरूले एमाओवादीको आन्तरिक विवादले सहमतिमा धक्का लागेको बि्रफिङ गरेका थिए । 'राष्ट्रपतिको भारत भ्रमणअगावै सहमति गर्नुपर्छ भन्ने एमालेको जोड छ,' स्थायी समिति सदस्य भरतमोहन अधिकारीले भने, 'तर एमाओवादीको आन्तरिक समस्याका कारण सहमति हुने सम्भावना कम देखिएको छ ।' साथै एमाओवादीको संस्थागत निर्णयका आधारमा सहमति हुने/नहुने निक्र्योलमा पुगिने उसको ठहर छ । बैठकमा नेताहरूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने पछिल्लोचोटि अलिक गम्भीर भएर सहमति गर्न चाहेकोजस्तो देखिएको बताएका थिए । तर प्रधानमन्त्रीको धम्कीबाट डराएर अघि बढ्न नसकेको विश्लेषण गरेका थिए ।